बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘सुर्खेत–२ मा कांग्रेसको विरासत कायम रहन्छ, चुनाव जित्नेमा ढुक्क छु’

आइतबार, १० फागुन २०८२, १३ : ५७
आइतबार, १० फागुन २०८२

 सुर्खेत । सुर्खेत—२ मा नेपाली कांग्रेसका तर्फबाट नारायण कोइराला उम्मेदवार छन् । उनलाई यसअघि कांग्रेसको विरासत जोगाउनुपर्ने चुनौती छ । यहाँ उनकै टिमका नेता हृदयराम थानीले ०७९ को चुनाव जितेका थिए । थानीले चुनावी मैदानबाट बिदा लिएसँगै कोइराला चुनावी मैदानमा होमिएका छन् ।

उनी सुर्खेत कांग्रेसभित्र बौद्धिक र शालीन नेताका रूपमा चिनिन्छन्, सुर्खेत उपत्यका नगर विकास समितिको नेतृत्व गरेका उनी पूर्व पत्रकार समेत हुन् । यतिबेला घरदैलो अभियानमा रहेका कोइरालासँग रातोपाटीले चुनावी वार्ता गरेको छ । प्रस्तुत छ, रातोपाटीकर्मी पंखबहादुर शाहीले उनीसँगको छोटो चुनावी वार्ताको अंश:

  • पहिलो पटक चुनावी मैदानमा हुनुहुन्छ, कस्तो चल्दै छ, अभियान ? 

— घरदैलो चलिरहेको छ । अब सबै तिर सकियो, वीरेन्द्रनगरभित्र चल्दै छ । यसपालि कांग्रेसलाई जिताउनु पर्छ भन्ने छ । अब कांग्रेसलाई जिताइएन भने चाहिँ यो शान्ति, संविधान, प्रजातन्त्र, जनताको अधिकार, सार्वभौमिकता, गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता यी उपलब्धिहरू गुम्न सक्छन् । त्यसैले पनि आम रूपमा कांग्रेसलाई नै जिताउनु पर्छ भन्ने नै छ ।

  • अनि जनताका माग र तपाईंका एजेन्डा के कस्ता छन् त ?

— कांग्रेसको एजेन्डा नै ‘भिजन टेन’ छ, त्यही हो । अब सुर्खेतको हकमा भौतिक निर्माण र पूर्वाधारको कुरा, पर्यटनको कुरा हो । शैक्षिक, प्रशासनिक र पर्यटकीय हबको रूपमासुर्खेतलाई विकास गर्ने भनेका छौँ । त्यसैका लागि आवश्यक पूर्वाधार र प्रचार–प्रसार हाम्रो अर्को एजेन्डा हो । मुख्य ह्युमन डेभलपमेन्टलाई मेजर फोकस गरेका छौँ । मानवीय मूल्य, मान्यता, आदर्श, आपसी सम्बन्ध, सद्भाव जो कमजोर भएको छ, त्यसलाई कांग्रेसले पुनःस्थापित गर्ने भन्ने यो पनि हाम्रो एजेन्डा हो । नबनेर अलपत्र रहेका चौकुनेको सिमेन्ट उद्योगको सञ्चालन, पुरातात्त्विक महत्वको आर्कोलोजिकल सर्भे, यी कुराहरू गराउनुपर्छ भन्ने हाम्रो एजेन्डा छ ।

  • यहाँ यसअघि कांग्रेसले जितेको र एमाले—कांग्रेसबिच नै प्रतिस्पर्धा हुँदै आएको थियो, यो पटक कुन कुन दलहरूबिच प्रतिस्पर्धा हुने आङ्कलन छ ?

—हैन हाम्रो प्रतिस्पर्धा कोसँग भनूँ र ! प्रतिस्पर्धा नै छैन भन्छु म त अहिले । यद्यपि प्रतिस्पर्धा त विगतका जो परम्परागत प्रतिस्पर्धीहरू हुन् ।

  • भनेको चुनाव जित्नेमा ढुक्कता छ ?

—एकदम, एकदम..!

  • त्यसको आधार चाहिँ ?

—अहिले कांग्रेसले दिएको म्यासेज नै महत्त्वपूर्ण आधार हो । उम्मेदवार म नयाँ छु त्यो पनि आधार हो । मैले विगतमा समाज सेवाको क्षेत्रमा गरेका काम, मिडियाको क्षेत्रमा गरेको काम, लोकतान्त्रिक आन्दोलनका निमित्त मैले गरेको सङ्घर्ष, कोभिड लगायतका कामहरूमा जुन खालको उपस्थिति हामीले गरायौँ, समाजका मान्छेको मर्दा–पर्दा जो मेरो उपस्थिति थियो, त्यो पनि मेरो लागि एउटा पुँजी हो ।

  • यहाँ कांग्रेसभित्र नै समस्या छ, त्यसले घाटा हुन्छ भन्ने पनि छ नि ?

—अहिले कांग्रेसभित्र कतै केही समस्या छैन । सबै तह–तप्का अहिले कांग्रेसलाई जिताउनु पर्छ, कांग्रेसलाई जिताउनु मात्रै होइन, यो लोकतन्त्र बचाउन, संविधान बचाउनका लागि हो भन्ने कांग्रेसले बुझ्या छन् । जति जति खेर सङ्कट देशलाई पर्छ कांग्रेस एक हुन्छ, त्यही अवस्था हो अहिले पनि ।

  • यहाँ तपाईंकै पूर्व सहकर्मी रमेश सापकोटा पनि रास्वपाबाट उम्मेदवार हुनुहुन्छ, तपाईंलाई चुनौती छ भनिन्छ नि ?

— उनीहरू धेरै पहिला हाम्रो पार्टीबाट गएका हुन् । रास्वपाले हामीलाई केही फरक पार्दैन । प्रभावै पार्ला भन्ने केही सोचेकै पनि छैनौँ । त्यस विषयमा हामी त्यति चिन्ता मानिरहेको अवस्था छैन । कांग्रेस पार्टीको नेतृत्वको नीतिको बारेमा आफै जनतामा आकर्षण त्यति धेरै छ ।

  • अन्तिममा रातोपाटीमार्फत के भन्न चाहनुहुन्छ मतदातालाई ? 

—यसपालिको निर्विकल्प शक्ति भनेको कांग्रेस हो । हामी राष्ट्रिय शक्ति हौँ, हामीले देशमा लोकतन्त्र स्थापना गर्न काम ग¥या हो, लोकतन्त्रको स्थायित्वको लागि पनि कांग्रेसले काम गर्ने भएकाले भोट हालेर जिताउनुहोस् भन्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप