बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘सुर्खेत–२ मा एमालेले नजिते कसले जित्छ ?’

आइतबार, १० फागुन २०८२, १४ : ०३
आइतबार, १० फागुन २०८२

सारांश

  • सुर्खेत-२ मा नेकपा एमालेबाट कुलमणि देवकोटा उम्मेदवार छन्।
  • देवकोटाले आफ्नो चुनावी अभियानलाई तीव्र पारेका छन्, मुख्यमन्त्री कँडेलको समर्थन रहेको छ।
  • देवकोटाले जनताको विश्वास र पार्टीको सांगठनिक क्षमतालाई जित्ने आधार मानेका छन्।

 सुर्खेत । सुर्खेत—२ मा नेकपा एमालेबाट कुलमणि देवकोटा उम्मेदवार छन् । एमाले सुर्खेतका अध्यक्ष समेत रहेका देवकोटासँग यसअघि ०५० को दशकमै वडाध्यक्षको चुनाव लडेको बाहेक सुर्खेत उपत्यका खानेपानीको अध्यक्ष भएर काम गरेको अनुभव छ । एमालेका सचिव तथा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलका विश्वासपात्र देवकोटाले चुनावी अभियानलाई तीव्र बनाइरहेका छन् । 

वीरेन्द्रनगरमा हुने उनका चुनावी कार्यक्रममा स्वयम् मुख्यमन्त्री कँडेलको उपस्थिति हुने गरेको छ । कँडेलले नयाँ राजनीतिक दल रास्वपा र कांग्रेसलाई कडा टिप्पणी गर्दै आएका छन् ।

देवकोटाले आफ्नो सांगठनिक अवस्थालाई चुनाव जित्ने आधारमा रूपमा लिएका छन् । देवकोटासँग रातोपाटीका पंखबहादुर शाहीले छोटो चुनावी कुराकानी गरेका छन् । प्रस्तुत छ, एमाले उम्मेदवार देवकोटासँग गरिएको कुराकानीको अंशः

  • एमालेप्रति जनताको प्रतिक्रिया कस्तो पाइरहनु भएको छ ?

— ग्राउन्डमा जाँदा प्रतिक्रिया असाध्यै राम्रो छ । जनतामा केही आशा, अपेक्षाहरू, केही निराशाहरू पनि प्रकट भएका छन् । निराशा भन्नुको मतलब अब मुलुकले  पटक—पटकको द्वन्द्व झेलिराखेको छ । अनि द्वन्द्वबाट मुलुकलाई पार लगाउन निकै कठिन अवस्थामा छ । यो अवस्थामा फेरि पनि यस्तै प्रकारका द्वन्द्वले देशलाई पछाडि धकेल्छ कि भन्ने एउटा चिन्ता, चासो जनताको बिचमा देखा परेको छ । र, त्यसले पनि एउटा निराशा पैदा गरेको छ भने अर्को कुरा सेवा प्रवाहको कुरा छ ।

सुशासनको विषयमा प्रश्न उठिरहेका छन् । एउटा जबाफदेहिता जनताले खोजेका छन् । र, अहिले जुन निकायबाट सेवा प्रवाह हुन्छन्, त्यो जनमैत्री ढंगले नभएको भन्ने छ । मेरो बुझाइमा पनि केही सुधारको आवश्यकता छ भन्ने लाग्छ । यस्तै यस्तै कुराहरू छन् ।

  • तपाईंलाई नै सुर्खेत—२ का मतदाताले किन भोट दिने ?

—यस क्षेत्रको जनताको एउटा विचार भावनाको प्रतिनिधित्व गर्ने र यस क्षेत्रका विकास र समृद्धिका जुन कामहरू छन् त्यसलाई पूरा गर्नको लागि एउटा अगुवाइ एमालेले गर्ने हुँदा एमालेलाई जनताले रोज्छन् । मैले विगतमा रेडक्रसदेखि थुप्रै सामाजिक काम पनि गरेको छु । 

वीरेन्द्रनगरमा खानेपानीको समाधानका लागि लामो समय संघर्ष गरेँ । अहिले भेरीबाट लिफ्टमार्फत पानी ल्याउने काम भइरहेको छ । अन्य थुप्रै कामहरु एमालेकै अगुवाइमा भएका छन्, तिनलाई पुरा एमालेले गर्छ ।

  • चुनाव जित्नेमा कत्तिको आशावादी हुनुहुन्छ ?

— सुर्खेत जस्तो ठाउँमा एमालेले चुनाव नजिते कसले जित्छ ?

  • चुनाव जित्ने आधार चाहिँ के हो त ?

—चुनाव जित्ने आधार भनेको जनताको विश्वास र पार्टीको सांगठनिक क्षमता र सामर्थ्य नै हो । प्रतिकुलताको अवस्था जनताको बिचको जुन जनभावनासँग लामो समयदेखि एकाकार भएर काम गरिरहेको एउटा प्रतिनिधि पात्र हुनुको नाताले जनताको विश्वास मैले प्राप्त गरेको छु । मलाई जनताले भरोसाका साथ साथ समर्थन र उत्साहपूर्ण शुभकामना आशीर्वादहरू दिई राख्नु भएको छ । पोजेटिभ रेस्पोन्स छ । र, एकताबद्ध भएर एमालेका सबै संगठनहरू क्रियाशील छन् । त्यसको आधारबाट अहिलेको प्रतिकुलतालाई चिर्न सक्ने क्षमता, सामर्थ्य र योजना एमालेसँग छ । यसको उम्मेदवारले यसको प्रतिनिधित्व गर्न सक्छ भन्ने विश्वास जनतामा छ । त्यसकारणले जित्न सकिन्छ ।

  • उसो भने सुर्खेत—२ मा एमालेले कुन शक्तिलाई आफ्नो प्रतिस्पर्धी मानेको छ ?

—यहाँ सांगठनिक रूपमा कांग्रेस नै हाम्रो प्रतिस्पर्धी दल हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप