बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
'हेभिवेट'को चेपुवामा उम्मेदवारहरू

ओझेलमा परे झापा–५ र सर्लाही–४ का अन्य उम्मेदवार

मङ्गलबार, १२ फागुन २०८२, १५ : १९
मङ्गलबार, १२ फागुन २०८२

सारांश

  • प्रतिनिधिसभा निर्वाचनमा ३ हजार ४०६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
  • झापा-५ मा केपी ओली र बालेन शाहबीच प्रतिस्पर्धा हुने सम्भावना रहेको छ, जहाँ ओलीको पुरानो प्रभाव छ।
  • सर्लाही-४ मा गगनकुमार थापा र अमरेश कुमार सिंहबीच प्रतिस्पर्धा हुने देखिएको छ, जहाँ रास्वपाको लहर चलेको छ।

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ३ हजार ४०६ जना उम्मेदवार चुनावी मैदानमा छन् । 

१६५ वटा निर्वाचन क्षेत्रमध्ये केही स्थानमा हेभिवेट भिडन्त हुनेवाला छ । जस्तैः झापा–५, सर्लाही–४, चितवन–३ । झापा–५ को प्रतिस्पर्धाबाट प्रधानमन्त्रीका रूपमा दलहरूले अघि सारेकामध्ये एक जनाले पराजय भोग्नु नै पर्नेछ, जसका कारण अहिले सबैको नजर यस क्षेत्रमा केन्द्रित छ । यस क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहबिच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । 

त्यस्तै सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा उम्मेदवार छन् । उनीसँग यसअघि सोही ठाउँबाट स्वतन्त्र निर्वाचित अमरेश कुमार सिंह भिडेका छन् । 

झापा–५ मा २०४८ सालयता ओलीको एकछत्र राज छ, अर्थात् २०६४ सालको पहिलो संविधानसभामा पराजय हुनुबाहेक ओलीलाई यहाँ कसैले हराउन सकेको छैन । बालेन भने पहिलो पटक संसदीय निर्वाचन लड्दैछन् । अहिले झापा–५ मा ओली र बालेनले घरदैलो गरिरहेका छन् । मतदातामाझ पनि यी दुईकै चर्चा बढी छ । दुवै उम्मेदवार मतदाता रिझाउन व्यस्त छन् । यसअघिका निर्वाचनमा आफ्नो क्षेत्रमा खासै समय नदिएका ओली यसपटक भने मज्जाले खटिरहेका छन् । 

त्यसो त झापा ५ मा बालेन र ओली मात्र उम्मेदवार होइनन्, यहाँ उनीहरूसहित २४ जना चुनावी मैदानमा छन् । जसमध्ये स्वतन्त्र उम्मेदवारको संख्या मात्रै ९ जना छ । 

शाह र ओलीबाहेक झापा–५ मा नेपाली कांग्रेसकी मन्धरा चिमोरिया, नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद संग्रौला, जनता समाजवादी नेपालका धिरेन सुब्बा, जनमत पार्टीका अमृतलाल महतो, मंगोल नेशनल अर्गनाइजेसनका सानबहादुर मेचे, नेपाल जनमुक्ति पार्टीका पदमबहादुर जगेबु, राष्ट्रिय परिवर्तन पार्टीका सविन राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुशान्त साम्पाङ राई उम्मेदवार छन् । 

त्यसबाहेक श्रम संस्कृति पार्टीका समीर तामाङ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का सञ्जय राई, राष्ट्रिय मुक्ति पार्टी नेपालका अमृत रसाइली र पिपुल फस्ट पार्टीका धर्मराज गुरागाई पनि झापा–५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार हुन् । 

यो क्षेत्रबाट अर्जुन सापकोटा, खेमनाथ सिवाकोटी, डम्बर साहु, प्रकाश नेपाल, पुष्कर खतिवडा, मातृका भट्टराई, रञ्जना गौतम, विपुल गुरागाई र शोभा भण्डारीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यहाँ कांग्रेसकी चिमोरिया र नेकपाका तामाङको चर्चा ओली र बालेनको तुलानामा भने केही कम देखिएको छ । यी चार जनाबाहेक अन्य २० उम्मेदवारको प्रचारप्रसार भने ओझेलमा परेको छ । 

एमालेले ओलीलाई र रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावमा होमिएकाले पनि उनीहरूको बढी चर्चा भइरहेको र अन्य उम्मेदवार ओझेलमा परेका मतदाताहरू बताउने गर्छन् । 

झापा–५ जस्तै सर्लाही–४ मा पनि कांग्रेसका सभापति गगन र रास्वपाका अमरेशबाहेक अन्य उम्मेदवार ओझेलमा परेका छन् । कांग्रेसले गगनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ । अमरेश भने अघिल्ला तीन निर्वाचनमा सर्लाही–४ बाट २ पटक कांग्रेस र एक पटक स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए । 

देशभर रास्वपाको लहर देखिएका बेला गगन काठमाडौँ–४ छाडेर सर्लाही–४ पुगेका छन् । त्यसैले पनि यो क्षेत्र यतिबेला निकै चर्चामा छ । त्यतिमात्रै होइन, गगन निर्वाचनमा पराजित भए प्रधानमन्त्री हुने बाटो यो कार्यकाल बन्द हुनेछ । साथै उनले नेतृत्व गरेको कांग्रेसमाथि नै प्रश्न उठ्न सक्छ । यसकारण पनि सर्लाही–४ प्रति धेरैको चासो बढेको छ । 

सर्लाही–४ मा गगन र अमरेशसहित दलहरूबाट १३ र १७ जना स्वतन्त्र गरी ३० जनाले उम्मेदवारी दिएका छन् । यहाँ यति धेरै उम्मेदवार भए पनि चर्चा गगन र अमरेशकै छ । सर्लाही–४ मा नेकपा एमालेबाट अमनिसकुमार यादव, नेपाली कम्युनिस्ट पार्टीबाट रजनिस राय, राप्रपाका प्रदीप कुमार झा, जनता समाजवादी पार्टी नेपालबाट रामेश्वर राय यादव, जनमत पार्टीबाट राकेशकुमार मिश्र, प्रलोपाबाट रामचरित्र सहनी, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) बाट रामनाथ प्रसाद साह, उज्यालो नेपाल पार्टीबाट पीताम्बर सिंह कुशवाह, बहुजन एकता पार्टी नेपालबाट हरिनन्दन कुमार रन्जन, राष्ट्रिय मुक्ति पार्टीबाट उदयकान्त मिश्र र आमजनता पार्टीबाट रिंकीकुमारी साह उम्मेदवार छन् । 

सर्लाही–४ मा कांग्रेसले सबैभन्दा बढी निर्वाचन जितेको छ । 

यसबाहेक यहाँ स्वतन्त्र उम्मेदवारी दिनेमा अजय ओझा, अमितरन्जन सिंह, अम्बुज प्रसाद साह, अरविन्दकुमार ठाकुर, कमलेश मण्डल, गनेशप्रसाद सिंह, चुनचुन भण्डारी, छोटेलाल कुमार यादव, जयशंकर सिंह कुशवाह, धीरज ठाकुर, नरेन्द्रप्रसाद सिंह, निलेशकुमार यादव, मधुमाला कुमारी यादव, महेशमण्डल धानुक, मुकेशप्रसाद कुशहवा, रमण मिश्र र रामप्रवेश यादव छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप