शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

म्याग्दीका सबै उम्मेदवारले खोले चुनावी बैंक खाता

शुक्रबार, १५ फागुन २०८२, २३ : २२
शुक्रबार, १५ फागुन २०८२

सारांश

  • म्याग्दीका सबै उम्मेदवारले निर्वाचनका लागि छुट्टै बैंक खाता खोलेका छन्।
  • निर्वाचन आयोगको निर्णयअनुसार उम्मेदवारको खर्च पारदर्शी बनाइने भएको छ।
  • जिल्लामा ८२ मतदान स्थल र १२० मतदान केन्द्रमा निर्वाचन हुँदैछ।

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा म्याग्दीका सबै उम्मेदवारले छुट्टै बैंक खाता सञ्चालनमा ल्याएका छन् । एक निर्वाचन क्षेत्र रहेको जिल्लामा चुनावी प्रतिस्पर्धामा रहेका सबै १२ उम्मेदवारहरूले चुनावी प्रयोजनका लागि बैंक खाता सञ्चालनमा ल्याएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगले चुनावी खर्चलाई पारदर्शी र मितव्ययी बनाउने उद्देश्यले गरेको निर्णय यहाँका सबै उम्मेदवारहरूले कार्यान्वयन गरेका मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिए । उम्मेदवारको खर्च, आम्दानी मुख्य निर्वाचन अधिकृतको कार्यालयको सिफारिसमा खोलिएको खाताबाट गर्नुपर्ने र त्यसको अनुगमन कोष तथा लेखा नियन्त्रणको कार्यालयले गर्ने उनले बताए ।

जिल्लाका उम्मेदवारले बढीमा रु। ३१ लाख सम्म खर्च गर्न सक्ने सीमा तोकिएको छ । निर्वाचनमा आर्थिक मितव्ययिता गर्नका लागि उम्मेदवारले गर्ने खर्चको समेत छुट्टै अनुगमन गर्ने संयन्त्र बनाइएको कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुख रामप्रसाद शर्माले बताए ।

कार्यालयका प्रमुख शर्माको संयोजकत्वमा खर्च आचारसंहिता अनुगमन समेत भइरहेको छ । भड्किलो खर्च रोक्नका लागि आयोगले पहिलो पटक छुट्टै खाता खोल्ने व्यवस्था मिलाएको छ । म्याग्दीमा निर्वाचन आचार संहिता सम्बन्धी पाँच वटा लिखित र चार वटा मौखिक उजुरी परेका छन् ।

उजुरीको विषयमा सम्बन्धित उम्मेदवारलाई सचेत बनाइएको आचार संहिता अनुगमन समितिका सदस्य सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिए ।

जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि ८२ मतदान स्थल, एक सय २० वटा मतदान केन्द्र ८६ हजार तीन सय ९७ मतदाता कायम भएका छन् ।

जिल्ला कारागार शाखा र कर्मचारी मिलन केन्द्रमा दुई वटा अस्थायी मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन अधिकारी बिमल गौतमले जानकारी दिनुभयो । निर्वाचनमा खटिने कर्मचारीहरू छनौट गरेर शुक्रबारदेखि नियुक्ति पत्र वितरण थालिएको छ । निर्वाचन सम्पन्न गराउनका लागि खटिने सुरक्षाकर्मी र अनुगमनकर्ता बाहेक मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारी र स्वयंसेवक गरी जिल्लामा एक हजार ७४ जना कर्मचारी परिचालन हुने जनाइएको छ ।

 

निर्वाचनलाई शान्त, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि मतदान केन्द्रहरूको अनुगमन गरी निर्वाचन लक्षित एकीकृत जिल्ला सुरक्षा रणनीति तयार गरी सुरक्षा व्यवस्थापनको काम गरिएको प्रमुख जिल्ला अधिकारी रबीन्द्र आचार्यले जानकारी दिए ।

 

उनले मनोनयन दर्तादेखि निर्वाचन प्रचार प्रसार, मौन अवधि, मतदान, मतगणना र निर्वाचित उम्मेदवारको बिजयी उत्सव सम्मका कार्यक्रमलाई लक्षित गरी जिल्लामा रहेका सुरक्षा निकायहरूबिच आवश्यक समन्वय र सहकार्यमा जिल्लामा मजबुत सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए ।

निर्वाचनका लागि जिल्लामा आवश्यक पर्ने मतपत्र लगायतका निर्वाचन सामग्री आइपुगेको र सबै सामाग्रीलाई मतदान केन्द्रका रूपमा छुट्टाछुट्टै तवरले व्यवस्थापन गरिएको जिल्ला निर्वाचन अधिकारी गौतमले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप