साउदी अरबको गुफामा भेटिए प्राकृतिक ‘ममी’ बनेका चितुवा, डीएनए परीक्षणले खोल्यो हजारौँ वर्ष पुरानो रहस्य
सारांश
- साउदी अरबमा वैज्ञानिकहरूले गुफामा सातवटा प्राकृतिक ममी बनेका चितुवा फेला पारे, जसमा नरम तन्तु र हड्डीहरू सुरक्षित थिए।
- अनुसन्धानले अरेबियन प्रायद्वीपमा कम्तिमा दुई उपप्रजातिका चितुवाको बसोबास रहेको र डीएनए विश्लेषणले अफ्रिकी चितुवाको नजिक देखाएको छ।
- अध्ययनले चितुवा पुनर्स्थापना अभियानलाई सहज बनाउने र साउदी अरबमा चितुवाको अस्तित्व धेरै पछिसम्म रहेको प्रमाणित गर्यो।
रियाद । साउदी अरबको नेसनल सेन्टर फर वाइल्डलाइफका वैज्ञानिकहरू सन् २०२२ र २०२३ मा वन्यजन्तुको खोजी गर्दै गुफाहरूमा जाँदा एउटा अनपेक्षित दृश्य देखेर चकित परे। उत्तरी सहर अरार नजिकैका पाँचवटा गुफामा उनीहरूले सातवटा प्राकृतिक रूपमै ‘ममी’ बनेका चितुवा फेला पारे। ती अवशेषहरू धेरै हदसम्म सुरक्षित थिए, जसमा नरम तन्तु र हड्डीहरू जस्ताको तस्तै थिए।
अनुसन्धानकर्ताहरूका अनुसार तीमध्ये तीनवटा ममीको डीएनए विश्लेषणले यस्तो तथ्य बाहिर ल्याएको छ, जसले अरेबियन प्रायद्वीपको प्राकृतिक बासस्थानमा चितुवालाई पुनः फर्काउन ठूलो मद्दत गर्न सक्छ।
कुनै समय अफ्रिकाको ठूलो हिस्सा र एसियाका केही भागमा पाइने चितुवा अहिले आफ्नो ऐतिहासिक बासस्थानको जम्मा ९ प्रतिशत क्षेत्रमा मात्र खुम्चिएका छन्। यसअघि साउदी अरबमा एसियाली चितुवा ९एसिनोनिक्स जुबाटस भेनाटिकस० मात्र पाइन्थ्यो भन्ने मान्यता थियो। यो प्रजाति अहिले अति संकटापन्न अवस्थामा छ र इरानमा मात्र यसको सानो संख्या बाँकी छ। समग्र अरेबियन प्रायद्वीपमा भने सन् १९७० को दशकदेखि नै चितुवा लोप भएको मानिन्थ्यो।
तर, वैज्ञानिकहरूले तीनवटा ममीको विश्लेषण गर्दा दुईवटा सबैभन्दा पुराना नमुनाहरू आनुवंशिक रूपमा नर्थवेस्ट अफ्रिकन चितुवा (एसिनोनिक्स जुबाटस हेकी) सँग नजिक रहेको पत्ता लगाएका छन्।
जनवरी महिनामा कम्युनिकेसन्स अर्थ एन्ड इन्भारोन्मेन्ट जर्नलमा प्रकाशित यो अध्ययनले अरेबियन प्रायद्वीपमा कुनै समय कम्तीमा दुई उपप्रजातिका चितुवाको बसोबास रहेको तथ्य उजागर गरेको छ। यो खोजले वैज्ञानिकहरूलाई त्यस क्षेत्रमा कुन(कुन प्रजातिका चितुवा बस्थे र उनीहरू त्यहाँ कत्तिको सफल थिए भन्ने प्रमाण दिएको छ। यसले भविष्यमा त्यस क्षेत्रमा चितुवा पुनर्स्थापना गर्ने अभियानलाई सहज बनाउनेछ।
अनुसन्धानका प्रमुख लेखक तथा नेसनल सेन्टर फर वाइल्डलाइफका इकोलोजिस्ट अहमद अल बौगले यो खोज निकै आश्चर्यजनक भएको बताए। प्राकृतिक रूपमै ममी बनेका चितुवा फेला परेको यो पहिलो आधिकारिक घटना भएको र अरेबियन प्रायद्वीपमा चितुवाका विभिन्न उपप्रजाति थिए भन्ने यो पहिलो भौतिक प्रमाण भएको उनको भनाइ छ।
चितुवाहरू गुफामा बस्नु आफैँमा अत्यन्तै असामान्य व्यवहार भएको अल बौगले बताए। चितुवाहरू किन गुफामा पसे र त्यसलाई प्रयोग गरे भन्ने विषयमा अनुसन्धान भइरहेको छ। उनीहरू अन्तिम अवस्थामा पुगेर मृत्यु कुर्न वा झुक्किएर गुफामा पसेको भन्ने कुरामा वैज्ञानिकहरूलाई विश्वास छैन। यद्यपि, गुफाको वातावरण र त्यहाँको अत्यधिक सुख्खापनले उनीहरूको शरीरलाई कुहिन नदिई ममीमा परिणत गर्न मद्दत गरेको अल बौगले प्रस्ट पारे।
सातवटा ममीबाहेक गुफाभित्र अन्य ५४ वटा बिरालो प्रजातिका जनावरको कंकाल पनि फेला परेको थियो। अध्ययनमा सामेल वैज्ञानिकहरूले तीमध्ये पाँचवटाको समय निर्धारण गर्दा सबैभन्दा पुरानो अवशेष करिब ४ हजार वर्ष अघिको रहेको पत्ता लगाएका छन्। अध्ययनका अनुसार डीएनए परीक्षण गरिएका दुईवटा ममी भने करिब १३० देखि १,८७० वर्ष पुराना हुन्। वैज्ञानिकहरूले बाँकी रहेका ममी र कंकालका टुक्राहरूको पनि थप अनुसन्धान गरेर अन्य उपप्रजातिको पहिचान गर्ने योजना बनाएका छन्।

अल बौगका अनुसार यो खोजले अफ्रिकी चितुवाको उपप्रजाति कति पूर्वसम्म फैलिएको थियो भन्ने ऐतिहासिक रेकर्ड पेस गरेको छ। यसले उत्तरी साउदी अरबमा हजारौँ वर्षसम्म चितुवाका विभिन्न वंशहरूले राज गरेका थिए भन्ने देखाउँछ।
यो अध्ययनका लागि वैज्ञानिकहरूले सातमध्ये तीनवटा अवशेषबाट पूर्ण जिनोम सिक्वेन्स निकालेका थिए। प्राकृतिक रूपमा ममी बनेका चितुवा वा ठूला बिरालो प्रजातिबाट डिएनए निकालिएको यो पहिलोपटक हो।
भारतमा कार्यरत दक्षिण अफ्रिकाका वन्यजन्तु विशेषज्ञ एड्रियन टोर्डिफले केही चितुवाका अवशेष जम्मा एक शताब्दी मात्र पुराना हुनु अचम्मको विषय भएको बताए। यसले साउदी अरबमा मानिसहरूले सोचेभन्दा धेरै पछिसम्म पनि चितुवाको अस्तित्व रहेको देखाउँछ। साउदी अरब चितुवाहरूका लागि एउटा महत्त्वपूर्ण प्राकृतिक पुल थियो, यो कुनै ‘इकोलोजिकल डेड एन्ड’ थिएन भन्ने कुरा यो अनुसन्धानले प्रमाणित गरेको टोर्डिफको निष्कर्ष छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण