सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

यी हुन् फिल्मका चर्चित होली गीत

सोमबार, १८ फागुन २०८२, १३ : २७
सोमबार, १८ फागुन २०८२

सारांश

  • यो लेखले नेपाली फिल्महरूमा होली पर्वको चित्रण र होली गीतहरूको लोकप्रियताको बारेमा चर्चा गर्दछ।
  • विभिन्न फिल्मका होली गीतहरू जस्तै 'आज जनकपुरमे होली है' र 'होलीले मेरो रङ्गायो नयाँ चोली' को चर्चा गरिएको छ।
  • यी गीतहरूले होलीको सांस्कृतिक महत्वलाई प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्छन्।

काठमाडौँ । होली अर्थात् फागु पूर्णिमा । रङ, उमङ्ग र आत्मीयताको महापर्व । वसन्त ऋतुको आगमनसँगै प्रकृतिले रङ बदल्छ र मानिसका मनहरू पनि खुसीले रङ्गिन्छन् । नेपाली फिल्म क्षेत्रले पनि सांस्कृतिक र मौलिक पर्वलाई पर्दामा निकै कलात्मक ढङ्गले प्रस्तुत गर्दै आएको छ ।

विगतका वर्षदेखि आजसम्म पनि फिल्महरूमा होलीको सन्दर्भ र रमाइला गीतहरू समावेश गर्ने परम्परा निकै लोभलाग्दो छ । नेपाली फिल्मका यी गीतहरूले केवल मनोरञ्जन मात्र दिँदैनन् । बरु हाम्रो संस्कृति र पर्वको महत्वलाई पनि जोगाएका छन् ।

यी गीतहरूको तालमा झुम्दै गर्दा होलीको रङ अझ गाढा र सम्बन्धहरू अझ प्रगाढ बन्ने विश्वास गरिँदै आएको छ । यहाँ चर्चा नेपाली फिल्मका ती चर्चित र लोकप्रिय होली गीतहरूको गर्दैछौ । जसले हरेक वर्षको होलीलाई अझ साङ्गीतिक र रङ्गिन बनाउँछ ।

‘आज जनकपुरमे होली है’

मिथिला क्षेत्र र जनकपुरको होलीको छुट्टै रौनक हुन्छ । फिल्म ‘सिता’ मा रहेको ‘आज जनकपुरमे होली है’ गीतले जनकपुरको त्यही साङ्गीतिक परम्परालाई समेटेको छ । स्वर्गीय कलाकार श्रीकृष्ण श्रेष्ठका कथामा सारङ्गा श्रेष्ठ, राजाराम पौडेल र किरण केसीको अभिनय छ । विसं २०५१ सालमा प्रदर्शनमा आएको फिल्मको यो गीत अहिले पनि तराईदेखि पहाडसम्म उत्तिकै गुञ्जने गर्छ ।

‘होलीले मेरो रङ्गायो नयाँ चोली’

नेपाली फिल्म इतिहासकै सबैभन्दा लोकप्रिय र ‘एभरग्रिन’ होली गीतको रुपमा यसलाई लिइन्छ । सन् १९९३ मा बनेको फिल्म ‘अधिकार’ मा समावेश यो गीत हरेक वर्षको होलीमा धेरै प्रयोग हुने गीत पनि हो । राजेश हमाल, कृष्टि मैनाली र मिथिला शर्माको अभिनय रहेको यस गीतमा उदित नारायण झा, दीपा झा, प्रकाश श्रेष्ठ र पूर्णिमा श्रेष्ठको स्वर छ । यो गीतलाई हरेक पुस्ताले उतिकै रुचाएको पाइन्छ । 

‘होली रे ’ 

‘होली रे’ आधुनिक पुस्तामाझ निकै लोकप्रिय मानिएको यो गीत विसं २०७४ मा प्रदर्शित फिल्म ‘बटरफ्लाई’ मा समावेश छ । ओम प्रतीक निर्देशित फिल्मको गीतमा अभिनेत्री प्रियङ्का कार्की र आर्यन अधिकारीको ऊर्जावान् अभिनय देख्न सकिन्छ । प्रमोद ढुङ्गानाको शब्द र विकास चौधरीको सङ्गीत रहेको गीतमा राजेश पायल राई र माण्डवी त्रिपाठीले स्वर दिएका छन् । हरेक वर्षको होलीमा युवाहरूले यो गीत बजाएर होली खेलेको देख्न सकिन्छ ।

‘फागु हो फागु हो’ (फिल्म– वसन्ती) 

ऐतिहासिक पृष्ठभूमिमा आधारित फिल्म ‘वसन्ती’ (सन् २०००) को यो गीतले राणाकालीन समयमा दरबारभित्र मनाइने होलीको एउटा झलक दिन्छ । प्रख्यात उपन्यासकार डायमण्ड शमशेर राणाको उपन्यासमा आधारित यस फिल्मलाई नीर शाहले निर्देशन गरेका हुन् । गीतमा राजेश हमाल, करिश्मा मानन्धर र निरुता सिंहको शास्त्रीय र मौलिक नृत्य देख्न सकिन्छ । नीर शाहकै शब्द, शम्भुजित बाँस्कोटाको सङ्गीत र ज्ञानु राणा तथा लोचन भट्टराईको सुमधुर स्वरले यो गीतलाई ओजपूर्ण बनाएको छ ।

‘होरीमे गोरी’ (फिल्म– संरक्षण)

तराईको होलीको असली ’फ्लेभर’ दिने गीत हो— ‘होरीमे गोरी’ । पुर्णेन्द्र झा निर्देशित फिल्म ‘संरक्षण’मा समावेश यो गीतमा भोजपुरी शब्दहरूको मिठास छ, जसले तराई क्षेत्रको होलीलाई प्रतिनिधित्व गर्छ । धिरेन्द्र प्रेमर्षीको शब्द र प्रवेश मल्लिकको स्वर तथा सङ्गीत रहेको यो गीतमा सौगात मल्ल र अशिष्मा नकर्मीको दमदार नृत्य देख्न सकिन्छ ।

‘आऊ न आऊ खेलौँ होली’ –फिल्म– फागु) 

अभिनेत्री करिश्मा मानन्धरले निर्माण गरेको फिल्म ‘फागु’ मा रहेको यो गीत होलीका लागि एक उत्कृष्ट निमन्त्रणा जस्तै लाग्छ । दयाराम पाण्डेको शब्द र वसन्त सापकोटाको सङ्गीत रहेको यस गीतमा शिल्पा पोखरेल र सुवास पराजुलीको अभिनय छ । मिना निरौला, मनोज महतो र रञ्जित कुमार सहानीको सामूहिक स्वरले गीतमा उत्सवको झल्को दिन्छ ।

‘रंग रंगा’ (फिल्मः गाजलु) 

नेपाली फिल्मका ’चकलेटी हिरो’ अनमोल केसी अभिनीत फिल्म ‘गाजलु’  को यो गीत युवा पुस्ताको रोजाइमा पर्ने गर्छ । जैन जेको शब्द तथा सङ्गीत र शिवानी मोक्तानको स्वर रहेको यो गीतमा अनमोल केसीका साथै सृष्टि श्रेष्ठ, गौरव पहारी, मेनुका प्रधान र सलोन बस्नेतको टोलीले रमाइलो गरेको देखिन्छ । हेमराज विसीद्वारा निर्देशित यस फिल्मको गीतले होलीको आधुनिक रौनकलाई प्रस्तुत गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप