कर्णालीका ९ क्षेत्रमा नेकपा–कांग्रेस बराबर, एमाले कमजोर
सारांश
- कर्णालीका ९ निर्वाचन क्षेत्रको मतगणना भइरहेको छ, जसमा केही क्षेत्रमा कांग्रेस र नेकपाले अग्रता लिएका छन्।
- सुर्खेत-२ मा रास्वपाले कांग्रेस र एमालेलाई पछि पार्दै अग्रता लिएको छ, जुन एमालेको गढ मानिन्थ्यो।
- जाजरकोटमा पूर्व गृहमन्त्री शक्ति बस्नेत तेस्रो स्थानमा छन् भने रुकुम पश्चिममा 'प्रभाकर' को प्रभाव कायमै छ।
सुर्खेत । १० जिल्ला र १२ वटा निर्वाचन क्षेत्र रहेको कर्णालीका ९ वटा निर्वाचन क्षेत्रका नजिताहरू धमाधम आइरहेका छन् ।
हिमाली जिल्लामा भर्खरै मतगणना सुरु भएको छ ।
बाँकी ७ जिल्लाका ९ वटा निर्वाचन क्षेत्रहरूमा बिहानैदेखि मतगणना भइरहेका छन् । कालिकोटमा सबैभन्दा पहिले शुक्रबार बिहानैदेखि मतगणना सुरु भएको थियो । यस्तै रुकुमपश्चिम, सल्यान र जाजरकोटमा दिउँसोबाट मात्रै मतगणनाको काम भयो भने जुम्ला, सुर्खेत, दैलेखमा मध्यान्हअघि नै मतगणना सुरु भयो ।
गणनाको अवस्था हेर्दा निकै ढिलोगरि भएको छ । हरेक निर्वाचन क्षेत्रको अवस्था हेर्दा अहिलेसम्म खसेको मतको ७० प्रतिशत पनि गणना भएको पाइँदैन । ९ वटा प्रतिनिधि सभा क्षेत्रमा यो समाचार तयार पार्दासम्म आएका परिणाम तथा विवरण अनुसार, सुर्खेत–१, दैलेख–१ र जाजरकोट गरी ३ वटा क्षेत्रमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सल्यान र कालिकोटमा अग्रता बनाएको छ भने जुम्लामा राप्रपाले । यस्तै, नेकपा एमालेले दैलेख–२ मा मात्रै लिड गर्न सकेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुर्खेत–२ मा अग्रसता बनाएको छ ।
रुकुम पश्चिममा प्रलोपाले लिड गरिरहेको छ ।
रास्वपाको जबरजस्त उपस्थिति
कर्णाली परम्परागत राजनीतिक दलहरूको केन्द्र हो । तर यो पटकको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जबरजस्त उपस्थिति जनाइरहेको छ । ९ क्षेत्रमध्ये सुर्खेत–२ मा कांग्रेस–एमालेलाई अचम्मित पार्दै रास्वपाले जबरजस्त अग्रता लिइरहेको छ ।
मतगणनाको सुरुमा नेपाली कांग्रेस र त्यसपछि नेकपा एमालेले यहाँ अग्रसरता कायम गरेका थिए । तर पछिल्लो ३ घण्टादेखि भने रास्वपाका रमेशकुमार सापकोटाले कांग्रेस–एमालेलाई अचम्मित पार्दै लिड गरिरहेका छन् ।
मुख्य निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार १३ हजार ७४३ मतगणना गर्दा सापकोटाले ४ हजार २५४ मत पाएका छन् । एमालेका कुलमणि देवकोटाले ३ हजार ३४२ मतसहित दोस्रो, ३ हजार ३३३ मतसहित कांग्रेसका नारायण कोइराला तेस्रो नम्बरमा छन् ।
यहाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का झकबहादुर मल्लले १ हजार ५४३ मत पाएका छन् भने अन्य साना राजनीतिक दलहरूले ५ सय मत कटाउन सकेका छैनन् । रोचक पक्ष के छ भने एमाले–कांग्रेसको बलियो किल्ला मानिएको यो क्षेत्रमा उक्त दलहरूले रास्वपालाई प्रतिस्पर्धी नै मानेका थिएनन् ।
वीरेन्द्रनगरको सिटी हलमा मतगणना स्थल बाहिर रहेका एक एमाले समर्थकले भने–अचम्मित तरिकाले रास्वपाको मत आयो । हालसम्मको गणना अनुसार, कांग्रेसकै सबैभन्दा धेरै मत रहेको पञ्चपुरी नगरपालिकाका धेरै जसो वडामा रास्वपाको मत अगाडी देखियो ।
एमाले उम्मेदवार देवकोटाले राजधानी वीरेन्द्रनगर आएपछि एमालेले लिड गर्ने बताइरहेका छन् । तर, सहरीया क्षेत्रमा मतगणना हुँदा रास्वपाले अझ मतान्तर बढाउने आकलन गरिएको छ । रास्वपाका उम्मेदवार सापकोटा पूर्वकांग्रेसी नै हुन् ।
त्यस्तै दैलेख–१, सल्यान र सुर्खेत–१ मा दोस्रोका लागि प्रतिस्पर्धामा छ ।
शक्ति बस्नेत पछि, ‘प्रभाकर’को प्रभाव कायमै
जाजरकोटमा पूर्व गृहमन्त्री शक्ति बस्नेत तेस्रो नम्बरमा छन् । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार बस्नेतलाई कांग्रेसका उम्मेदवार खड्कबहादुर बुढा ५ हजार ४३७ सहित पहिलो नम्बरमा मत पाएका छन् भने एमाले उम्मेदवार डम्बर सिंहले ५ हजार ४१८ सहित दोस्रो र नेकपाका बस्नेतले ३ हजार ७८८ मत पाए । यहाँ रास्वपा चौथौ नम्बरमा छ ।
यद्यपि उता रुकुम पश्चिममा भने प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का जनार्दन शर्मा ‘प्रभाकर’ को प्रभाव कायमै रहेको पाइएको छ । उनले यहाँ सुरुदेखि नै अग्रता लिइरहेका छन् ।
८ हजार ३४५ मत गणना गर्दा प्रलोपाका शर्माले २ हजार ८३८, नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्माले २ हजार २७३, कांग्रेसका राजु केसीले १ हजार ६७१ र रास्वपाले ५३२ मत पाएको छ । रुकुम पश्चिममा प्रतिष्ठानको लडाइँ छ । प्रभाकर एकतामा सहभागी नभएर छुट्टै पार्टी गठन गरेपछि प्रचण्ड र उनीबिच प्रतिष्ठाको लडाइँ भएको हो । प्रचण्डले जनार्दनकै चेला गोपाललाई आफुसँग तानेर नेकपाबाट चुनाव लडाइरहेका छन् ।
सुर्खेत–१ र दैलेख–१ मा कांग्रेसको निरन्तर अग्रता
सुर्खेत–१ र दैलेख–१ मा कांग्रेसले आफ्नो निरन्तरतालाई उछिन्न दिएको छैन । सुरुवातदेखि नै यहाँ कांग्रेसले लिड गरिरहेको छ । पछिल्लो मतपरिणाम अनुसार, दैलेख–१ मा २८ हजार २२२ मत गणना गर्दा कांग्रेसकी बासना थापाले ९ हजार ५० सहित लिड गरिरहेकी छिन् भने एमालेका रविन्द्र शर्माले ८ हजार ३३९ मतसहित दोस्रोमा सीमित छन् ।
यसअघि रास्वपाका नन्दकिशोर बस्नेतले उछिनेका थिए, उनलाई । पुनः उनले दोस्रो स्थान ओगटेका छन् । बस्नेतले ६ हजार ९७ मत पाएका छन् । नेपाली कम्युनिस्ट पार्टीका र्चित नेता अम्मर थापा भने २ हजार २९३ सय मतसहित चौथोमै सीमित छन् ।
यता सुर्खेत–१ मा कांग्रेसका विष्णुकुमार खड्का २ हजार मतान्तरले अघि छन् । पछिल्लो नतिजा अनुसार, खड्काले ६ हजार ९२३ मत पाएका छन् भने एमालेका ध्रुवकुमार शाहीले ४ हजार ९०१ मतसहित दोस्रो र तेस्रोमा रास्वपाका टेकबहादुर सिंहले ४ हजार २५१ मत पाएका छन् ।
यहाँ नेकपा चौथोमा सीमित छ । यहाँ हालसम्म १७ हजार ८५७ मत गणना भएको छ, ६६८ मत बदर छ ।
एमालेको कमजोर प्रदर्शन
हालसम्मको नजिता अनुसार, कर्णालीमा एमालेको कमजोर प्रदर्शन देखिएको छ । आफुलाई पहिलो शक्तिका रुपमा दाबी गर्दै आएको यो दलले आशा गरिएकै क्षेत्रमा कमजोर प्रदर्शन गरेको छ । एमालेले सुर्खेत र दैलेखका गरी ४ वटै क्षेत्रमा आफ्नो जित निकाल्ने दाबी गर्छ ।
दैलेख–२ मा मात्रै अहिलेसम्म लिड गर्न सकेको छ, त्यहाँ उक्त दलबाट लक्ष्मीप्रसाद पोखरेलले २ हजार ७९९ मतसहित अगाडी छन् । कांग्रेसका दिक्पाल शाहीले २ हजार २२९, रास्वपा बखत शाहीले ७८० र नेकपाका योगेन्द्र शाहीले ५८४ मत पाएका छन् ।
यहाँ धेरै मत बदर भएको पाइएको छ । ७ हजार ७३२ मतगण्ना हुँदा ६२५ मत बदर भएका छन् ।
सल्यान र कालिकोटमा नेकपा र जुम्लामा राप्रपा
सल्यानमा ८ हजार ८६६ मत गणना गर्दा नेकपाका रमेश मल्ल ३ हजार ५९८ मतसहित निरन्तर अगाडि छन् ।
यहाँ आश्चर्य जनक रुपमा रास्वपाका ललितकुमार चन्दले एमाले र कांग्रेसलाई पछि पारेका छन् । उनले १ हजार ६६२ मत पाउँदा कांग्रेसका केशबहादुर विष्टले १ हजार ४८२ र एमालेका गुलाबजंग शाहले १ हजार ७५ मत पाएका छन् ।
कालिकोटमा नेकपाका उम्मेदवार पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही जितउन्मुख देखिएका छन् । उनले १० हजार २८८ मत पाउँदा एमालेका नगीन्द्र शाहीले ९ हजार ६१६ मत पाएका छन् । यहाँ नेपाली कांग्रेस तेस्रो स्थानमा छन् भने विप्लप माओवादीका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’चौथो नम्बरमा छन् ।
यहाँ चर्चा प्रकाण्ड र महेन्द्रको थियो । दुई पूर्व सहकर्मीबिच प्रतिष्ठाको लडाइँ हुने भनिएको कालिकोटमा प्रकाण्ड महेन्द्रको प्रतिस्पर्धामै आउन सकेनन् ।
उता जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले निरन्तर दोब्बर मतान्तरले लिड गरिरहेका छन् । उनलाई नेकपाका नरेश भण्डारीले पछ्याउने प्रयास गरे पनि सकिरहेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण