अपराजित दक्षिण अफ्रिकासँग भिड्दै जिम्बाब्वे
सारांश
- टी-२० विश्वकपमा दक्षिण अफ्रिका र जिम्बाब्वेबीच खेल हुने, जुन नयाँ दिल्लीमा दिउँसो सुरु हुनेछ।
- दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ र जिम्बाब्वे प्रतियोगिताबाट बाहिरिएको छ।
- ब्रायन बेनेट जिम्बाब्वेका लागि सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् भने, एनगिडी दक्षिण अफ्रिकाका लागि शीर्ष विकेट लिने खेलाडी हुन्।
नयाँ दिल्ली । टी-२० विश्वकपमा आइतबारको पहिलो खेल दक्षिण अफ्रिका र जिम्बाब्वेबीच खेलिनेछ। यो खेल दिउँसो ३:१५ बजे नयाँ दिल्लीस्थित अरुण जेटली स्टेडियममा सुरु हुनेछ।
दक्षिण अफ्रिका ग्रुप-१ को शीर्ष स्थानमा छ, टोलीले आज जितेमा न्युजिल्यान्डविरुद्ध सेमिफाइनल खेल्नेछ। टोलीले यसअघि भारत र वेस्टइन्डिजलाई हराइसकेको छ। अर्कोतर्फ जिम्बाब्वे दुवै खेल हारेर पहिल्यै सेमिफाइनल दौडबाट बाहिरिइसकेको छ।

दक्षिण अफ्रिकालाई कहिल्यै हराउन सकेन जिम्बाब्वेले
जिम्बाब्वे र दक्षिण अफ्रिकाबिच हालसम्म ८ टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन्। जसमध्ये ७ खेलमा दक्षिण अफ्रिकाले जित दर्ता गरेको छ भने एक खेल नतिजाविहीन बनेको थियो।
जिम्बाब्वेले हालसम्म दक्षिण अफ्रिकाविरुद्ध जित हात पार्न सकेको छैन। यी दुई टोली अन्तिम पटक सन् २०२५ मा हरारेको मैदानमा भिडेका थिए, जहाँ दक्षिण अफ्रिकाले ७ विकेटले खेल जितेको थियो।

दक्षिण अफ्रिका उच्च लयमा
सुपर-८ मा जिम्बाब्वेको टोली संघर्ष गरिरहेको देखिएको छ। ग्रुप-१ मा खेलेको आफ्नो पहिलो खेलमा उसले वेस्टइन्डिजविरुद्ध १०७ रनको फराकिलो हार बेहोर्नुपर्यो। त्यसपछि चेन्नईमा भारतविरुद्ध भएको खेलमा पनि जिम्बाब्वेले ७२ रनको हारको सामना गर्नुपर्यो।
अर्कोतर्फ सुपर-८ मा दक्षिण अफ्रिका सानदार लयमा देखिएको छ। टोलीले डिफेन्डिङ च्याम्पियन भारतलाई ७६ रनले हराएर सेमिफाइनलको दाबेदारी बलियो बनाएको थियो। त्यसपछि अहमदाबादमा टोलीले वेस्टइन्डिजलाई ९ विकेटले पराजित गर्यो। लगातार २ खेल जितेर टोलीले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरिसकेको छ।

ब्रायन बेनेट जिम्बाब्वेका शीर्ष ब्याटर
ब्रायन बेनेटले यस प्रतियोगितामा जिम्बाब्वेका लागि सबैभन्दा धेरै रन बनाएका छन्। उनले ५ खेलमा १३५.७८ को स्ट्राइक रेटमा २७७ रन बनाएका छन्। एक इनिङ्समा उनको उत्कृष्ट स्कोर नटआउट ९७ रन हो, जुन उनले भारतविरुद्ध बनाएका थिए।
त्यस्तै, बलिङतर्फ ब्लेसिङ मुजराबानी टोलीका शीर्ष विकेट लिने खेलाडी हुन्। उनले ५ खेलमा ७.८ को इकोनोमीमा रन खर्चिँदै १२ विकेट लिएका छन्। आज २ विकेट लिएमा उनी प्रतियोगिताकै सर्वाधिक विकेट लिने बलर बन्न सक्छन्।

यानसन र एनगिडी दक्षिण अफ्रिकाका शीर्ष विकेट टेकर
दक्षिण अफ्रिकाका लागि एडेन मार्करमले यस प्रतियोगितामा सबैभन्दा धेरै रन बनाएका छन्। उनले ६ खेलमा १७८.३७ को स्ट्राइक रेटमा २६४ रन बनाएका छन्। उनको उत्कृष्ट स्कोर नटआउट ८६ रन हो।
त्यस्तै, लुंगी एनगिडी र मार्को यानसन दक्षिण अफ्रिकाका लागि सर्वाधिक विकेट लिने खेलाडी हुन्। दुवैको नाममा समान ११-११ विकेट छ।

पिच तथा मौसम रिपोर्ट
अरुण जेटली स्टेडियममा हालसम्म १३ टी-२० अन्तर्राष्ट्रिय खेल खेलिएका छन्। पहिले ब्याटिङ गर्ने टोलीले ५ र पछ्याउने टोलीले ८ खेल जितेका छन्।
अरुण जेटली स्टेडियम आफ्नो सपाट र रन बन्ने पिचका लागि परिचित छ। विशेषगरी टी-२० खेलहरूमा यहाँ ब्याटरहरू खुलेर सट खेल्छन्। छोटो बाउन्ड्री र तेज आउटफिल्ड ब्याटरहरूका लागि सहयोगी साबित हुन्छ, जसले गर्दा बल चाँडै बाउन्ड्री पार गर्छ।
दिल्लीमा घाम लाग्ने र गर्मी हुनेछ। वर्षाको सम्भावना निकै कम छ। यहाँको अधिकतम तापक्रम ३३ डिग्री र न्यूनतम २० डिग्री सेल्सियसको आसपास रहने अनुमान छ।
नजरमा रहने खेलाडी

- कोर्बिन बोश
अन्तर्राष्ट्रिय क्रिकेटमा ढिलो उदाएका अलराउन्डर कोर्बिन बोशलाई यस प्रतियोगितामा ब्याटिङमा खासै आवश्यकता परेको छैन, तर उनी डेथ ओभरमा दक्षिण अफ्रिकाका प्रमुख बलर बनेका छन्। उनले १६ देखि २० ओभरको बीचमा ५४ बल बलिङ गर्दै मात्र ५६ रन खर्चेर ३ विकेट लिएका छन्। लुंगी एनगिडीका भेरिऐसनले चर्चा पाए पनि बोशले विशेषगरी योर्कर जस्ता आफ्नै विविधतामार्फत महत्त्वपूर्ण भूमिका खेलेका छन्।

- ब्राड इभान्स
ब्राड इभान्सको बलिङमा पनि राम्रो स्लोअर बल छ, तर उनले वाङ्खडे वा चेपौकमा ग्रिप पाउन सकेनन्। उनका स्लोअर बलहरू ब्याटमा सजिलै आएका कारण ब्याटरहरूलाई लाइन-अप गर्न सजिलो भएको थियो। के उनले यी अवस्थाहरूमा आफूलाई थप प्रभावकारी बनाउँदै प्रतियोगिताको सुखद अन्त्य गर्न सक्लान् त?
टोली समाचार
यस खेलको नतिजाले खासै फरक नपर्ने भएकाले दक्षिण अफ्रिकाले फेरि पनि बेन्चमा रहेका खेलाडीहरूलाई मौका दिन सक्छ र नकआउट चरणका लागि आफ्ना प्रमुख खेलाडीहरूलाई विश्राम दिन सक्छ। जेसन स्मिथ, क्वेना मफाका, जर्ज लिन्डे र एनरिच नोर्कियाले टोलीमा स्थान बनाउन सक्छन्।
- दक्षिण अफ्रिका (सम्भावित): १. एडेन मार्करम (कप्तान), २. क्विन्टन डी कक (विकेटकिपर), ३. रायन रिकेल्टन, ४. डेवाल्ड ब्रेभिस, ५. जेसन स्मिथ/डेभिड मिलर, ६. ट्रिस्टन स्टब्स, ७. मार्को यानसन/क्वेना मफाका, ८. कोर्बिन बोश, ९. कागिसो रबाडा, १०. केशव महाराज/जर्ज लिन्डे, ११. लुंगी एनगिडी/एनरिच नोर्किया।
दक्षिण अफ्रिकाको शीर्ष सातमा चार जना बायाँहाते ब्याटर रहेकाले जिम्बाब्वेका बायाँहाते स्पिनर वेलिङ्गटन मसाकाद्जा बेन्चमै रहन सक्छन्। यद्यपि, जिम्बाब्वेले मिडियम पेसर टिनोटेन्डा मापोसाको स्थानमा रिस्ट स्पिनर ग्रीम क्रेमरलाई फिर्ता ल्याउने विचार गर्न सक्छ।
- जिम्बाब्वे (सम्भावित): १. ब्रायन बेनेट, २. टाडिवानसे मारुमनि (विकेटकिपर), ३. डायोन मायर्स, ४. रायन बर्ल, ५. सिकन्दर राजा (कप्तान), ६. टोनी मुन्योङ्गा, ७. टासिङ्गा मुसेकिवा, ८. ब्राड इभान्स, ९. ग्रीम क्रेमर, १०. ब्लेसिङ मुजराबानी, ११. रिचर्ड एन्गरावा।

तथ्यांक र रोचक जानकारी
- ५ इनिङ्समा २७७ रन बनाएका ब्रायन बेनेटले टी-२० विश्वकपमा जिम्बाब्वेका कुनै पनि खेलाडीले बनाएको सर्वाधिक रनको कीर्तिमान तोडेका छन्।
- लुंगी एनगिडी टी-२० अन्तर्राष्ट्रियमा दक्षिण अफ्रिकाका लागि सर्वाधिक विकेट लिने बलर बन्न तबरेज शाम्सीलाई उछिन्न मात्र १ विकेट टाढा छन्। हाल दुवैको नाममा समान ८९ विकेट छ।
- प्रतियोगितामा कम्तीमा १०० बल सामना गरेका ११ जना ओपनरहरूमध्ये एडेन मार्करमको स्ट्राइक रेट (१७८.३७) उत्कृष्ट छ।
कसले के भने ?
‘सुपर-८ मा छनोट हुन जिम्बाब्वेले आफ्नो तर्फबाट राम्रो प्रयास गर्यो। प्रतियोगितामा अगाडि बढ्ने अवसर नपाएकोमा उनीहरू पक्कै निराश हुनेछन्। तर हामी हाम्रो अनुशासन र एकाग्रता कायम राख्न चाहन्छौँ।’
– एशवेल प्रिन्स, ब्याटिङ प्रशिक्षक, दक्षिण अफ्रिका
‘भारतको यहाँको अवस्था हामीले श्रीलंकामा पाएको भन्दा फरक छ। हामीलाई घुलमिल हुन केही समय लाग्यो। हामीले चाहेजति छिटो अनुकूलन गर्न सकेनौं। म अझै पनि मान्छु कि खेलाडीहरूले सकेसम्म राम्रो प्रयास गरे। आशा छ, भविष्यका लागि हामीले यहाँको अवस्थाबाट धेरै कुरा सिकेका छौँ।’
– कोर्टनी वाल्श, बलिङ कन्सल्टेन्ट, जिम्बाब्वे
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण