मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निर्वाचनको तयारी अन्तिम चरणमा, मतदान सामग्री केन्द्रमा पठाइँदै

४० उम्मेदवारले खोले बैंक खाता
आइतबार, १७ फागुन २०८२, १८ : २२
आइतबार, १७ फागुन २०८२

सारांश

  • मकवानपुरमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ, कर्मचारीहरू मतदान केन्द्रतर्फ जाँदैछन्।
  • निर्वाचनमा ३ लाख १५ हजार ३३४ मतदाता छन् र दुई अस्थायी मतदानस्थल तोकिएका छन्।
  • ४० उम्मेदवारले बैंक खाता खोलेका छन् भने केहीले अझै खोल्न बाँकी छ।

काठमाडाैँ । आसन्न निर्वाचनको लागि मकवानपुरको दुवै क्षेत्रको तयारी अन्तिम चरणमा पुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले निर्वाचनको लागि आवश्यक सामग्री सहित मतदान अधिकृतहरूलाई मतदान केन्द्रमा पठाउने काम धमाधम गरिरहेको छ ।

फागुन १७ गतेबाट सुरु गरिएको मतदान अधिकृतलाई केन्द्रमा खटाउने काम १९ गतेसम्म चल्ने र २० गते सबै मतदान केन्द्रमा कर्मचारीहरू निर्वाचन सामग्री सहित पुगिसक्ने तयारी गरिएको छ । प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशका प्रमुख एवम् मकवानपुरका सहायक निर्वाचन अधिकृत हरि ढकालले फागुन २१ गते हुने निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

सहायक निर्वाचन अधिकृत ढकालले अबको केही दिनमा कर्मचारीहरू मतदान केन्द्रतर्फ प्रस्थान गर्ने र निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न कार्यालय प्रतिबद्ध रहेको बताए । सहायक निर्वाचन अधिकृत ढकालका अनुसार फागुन १७ गतेदेखि मतदान केन्द्रमा खटिने कर्मचारीहरूलाई आवश्यक निर्वाचन सामग्रीसहित बिदाइ गर्ने कार्य सुरु गरिएको छ ।

‘हामी तयारीको अन्तिम विन्दुमा छौँ । कर्मचारी साथीहरू मतदान सामग्री लिएर केन्द्रतर्फ लाग्ने क्रममा हुनुहुन्छ ।’ उनले भने, ‘आगामी २१ गते मतदातालाई उत्साहपूर्वक सहभागी हुन सकिने छ । निर्वाचन आयोगले फागुन १८ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुने र सो अवधिमा उम्मेदवार र राजनीतिक दलहरूलाई निर्वाचन आचारसंहिता पूर्ण पालना गर्नुपर्नेछ । जिल्लास्थित सुरक्षा निकायहरूले सुरक्षाको पूर्ण प्रबन्ध मिलाइएको छ । मतदाताहरू निर्धक्क भएर मतदान केन्द्रमा गएर भोट हाली सुरक्षित रूपमा घर फर्कन सक्ने वातावरण रहेको छ ।’

निर्वाचनको दिन सार्वजनिक सवारी साधन बन्द रहने भए तापनि हिँडडुल गर्न नसक्ने वृद्ध वृद्धा, अपाङ्गता भएका व्यक्ति र अशक्त मतदाताहरूका लागि विशेष व्यवस्था गरिने उनले बताए । विगतको अभ्यासलाई पछ्याउँदै मतदान अधिकृतको अनुमति लिएर उनीहरूलाई मतदान केन्द्रसम्म ल्याउने र मतदान गराउने व्यवस्था मिलाइने उनको भनाई छ ।

मकवानपुरमा २ वटा अस्थायी मतदानस्थल

आसन्न निर्वाचनका लागि मकवानपुर जिल्लाभर १०२ वटा वडामा १६७ वटा मतदान स्थल र ३७४ वटा मतदान केन्द्र तोकिएका छन् । जिल्लामा कुल ३ लाख १५ हजार ३३४ मतदाता रहेका उनले बताए ।

मकवानपुरमा २ वटा अस्थायी मतदानस्थल राखिएको छ । भीमफेदी कारागार र जिल्ला प्रशासन कार्यालय मकवानपुरमा एक/एक वटा मतदानस्थल रहने ढकालले बताए । भीमफेदी कारागारमा महिला र पुरुष गरेर ९ सय ९५ जना कैदीबन्दी छन् । तर मतदाता नामावलीमा ७५ जनाको मात्र नाम रहेको छ । जसमा ३ जना महिला र ७२ जना पुरुष मतदाता रहेका छन् । अरू कैदीबन्दीहरुको मतदाता सूचीमा नाम नरहेको उनको भनाइ छ । 

अस्थायी मतदान केन्द्रबाहेक मकवानपुरमा १६७ वटा मतदानस्थल रहेका छन् । ती मध्ये सुरक्षाको दृष्टिकोणले १९ वटा मतदानस्थल अति संवेदनशीलको सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा संवेदनशीलताको आधारमा जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा रहेका मतदानस्थल अति संवेदनशीलको सूचीमा राखेको हो  ।

जिल्लाभर रहेका  १६७ मतदानस्थलमध्ये १९ वटा अति संवेदनशील, ६० वटा संवेदनशील र ८८ वटा सामान्य श्रेणीमा राखिएको छ । अति संवेदनशील सूचीमा परेका मतदानस्थलमा २६ मतदान केन्द्र रहेका छन् ।

सबैभन्दा धेरै बकैया गाउँपालिकामा ५ मतदान स्थल र ७ मतदान केन्द्र अति संवेदनशील रहेका छन् भने राक्सिराङ गाउँपालिकामा ६ मतदानस्थल र ६ मतदान केन्द्र, बागमती गाउँपालिकामा ५ मतदान स्थल र ६ मतदान केन्द्र, भीमफेदी गाउँपालिकामा १ मतदान स्थल र ३ मतदान केन्द्र, मनहरी गाउँपालिकामा १ मतदान स्थल र ३ मतदान केन्द्र तथा कैलाश गाउँपालिकामा १ मतदान स्थल र १ मतदान केन्द्र अति संवेदनशीलको सूचीमा जिल्ला सुरक्षा समिति मकवानपुरले राखेको छ ।

यसैगरी जिल्लामा ६० मतदानस्थल र १ सय २३ मतदान केन्द्र संवेदनशील सूचीमा राखिएका छन् । संवेदनशील मतदान स्थलहरूमा हेटौँडा उपमहानगरपालिकाका ७ मतदान स्थल र ३१ मतदान केन्द्र, थाहा नगरपालिकाका ९ मतदान स्थल र १७ मतदान केन्द्र, राक्सिराङ गाउँपालिकाका १३ मतदान स्थल र १७ मतदान केन्द्र, बकैया गाउँपालिकाका ८ मतदान स्थल र १५ मतदान केन्द्र तथा बागमती गाउँपालिकाका ७ मतदान स्थल र १७ मतदान केन्द्र रहेका छन् । 

यसैगरी मकवानपुरगढी गाउँपालिकाका ४ मतदान स्थल र ७ मतदान केन्द्र, इन्द्रसरोवर गाउँपालिकाका २ मतदान स्थल र २ मतदान केन्द्र, भीमफेदी गाउापालिकाका ४ मतदान स्थल र ४ मतदान केन्द्र, कैलाश गाउँपालिकाका ३ मतदान स्थल र ५ मतदान केन्द्र तथा मनहरी गाउँपालिकाका ३ मतदान स्थल र ८ मतदान केन्द्र पनि संवेदनशील सूचीमा परेका छन् । मकवानपुरका १६७ वटा मतदानस्थलमा ३७४ वटा मतदान केन्द्र रहेका छन् ।

मकवानपुर– १ नम्बर निर्वाचन क्षेत्रमा ६२ वटा मतदानस्थलमा १७८ वटा मतदान केन्द्र रहेका छन् । मतदाता १ लाख ५८ हजार ४३४ रहेको छ । यसैगरी मकवानपुर–२ नम्बर निर्वाचन क्षेत्रमा १०५ मतदानस्थलमा १९६ वटा मतदान केन्द्र रहेका छन् । मतदाता १ लाख ५६ हजार ८९९ रहेका छन् ।  २ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा ३ लाख १५ हजार ३३४ मतदाता छन् ।

४० उम्मेदवारले खोले बैंक खाता

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मकवानपुरमा उम्मेदवारी दर्ता गराएका मध्ये ४० जनाले बैंक खाता खोलेका छन् । दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा स्वतन्त्रसहित ४४ जनाले उम्मेदवारी दिएका मध्ये ४ जनाले खाता खोल्न बाँकी रहेको प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ ।

सहायक निर्वाचन ढकालका अनुसार ४४ जना उम्मेदवार मध्ये श्रम संस्कृति पार्टीका उम्मेदवार र एक जना स्वतन्त्र उम्मेदवारले सिफारिस नै लिन बाँकी रहेको छ । हालसम्म ४० जनाले खाता खोल्नु भएको र सबै उम्मेदवारलाई टेलिफोन गरी खाता खोल्न आग्रह गरिएको ढकालले बताए । मकवानपुर–१ मा २३ जना र मकवानपुर–२ मा २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सो मध्ये क्षेत्र नम्बर २ बाट श्रम संस्कृति पार्टीका उम्मेदवार युनिश लामा स्याङ्तान र स्वतन्त्र उम्मेदवार सितामाया बलले सिफारिस लिन बाँकी रहेको उनले बताए । भने, मकवानपुर–१ का स्वतन्त्र उम्मेदवार सुशीला सुवेदी र राकेश कुमार शर्माले बैंक खाता खोल्न बाँकी रहेको उनले बताए ।

‘हामीले बाँकी रहनु भएकालाई पनि खाता खोल्न भनेका छौँ । कतिपय उम्मेदवारले केन्द्रबाटै खर्च हुने भन्नु भएको र कतिपयले भने खाता खोल्ने प्रक्रियामा नै रहेको जवाफ दिनु भएको छ ।’ ढकालले भने ।

निर्वाचन आयोगले राजनीतिक दल एवं उम्मेदवारबाट हुने निर्वाचन प्रचारप्रसारका लागि प्राप्त हुने स्वैच्छिक आर्थिक सहयोगको रकम र त्यसको प्रचारप्रसारका लागि गर्ने खर्चलाई मितव्ययी, पारदर्शी बनाइ निर्वाचनमा सुशासन कायम गर्न बैकिङ खाता खोल्नुपर्ने प्रावधान ल्याएको हो।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप