नवलपरासी पूर्वमा तीन हजार सात सय छयालीस हेक्टर क्षेत्रमा तोरी खेती
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसानहरू तेलहन(तोरी) बालीतर्फ आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेसँगै जिल्लामा तेलहन बाली खेती गर्ने किसानको सङ्ख्या बढेको हो ।
अन्य बालीको तुलनामा तोरीखेतीबाट बढी फाइदा हुने तथा बजारबाट किनिएको तेल प्रयोग गर्नुभन्दा आफैँले उत्पादन गरेको तेल खान पाइने भएपछि किसानहरू तोरीखेतीमा आकर्षित भएको कृषि विकास कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का कृषि अर्थ विज्ञ सञ्जय ढकालले बताए ।
यस वर्ष जिल्लामा तीन हजार ७४६ हेक्टर क्षेत्रमा तोरी बाली लगाइएको ढकालले बताए । गत वर्ष जिल्लामा तीन हजार ७२५ हेक्टर क्षेत्रमा तोरीखेती गरिएको थियो । गत वर्षको भन्दा यस वर्ष थप २१ हेक्टर क्षेत्रमा तोरीखेती विस्तार भएको कृषि अर्थविज्ञ ढकालले जानकारी दिए ।
“गत आर्थिक वर्ष २०८१/८२ मा तीन हजार ७२५ हेक्टर क्षेत्रफलमा तेलहन बाली (तोरी) खेती हुँदा चार हजार ४३० मेट्रिक टन उत्पादन भएको थियो”, उनले भने, “यो वर्ष तीन हजार ७४६ हेक्टरमा खेती भएको छ उत्पादन चार हजार ६६७ मेट्रिक टन हुने अनुमान गरेका छौँ ।”
जिल्लाको कावासोती, मध्यविन्दु, देवचुली र गैँडाकोट नगरपालिका क्षेत्रलाई तोरीको पकेट क्षेत्र मानिन्छ । यो वर्ष प्रतिहेक्टर १.२५ मेट्रिक टनले उत्पादन हुने अनुमान गरिएको तोरीखेतीप्रति कृषकहरूको आकर्षण बढ्दै गएको कृषि विकास कार्यालयका सूचना अधिकारी विश्वास काफ्लेले बताए ।
“तोरी बाली लगाउन पनि सजिलो, खासै दुःख पनि नहुने भएकाले जिल्लामा तोरीखेती फस्टाएको छ”, उनले भने, “तोरीखेती बढ्नुको मुख्य कुरा भनेको मूल्य बढ्दै जानु र बजारमा आएका तेलमा मिसावट भएका कारणले जिल्लामा तोरीखेती गर्नेतर्फ किसानहरूको आकर्षण बढ्दै गएको हो ।” अठीदेखि ९० दिनमा तोरीखेती तयार हुन्छ । आफैँले उत्पादन गरेको तोरीको तेल गुणस्तरीय हुने र पिनासमेत मलको रूपमा प्रयोग गर्न पाइने भएकाले पनि किसानहरू तोरीखेतीप्रति आकर्षित हुँदै गएका छन् ।
वर्षौंदेखि तोरीखेती लगाउँदै आएका कावासोती नगरपालिका–१५ का धनपति अधिकारीले घरमा वर्षभरि खान र केही बेच्न पनि पुग्ने गरी तोरी लगाएको बताए । “दुई तीन वर्षदेखि गाउँ घरमा पनि तोरीको माग बढेको छ”, उनले भने, “घरका लागि पनि स्वस्थ तेल प्रयोगका लागि बर्सेनि खेती गरेकोमा केही वर्षदेखि गाउँ घरमै बिक्रीका लागि पनि धेरै लगाउने गरेका छाैँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्भवती महिलाको उद्धार
-
पूर्वमन्त्री खरेलको पार्थिव शरीर कांग्रेस मुख्यालयमा
-
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला
-
क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक कांग्रेसको विधानभन्दा बाहिरको व्यवस्था हो : वरिष्ठ अधिवक्ता पोखरेल
-
कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण