मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कार्की आयोगको प्रतिवेदन लुकाउन खोजिएको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

बिहीबार, १४ फागुन २०८२, १६ : ०६
बिहीबार, १४ फागुन २०८२

सारांश

  • जेनजी मुभमेन्ट एलायन्सले जनआन्दोलनमा भएको दमन र हत्याको छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ।
  • युवाहरूले सरकार न्यायका लागि गम्भीर नभएको आरोप लगाउँदै दोषीलाई कारबाहीको माग गरेका छन्।
  • एलायन्सले निर्वाचन अगावै प्रतिवेदन सार्वजनिक गर्न र दोषीमाथि कारबाही गर्न माग गरेको छ, अन्यथा सरकारमाथि विश्वासघातको आरोप लगाउने चेतावनी दिएको छ।

काठमाडौं । जेनजी मुभमेन्ट एलायन्सले भाद्र २३ र २४ गतेको जनआन्दोलनमा भएको दमन र हत्याको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ। एलायन्सका प्रतिनिधिहरूले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर सामुहिक ज्ञापन पत्र दर्ता गराउँदै सरकारको ध्यानाकर्षण गराएका हुन्।

गत भदौमा भएको भ्रष्टाचार विरोधी र वाक स्वतन्त्रताको आन्दोलनमा ७६ जनाको मृत्यु र २,२१३ जनाभन्दा बढी घाइते भएको घटनालाई स्मरण गराउँदै युवाहरूले न्यायका लागि सरकार गम्भीर नभएको आरोप लगाएका छन्। पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा रहेको वर्तमान अन्तरिम नागरिक सरकारले नै दोषीलाई कारबाही र पीडितलाई न्याय दिने विश्वासमा आफूहरू रहेको भए पनि पछिल्लो समय आयोगको म्याद पटक-पटक थपेर निर्वाचन पछाडि धकेल्नु शंकास्पद रहेको ज्ञापन पत्रमा उल्लेख छ।

फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचन अगावै प्रतिवेदन सार्वजनिक गरी दोषीमाथि कानुनी प्रक्रिया अगाडि बढाउनुपर्ने माग जेनजीले राखेको छ। प्रतिवेदन निर्वाचनपछि मात्र सार्वजनिक गर्ने चर्चाले जनमानसमा संशय पैदा गरेको र यसलाई विगतका आयोगहरू जस्तै दराजमा थन्क्याएर दण्डहीनतालाई प्रश्रय दिन खोजिएको त होइन भन्ने प्रश्न एलायन्सले उठाएको छ।

ज्ञापन पत्रमा भनिएको छ, ‘यदि यो प्रतिवेदनलाई समयमै सार्वजनिक गरिएन र कार्यान्वयनमा लगिएन भने, यो सरकारले जेनजीको रगत र पसिनाको जगमा उभिएको जनआन्दोलनप्रति नै विश्वासघात गरेको ठहरिनेछ।’ निर्वाचनको मुखमा आइपुग्दा संवैधानिक लयमा देश फर्कन लागेको भए पनि आन्दोलनका शहीद र घाइतेका परिवारले न्याय नपाए निर्वाचनको औचित्यमाथि समेत प्रश्न उठ्न सक्ने चेतावनी दिइएको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप