सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
समाचार

आरजु र पूर्णबहादुरसँगको तस्बिरबारे दुर्गा प्रसाईंले के भने ?

बुधबार, १३ फागुन २०८२, २० : ३७
बुधबार, १३ फागुन २०८२

सारांश

  • मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आरजु राणा देउवा र पूर्णबहादुर खड्कासँगको तस्बिरबारे स्पष्टीकरण दिएका छन्।
  • प्रसाईंले तस्बिर सक्कली भएको स्वीकार्दै सत्तामा आएमा तिनै नेताहरूलाई जेल हाल्ने बताए।
  • उनले पुरानो फोटोलाई नयाँ मिति हालेर षड्यन्त्रपूर्वक सार्वजनिक गरिएको आरोप लगाए।

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवा र नेता पूर्णबहादुर खड्कासँगको आफ्नो सार्वजनिक भएको तस्बिरबारे स्पष्टीकरण दिएका छन्। सामाजिक सञ्जालमा उक्त तस्बिर भाइरल भएपछि प्रसाईंले तस्बिर सक्कली नै भएको स्वीकार्दै आफ्नो हातमा सत्ता आए तिनै नेताहरूलाई सबैभन्दा पहिले जेल हाल्ने दाबी गरेका छन्।

सर्वोच्च अदालतको आदेशअनुसार बुधबार रिहा भएका राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईंले उक्त तस्बिरलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले बनाएको भनेर आफूले नढाँट्ने बताए। उनका अनुसार करिब अढाई वर्षअघि कुनै नेताको घरमा भेट हुँदा उक्त तस्बिर खिचिएको थियो। 

आफ्नै स्कुल सञ्चालन गरिरहेका प्रसाईंले युलेन्स स्कुल चलाइरहेकी आरजुसँग विदेशी सम्बन्धन ल्याउने विषयमा बुझ्न जाँदा उक्त भेटघाट भएको र सोही क्रममा फोटो खिचिएको दाबी गरे। नेताहरूसँग फोटो खिचाउनु कुनै ठूलो विषय नभएको प्रसाईंको तर्क छ। आफूले वर्तमान प्रधानमन्त्रीदेखि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, गृहमन्त्री ओम अर्याल, पूर्वप्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल ’प्रचण्ड’ र केपी शर्मा ओलीसँग पनि फोटो खिचाएको उनले स्मरण गराए। फोटो खिच्दैमा केही नबिग्रिने भन्दै उनले मानिसको काम र नियतसँग मात्र सरोकार राख्नुपर्ने बताए।

तस्बिर सार्वजनिक भएर विवादमा तानिएपछि प्रसाईंले आफ्नो हातमा देशको नेतृत्व आएमा सबैभन्दा पहिले आरजु देउवा र केपी ओलीलाई समातेर थुन्ने उनले घोषणा गरे। त्यति मात्र नभई, विगतमा सिंहदरबार र सर्वोच्च अदालतमा आगो लगाउने योजना बनाउनेहरूलाई पनि जेल हाल्ने र त्यसपछि मात्र संविधान संशोधन गरेर चुनावमा जाने उनको भनाइ छ।

आफू हिरासतमा रहेको बेला पुरानो फोटोलाई नयाँ मिति हालेर षड्यन्त्रपूर्वक सार्वजनिक गरिएको प्रसाईंको आरोप छ। आफू भित्र भएको बेला यसरी फोटो ल्याउनुलाई उनले ‘बेमौसमी बाजा’ को संज्ञा दिए। आफ्ना लागि आरजु, शेरबहादुर देउवा वा केपी ओली कोही पनि ठूलो कुरा नभई मुलुकको अवस्था र जनताको मुद्दा प्रधान रहेको उनले बताए। 

सर्वहारा, सीमान्तकृत वर्ग, निजामती कर्मचारी, प्रहरी र सेनाको तलब बढाउने विषय नै आफ्नो मुख्य एजेन्डा रहेको भन्दै उनले आफू तिनै भुइँमान्छेको पक्षमा लडिरहेको जिकिर गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप