विराट फिल्म एन्ड म्युजिक अवार्ड : उत्कृष्ट कलाकार केकी र विजय
सारांश
- विजय बराल र केकी अधिकारीले 'विराट फिल्म एन्ड म्युजिक अवार्ड' मा उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड जिते।
- सतीदेवी उत्कृष्ट फिल्म घोषित भयो भने चौथो विराट फिल्म एन्ड म्युजिक अवार्डमा विभिन्न ३६ विधामा अवार्ड वितरण गरियो।
- सेलिब्रेटी नेपाल प्रतिष्ठानद्वारा आयोजित अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्ड सुभाष गजुरेल र पत्रकारिता पुरस्कार कृष्ण भट्टराईलाई प्रदान गरियो।
काठमाडौँ । अभिनेता विजय बराल र अभिनेत्री केकी अधिकारी उत्कृष्ट कलाकार घोषित भएका छन् । राजधानीमा बुधबार साँझ सम्पन्न ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’ मा केकीले ‘बोक्सीको घर’ र विजयले ‘पूर्णबहादरको सारङ्गी’ फिल्मबाट यो अवार्ड चुमेका हुन् ।
समारोहमा लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’ ले उत्कृष्ट फिल्मको अवार्ड हात पार्यो । नेपाली गीत–संगीत तथा चलचित्र क्षेत्रका स्रष्टालाई अवार्ड र सम्मान प्रदान गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’ यो पटक चौथो संस्करण चलचित्र विकास बोर्डको हलमा आयोजना भएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाको प्रमुख आतिथ्यता तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको विशेष आतिथ्यतामा सम्पन्न ‘चौथो विराट फिल्म एन्ड म्युजिक अवार्ड–२०८२’ मा ३६ वटा विधामा अवार्ड प्रदान गरियो । कार्यक्रम संयोजक सुरज पौडेलका अनुसार यस वर्ष सङ्गीततर्फ २४ विधा र चलचित्रतर्फ १२ विधा गरी जम्मा ३६ विधामा अवार्ड प्रदान गरिएको हो ।

सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा सम्पन्न अवार्डमा २०८१ सालमा प्रदर्शनमा आएका फिल्म तथा सार्वजनिक गीत–सङ्गीतलाई समावेश गरिएको थियो । अवार्डमा नगद २५,५५५ सहित ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ कलाकार तथा निर्देशक सुभाष गजुरेललाई र नगद ११,१११ सहित पत्रकारिता पुरस्कार कृष्ण भट्टराईलाई प्रदान गरियो ।
कार्यक्रमको अध्यक्षता सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाले गरेका थिए । कार्यक्रममा लेखक तथा निर्देशक काजी लिम्बु, कलाकार श्रेया दुलाल, निर्माताद्वय सुनिता सापकोटा तथा रामनारायण उपाध्याय र विज्ञान श्रेष्ठलाई सम्मान गरिएको थियो ।
निर्देशक तथा सम्पादक रक्षासिंह राणा, छायाकार शिव ढकाल, गीतकार प्रमोद ढुङ्गाना, निर्देशक ऋषि लामिछाने, लेखक तथा निर्देशक अमरदीप सापकोटा र गायक नवीनकुमार पौडेल अवार्डका निर्णायक रहेका थिए ।

क–कसले पाए अवार्ड ?
१. उत्कृष्ट फिल्म : सतीदेवी
२.उत्कृष्ट निर्देशक : मिलन चाम्स (अञ्जिला)
३.उत्कृष्ट अभिनेता : विजय बराल (पूर्णबहादुरको सारङ्गी)
४.उत्कृष्ट अभिनेत्री : केकी अधिकारी (बोक्सीको घर)
५.सह–अभिनेत्री : सृजना अधिकारी (सतीदेवी)
६.छायाकार : पुरुषोत्तम प्रधान (पीताम्बर)
७.सम्पादक : सन्देश शाह (ज्वाइँ साव)
८.संगीतकार : आशिष अविरल रैयाँ चाँदीको (पूर्णबहादुरको सारङ्गी)
९.सह अभिनेता : कामेश्वर चौरसिया (रेशम फिलिली)
१०.पटकथा संवाद : लक्ष्मण सुवेदी (सतीदेवी)
११.रङ्ग संयोजन : राजेन्द्र मोक्तान (अञ्जिला)
१२.इन्करेज्मेन्ट अवार्ड बाल कलाकार– मन्जिला बानियाँ र हर्षिका ओली (सतीदेवी)
सङ्गीततर्फ विजेता
१.उत्कृष्ट गायक (आधुनिक) : रुद्रशेखर शर्मा (के छ सान्नानी)
जुरी अवार्ड : शशीविक्रम थापा (तिम्रै कारण)
२.उत्कृष्ट गायिका (आधुनिक) : अन्जु पन्त (थाहै थिएन दिल)
३.उत्कृष्ट संगीतकार : मनोज चौँलागाईं
४.उत्कृष्ट गीतकार (आधुनिक) : प्रतिमा गुरुङ (न जिउन सकेँ न मर्न सकेँ)
जुरी अवार्ड : सरिता सापकोटा (बेखबर)
५.उत्कृष्ट मोडल (आधुनिक मेल) : माधव केसी (अजम्बरी माया)
जुरी अवार्ड : आर्यन राउत (पिर पर्या छ)
पब्लिक च्वाइस अवार्ड : ईश्वर वल्लभ उप्रेती (आदत बन्यौ)
६.उत्कृष्ट मोडल (आधुनिक फिमेल) : नेहा गौतम (तिम्रो झझल्को)
७.उत्कृष्ट मेकअप (आर्टिस्ट) : प्रिया नगरकोटी (मेरो घरको मुन्तिर)
८.उत्कृष्ट म्युजिक भिडियो (निर्देशक) : राजेन्द्र बस्नेत (मेरो घरको मुन्तिर)
जुरी अवार्ड : विनयराज पौडेल (हेर्दाहेर्दै)
९.उत्कृष्ट छायाकार (म्युजिक भिडियो) : मदन काश्यप घिमिरे (अजम्बरी माया)
१०.उत्कृष्ट गीतकार (पप) : अनुप महर्जन (अँध्यारो रातमा)
११.उत्कृष्ट गायन (लोक) : चन्द्र लामा (मुटुमा बसेकी माया)
१२.उत्कृष्ट छायाकार (पप भिडियो) : मिलन थापा ‘शान्त’ (अँध्यारो रातमा)
१३.उत्कृष्ट मोडल (भोजपुरी) : सद्दाम हुसेन (कमर धके)
१४.उत्कृष्ट गीतकार (गजल) : तुलाराम लामिछाने (समय खराब छ)
१५.उत्कृष्ट कोरियोग्राफर (म्युजिक भिडियो) : सुरेश पाण्डे (जवानीले पोल्यो)
१६. सर्वोकृष्ट गायक (लोक पप ) : दिनेश भारती (चन्द्रकुमारी)
१७. भाषाभाषी चलचित्र तलासबाट उत्कृष्ट अभिनेता : राजकुमार लिङ्ग्देन
१८. उत्कृष्ट मोडल भाषाभाषी गीत : विपना आङ्ग्वुहाङ्ग (सुंगुरको मासुमा)
१९.उत्कृष्ट निर्देशक भाषाभाषी चलचित्र : दिनेश लिङ्ग्देन (दुष्प्रयास)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण