नेताको नजरमा नपरेको बस्ती, जहाँ पानी परेपछि विद्यालय बन्द हुन्छ
सारांश
- सिरहा नगरपालिका-२१ लक्ष्मीनियाँ मलियाटोलमा रहेको विद्यालय वर्षामा विद्यार्थीविहीन हुने गरेको छ।
- मैनावती खोलामा पुल नहुँदा स्थानीय र विद्यार्थीलाई आवतजावतमा समस्या छ, जसका कारण पठनपाठन प्रभावित छ।
- स्थानीयहरूले नेताहरूले पुल बनाउने आश्वासन दिए पनि कार्यान्वयन नभएको गुनासो गरेका छन्।
सिरहा । सिरहा नगरपालिका–२१ लक्ष्मीनियाँ मलियाटोलमा रहेको जनता आधारभूत विद्यालय सामान्य वर्षामा पनि विद्यार्थीविहीन हुन्छ । विद्यालय पुग्न मैनावती खोलाको पूर्वी शाखा तरेर जानुपर्ने हुँदा वर्षामा विद्यार्थी विद्यालय पुग्न सक्दैनन् ।
खोलाको पश्चिमी किनारमै रहेको ५ कक्षासम्म अध्यापन हुने यस विद्यालयमा २९१ जना विद्यार्थीको नामाङ्कन छ, तर असार लागेपछि भने विद्यालय बन्दजस्तै हुने गरेको स्थानीयहरू बताउँछन् ।
खोला तर्ने पुल नभएकै कारण बेला–बेलामा विद्यालयको पठन–पाठन प्रभावित हुने गरेको विद्यालयका प्रधानाध्यापक मो. अजमत अलि बताउँछन् । ‘पानी पर्नेबित्तिकै विद्यालय अगाडि जम्छ । विद्यार्थी तर्नै सक्दैनन्, कसरी विद्यालय आइपुग्नु ?’ अलि अवस्थाबारे बताउँछन् ।
विद्यार्थीमात्र हैन, लक्ष्मीनियाँ मलियाटोलका करिब २५० भन्दा बढी परिवारलाई सामान्य वर्षामा पनि खेत, हाटबजार जान मुस्किल हुनेगरेको उनी सुनाउँछन् । खोला तर्ने कुनै उपाय नभएकाले आफूहरू पानीमै हेलिएर हिँड्नुपर्ने बाध्यता रहेको स्थानीय सञ्जय कुमार गुप्ता पनि दुःखेसो गर्छन् । ‘सामान्य पानी पर्दा पनि जम्ने भएकाले हामीले वर्षौंदेखि समस्या भोग्दै आएका छौँ । पानीको उचित निकास नहुँदा जम्ने गरेकाले झन ठुलो समस्या हुने गरेको छ,’ उनले भने, ‘अहिले हिउँदमा पनि यहाँको बाटो हिलाम्य छ ।’
स्थानीयले आफ्नै पहल र लगानीमा बाँसको पुल बनाएर आउजाउ गरे पनि ससाना बालबालिकालाई भने विद्यालय पुग्न र फर्किन नै समस्या हुने गरेको स्थानीय बताउँछन् ।
‘यो खोलामा पुल बनाउने आश्वासन र बाचा दिएर यस क्षेत्रबाट जितेका व्यक्तिहरू सांसद मन्त्री भए, तर हाम्रो समास्याको कुनै सुनवाई भएन,’ स्थानीय राजकिशोर यादव भन्छन्, ‘अघिल्ला निर्वाचनमा पनि यो पुल निर्माण गर्ने बाचा उम्मेदवारहरूले गरे, हार्नेहरू त फर्केर आउने कुरै भएन, जितेर गएकाहरूको पनि हामीले मुख देख्न पाएनौँ ।’

यो बस्ती अहिले सिरहा निर्वाचन क्षेत्र नम्बर ३ मा पर्छ । यहाँबाट लगातार दुई कार्यकाल २०७४ र २०७९ मा नेकपा एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित भएका थिए । उनी दुई पटक मन्त्रीसमेत भए । यहाँका नगर प्रमुख पनि एमालेकै नविन कुमार यादव छन् । यस क्षेत्रबाट २०७० सालको निर्वाचनमा नेपाली कांग्रेसकी तत्कालीन कोषाध्यक्ष सीतादेवी यादव निर्वाचित भएकी थिइन् ।
अहिले पनि यहाँ उम्मेदवारहरू घरदैलोमै छन् । उनीहरू गाउँ–गाउँ पुगेर आश्वासन बाँडिरहेका छन् । तर यसपटक भने मतदाता विश्वस्त हुन सकिरहेका छैनन् । लक्ष्मीनियाँ मलियाटोलका जनता बाचा, घोषणा र प्रतिबद्धताभन्दा इमानदार र काम गर्न सक्ने नेताको खोजीमा छन् ।

यस पटक यहाँबाट नेपाली कांग्रेसका शुभासचन्द्र यादव, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट विश्वनाथ साह, नेकपा एमालेबाट लिलानाथ श्रेष्ठ, जनता समाजवादी बार्टी(जसपा)बाट अशेश्वर यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शभ्भु कुमार यादव, उज्यालो नेपाल पार्टीका श्रवण पासवानसहित १२ वटा दलका र २९ जना स्वतन्त्रसहित ४१ जनाले उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी
-
‘बर्ड फ्लु’ सङ्क्रमण फैलिएको समयमा कुखुराको मासु र अण्डा खान हुन्छ ?
-
झापामा चट्याङ लागेर एक जनाको मृत्यु
-
मालवाहक ट्रकबाट १ लाख २० हजार प्रतिबन्धित औषधि ट्रामाडोल बरामद
-
सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण