मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

सन्तानका लागि राम्रो होस् भन्दै मतदान गर्दै सुदूरपश्चिमका ज्येष्ठ नागरिक

बिहीबार, २१ फागुन २०८२, १५ : २९
बिहीबार, २१ फागुन २०८२

सारांश

  • सुदूरपश्चिमका १६ वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान भइरहेको छ।
  • ७०, ८० र ९० वर्ष नाघेका ज्येष्ठ नागरिकहरू मतदानमा उत्साहका साथ सहभागी भएका छन्।
  • मतदानमा सहभागी ज्येष्ठ नागरिकहरूले छोराछोरीको राम्रो भविष्य र देशको विकासको कामना गरेका छन्।

धनगढी । सुदूरपश्चिमका १६ वटै निर्वाचन क्षेत्रमा अहिले उत्साहपूर्ण एवं शान्त वातावरणमा मतदान जारी छ । मतदान केन्द्रका लाइनहरूमा ७०, ८०, ९० वर्ष नाघेका ज्येष्ठ नागरिकहरूको पनि उपस्थिति देखिएको छ ।

यी जेष्ठ नागरिकहरू कोही आफैँ लौरो टेक्दै त कोही परिवारका सदस्यको सहारामा मतदान स्थलसम्म पुगिरहेका छन् । शारीरिक कमजोरीका बाबजुद उनीहरूमा भोट हाल्ने जोस भने युवाको जस्तै देखिएको छ । मतदान स्थलमा भेटिएका जेष्ठ नागरिकहरूले ‘हाम्रो  दिन त गइगया, अब हाम्रो छोराछोरीको भविष्य राम्रो होस्, देश विकास होस’ भनिरहेका छन् ।

धनगढीकी ७० वर्षीया सुभद्रा चौलागाईं पनि भोट हाल्न लाइनमा थिइन्। उनले आफ्नो जीवनकालमा धेरै पटक भोट हालिन्। युवा अवस्थादेखि अहिलेसम्मका धेरै निर्वाचनमा सहभागी भएकी सुभद्राले यस पटक भने आफ्नो मत परिवर्तन गरेको बताइन् ।

‘मैले यसपालि नयाँ काम गर्नेलाई भोट दिएकी छु। हाम्रो दिन त यसै गयो, अब हाम्रा सन्तान र नातिनातिनीहरूको दिन राम्रो होस् भनेर बुझेरै मतदान गरेकी हुँ ।’

त्यस्तै ९० वर्षीया सुजता जोशीलाई उनका छोराले बोकेर मतदान केन्द्रसम्म ल्याएका थिए। हिँडडुल गर्न नसके पनि देशमा विकास होस् भन्ने उनको ठुलो चाहना छ । 

‘हाम्रा छोराछोरीका दिन राम्रो हुन्, गाउँ ठाउँमा विकास होस् भनेर भोट हाल्न आएँ,’सुजताले भनिन् । सुदूरपश्चिमका विभिन्न मतदान स्थलमा भेटिएका अधिकांश ज्येष्ठ नागरिकहरूको भनाई यस्तै छ। काम गर्ने उम्मेदवारलाई भोट दिएको उनीहरुले बताएका छन् ।

matadata (1)matadata (2)matadata (3)matadata (4)matadata (5)matadata (6)matadata (7)matadata (8)matadata (9)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप