मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा कांग्रेसको ‘भिजन १०’ सार्वजनिक, एकीकृत सहरी विकासमा जोड

बिहीबार, १४ फागुन २०८२, १५ : ३१
बिहीबार, १४ फागुन २०८२

सारांश

  • काठमाडौं उपत्यकामा नेपाली कांग्रेसका उम्मेदवारहरूले 'भिजन १०' विकास प्रतिबद्धता पत्र सार्वजनिक गरे।
  • प्रतिबद्धता पत्रमा एकीकृत सहरी विकास योजना, यातायात सुधार, प्रदूषण नियन्त्रण, र शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच बढाउने उल्लेख छ।
  • महामन्त्री प्रदीप पौडेलको उपस्थितिमा भएको कार्यक्रममा उपत्यकाको दिगो विकास कांग्रेसको प्राथमिकता रहेको बताइएको छ।

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकामा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवारहरूका तर्फबाट ‘नेपाली कांग्रेस काठमाडौं उपत्यका विकास प्रतिबद्धता पत्र : भिजन १०’ सार्वजनिक गरिएको छ ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री प्रदीप पौडेलको उपस्थितिमा तीनवटै जिल्लाका उम्मेदवारहरूको भर्चुअल सहभागितासहित प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो ।

प्रतिबद्धता पत्रमा तीनवटै जिल्लालाई एउटै सहरका रूपमा लिँदै स्थान विशेषका मौलिक विशिष्टतालाई ध्यानमा राखेर एकीकृत सहरी विकास योजना तर्जुमा गरी कार्यान्वयन गरिने उल्लेख छ । उपत्यकालाई विश्वको सफा, सुन्दर, विकसित, आधुनिक, सुशासित एवं जीवन्त सहरका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

उपत्यकाको वहन क्षमताअनुसार सहर व्यवस्थापन गर्दै वृहत्तर संघीय राजधानी पुनर्संरचना योजना कार्यान्वयन गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणलाई सुदृढ एवं सक्षम बनाइने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

यसैगरी, उपत्यकाको सडक यातायातलाई सहज, व्यवस्थित र अनुमानयोग्य बनाउन एकीकृत सहरी यातायात र स्मार्ट मोबिलिटी नीति अवलम्बन गर्दै मास ट्रान्सपोर्टसहितको सडक पूर्वाधार निर्माण गरिने जनाइएको छ । यातायात व्यवस्थापनमा पैदलयात्री, साइकल यात्री तथा सबै नागरिकको आवश्यकतालाई विशेष ध्यान दिँदै ‘वाकेबल सिटी’का रूपमा विकास गर्ने योजना समेटिएको छ ।

उपत्यकाभित्रको प्रदूषण नियन्त्रणका लागि एकीकृत मापदण्ड तयार पार्ने, सार्वजनिक तथा पुरातात्विक स्थलको संरक्षण र व्यवस्थापनका लागि एकीकृत योजना लागू गर्ने विषय पनि प्रतिबद्धता पत्रमा छ । साथै, उपत्यकाका नदी संरक्षण, शुद्धीकरण तथा सौन्दर्यीकरणका कार्यक्रम सञ्चालन गर्दै आसपासका निकुञ्ज, सार्वजनिक वन तथा पार्क संरक्षणमार्फत आरोग्य जीवनशैली प्रवर्द्धन गर्ने उल्लेख छ ।

शिक्षा क्षेत्रलाई समयसापेक्ष, प्रविधिमैत्री र व्यवहारिक बनाउँदै गुणस्तरीय शिक्षामा सहज पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्य सेवालाई सर्वसुलभ, गुणस्तरीय एवं प्रविधिमैत्री बनाउने प्रतिज्ञा गरिएको छ ।

एकीकृत भू–उपयोग नीति तर्जुमा गरी सहरी पूर्वाधार, भवन संहिता तथा ढल व्यवस्थापनसहितको पुनरुत्थान गुरुयोजना लागू गर्ने, विपद् व्यवस्थापनका लागि पूर्वचेतावनी प्रणालीसहित कमाण्ड सेन्टर सञ्चालन गर्ने विषय पनि समेटिएको छ ।

बेरोजगारी, गरिबी तथा असमानता घटाउन रोजगारीका अवसर सिर्जना गर्ने, युवालक्षित कार्यक्रम सञ्चालन गर्ने, डिजिटल प्रविधि तथा आइटी क्षेत्रमा उद्यम प्रवर्द्धन गर्ने तथा सामाजिक सुरक्षामार्फत जीवनस्तर सुधार गर्ने प्रतिबद्धता जनाइएको छ । सुकुम्बासी र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न विशेष योजना कार्यान्वयन गर्ने उल्लेख छ ।

खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि आगामी ५० वर्षको जनसंख्या प्रक्षेपणलाई ध्यानमा राखेर वृहत्तर योजना निर्माण गर्ने, भूमिगत जलसतह संरक्षणका लागि जलभण्डारण तथा पुनर्भरण योजना लागू गर्ने पनि प्रतिबद्धता पत्रमा समावेश छ ।

कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले काठमाडौं उपत्यकाको दिगो व्यवस्थापन र विकास कांग्रेसको प्राथमिकतामा रहेको बताए । एक्ला–एक्लैभन्दा सामूहिक रूपमा अघि बढ्दा प्रभावकारी हुने भएकाले एकीकृत विकासका लागि साझा प्रतिबद्धता गरिएको उनको भनाइ थियो । ‘यस प्रतिबद्धता पत्रले भावी दिनमा उपत्यकाको विकासमा एकजुट भएर काम गर्न मार्गदर्शन गर्नेछ,’ उनले भने ।

प्रतिबद्धता पत्रमा काठमाडौं १ का उम्मेदवार प्रबल थापा, काठमाडौं २ का कविर शर्मा, काठमाडौं ३ का रमेश अर्याल, काठमाडौं ४ का सचिन तिमिल्सिना, काठमाडौं ५ का प्रदीप पौडेल, काठमाडौं ६ का कृष्णसबुज बानियाँ, काठमाडौं ७ का प्रमोदहरि गुरागाईं, काठमाडौं ८ की सपना राजभण्डारी, काठमाडौं ९ की नानु बास्तोला तथा काठमाडौं १० का हिमाल कार्कीको नाम समावेश छ ।

यसैगरी, भक्तपुर १ का किरण न्यौपाने, भक्तपुर २ का कविर राणा, ललितपुर १ का उदयशमशेर राणा, ललितपुर २ का प्रेमकृष्ण महर्जन तथा ललितपुर ३ का जितेन्द्रकुमार श्रेष्ठले पनि प्रतिबद्धता जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप