बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तत्कालीन उपकुलपति भण्डारीसहित १३ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

बिहीबार, १४ फागुन २०८२, ११ : ०७
बिहीबार, १४ फागुन २०८२

सारांश

  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहित १३ जनाविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ हुने भएको छ।
  • अख्तियारले एमआरआई मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो।
  • अख्तियारले १२ करोडभन्दा बढी बिगो कायम गर्दै हालसम्म भुक्तानी भएको रकम असुल गर्न माग गरेको छ।

काठमाडौँ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति प्रा.डा.संगीता सिंह भण्डारीसहित १३ जनाविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीश हेमन्त रावल र न्यायाधीश उमेश कोइरालाको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हाे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपकुलपति भण्डारीसहित १३ जनालाई एमआरआई मेसिन खरिद गर्दा भ्रष्टाचार भएको ठहर गर्दै गत असोज २३ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

अख्तियारले उपकुलपति प्रा.डा.संगीता सिंह भण्डारी, तत्कालीन का.मु. रजिष्ट्रार झन्कार लामिछाने, फाइनान्स मेनेजर कैलाशप्रसाद देव, बायोमेडिकल इन्जिनियर शरद भण्डारी र अमितकुमार चौधरी, डेपुटी फाइनान्स मेनेजर नितिन कुर्मी, शाखा अधिकृतद्वय छायाँ डी.सी. र श्रीराम चौधरी, आई.टी. अफिसर हिरालाल भण्डारी, सिभिल इन्जिनियर मदन भण्डारी, र वरिष्ठ सहायक अन्जु शर्माविरुद्ध मुद्दा दायर गरेको थियो ।

यस्तै, स्वास्थ्य सेवा विभागकी तत्कालीन बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई र आपूर्तिकर्ता कम्पनी लुम्बिनी हेल्थकेयर प्रा.लि. तथा त्यसका अध्यक्ष पोष्टराज ज्ञवालीलाई पनि प्रतिवादी बनाइएको छ ।

आयोगले सबै प्रतिवादीहरूबाट कुल १२ करोड ७ लाख ६० हजार ९४६ रुपैयाँ बिगो कायम गरी सजायको मागदाबी गरेको छ। साथै, हालसम्म भुक्तानी भइसकेको ९ करोड ३४ लाख २६ हजार ६१९ रुपैयाँ असुलउपर गर्न पनि माग गरेको थियो ।

कम गुणस्तरको एमआरआई मेसिन खरिद गरी आर्थिक अनियमितता भएको उजुरीमाथि अनुसन्धान गर्दा प्रतिष्ठानका पदाधिकारी र आपूर्तिकर्ता कम्पनीको मिलेमतोमा भ्रष्टाचार भएको अख्तियारको निष्कर्ष छ । 

अख्तियारका अनुसार, प्रतिष्ठानले खरिद गुरुयोजना र आवश्यकता पहिचान नगरी बजेट माग गरेको थियो । सार्वजनिक खरिद ऐन विपरीत निश्चित कम्पनी (लुम्बिनी हेल्थकेयर प्रा.लि.) लाई मिल्ने गरी प्राविधिक स्पेसिफिकेसन तयार पारिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप