बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
राजनीति

बदलिएको कांग्रेसले किन बदल्न सकेन जनमत ?

रोकियो गगनको गति
आइतबार, २४ फागुन २०८२, १७ : ००
आइतबार, २४ फागुन २०८२

सारांश

  • जेनजी आन्दोलनपछि कांग्रेसमा नेतृत्व परिवर्तनको बहस सुरु भयो, जसले विशेष महाधिवेशनको माग गर्यो।
  • विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भए पनि कांग्रेसले निर्वाचनमा अपेक्षित नतिजा ल्याउन सकेन।
  • निर्वाचनमा कांग्रेसको हारपछि, पार्टीभित्रको एकताको कमी र पुराना नेताहरूको बेवास्तालाई कारकको रूपमा औंल्याइयो।

काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गगन थापाले भनेका थिए, ‘नागरिकले सुशासन खोजेका छन्, नेतृत्व परिवर्तन खोजेका छन् । पुरानै सभापतिबाट निर्वाचनमा जान सकिन्न । सके नियमित महाधिवेशन, सम्भव नभए विशेष महाधिवेशन गरेर भए पनि नेतृत्व परिवर्तन गरेर प्रतिनिधि सभा निर्वाचनमा पार्टी जानुपर्छ/जान्छ ।’

यो विषयमा कांग्रेसमा व्यापक बहस भयो । १४औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा र उनका निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा नियमित र विशेष महाधिवेशन हुने सम्भावना नभएको बताए । तर, थापा र तत्कालीन अर्का महामन्त्री विश्वप्रकाश शर्माले उनीहरूको भनाइलाई ‘इग्नोर’ गर्दै सके नियमित महाधिवेशन, नसके विशेष महाधिवेशन भन्ने अडानलाई बढाउँदै लगे ।

गत असोज २८ गते कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्यो । आन्दोलनका क्रममा भदौ २४ गते आफ्नै निवास बूढानीलकण्ठमा मरणासन्न हुनेगरी भएको कुटपिटबाट घाइते भएका सभापति देउवाले बैठकको सुरुवातमै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए ।

खड्काले कार्यवाहक पाएको अर्कोदिन असोज २९ गते थापा र शर्माको अगुवाइमा विशेष महाधिवेशन माग गर्दै २ हजार ४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाइयो । कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खोलेर माग गरेको ९० दिनभित्र केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।

तर, केन्द्रीय कार्यसमितिले नबोलाएपछि थापा र शर्माको अगुवाइमा पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गरियो । त्यो विशेष महाधिवेशनलाई देउवा र डा. कोइराला समूहले स्वीकार गरेनन् । विशेष महाधिवेशन अवैधानिक भन्दै देउवा र कोइराला समूहले दायर गरेको रिट अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ र फागुन २७ गते पेसी तोकिएको छ ।

विशेष महाधिवेशनबाट थापाको सभापतित्वमा नयाँ कार्यसमिति चयन भयो, जसमा शर्मा उपसभापति चुनिए ।

विशेष महाधिवेशनका बेलामा थापाले भनेका थिए, ‘देउवाले चुनाव प्रचारप्रसारका क्रममा ५ पाइला चाले पनि पार्टी र उम्मेदवारको मत घट्छ ।’ त्यो सुनेका देउवा न आफू निर्वाचनमा उम्मेदवार भए, न प्रचारप्रसारका लागि हिँडे । मतदानका लागि गृहजिल्ला डडेलधुरासमेत उनी गएनन् । उनी अहिले उपचारका लागि सिंगापुरमा छन् ।

gagan thapa

नीति र नेतृत्व बदलिएर नयाँ बनेको कांग्रेसले निर्वाचनमा बहार ल्याउने सभापति थापा र उपसभापति शर्माले बताउँदै आएका थिए । ‘अब की बार १०० पार’ भन्ने नारा नै लाउन निर्वाचन प्रचारप्रसारका क्रममा थापाले भनेका थिए ।   

तर, विशेष महाधिवेशनबाट नीति र नेतृत्व परिवर्तन गरी निर्वाचनमा होमिएको कांग्रेसले टिकट दिएर उम्मेदवार बनाएकाहरूले निर्वाचन जित्न सकेनन् । ०७९ को निर्वाचनमा प्रतिनिधि सभामा ५७ प्रत्यक्षतर्फ जितेको कांग्रेसका अहिले १७ उम्मेदवारमात्र प्रत्यक्षतर्फ निर्वाचित भएका छन् । मतगणना बाँकी रहेका स्थानमा कांग्रेसको अग्रता देखिँदैन ।

यसरी हेर्दा जेनजी विद्रोहपछि विशेष महाधिवेशनमार्फत नीति र नेतृत्वमा परिवर्तन गर्दै चुनावमा होमिएको कांग्रेसलाई जनताले पत्याएनन् भन्न सकिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीको बहार आएको यो निर्वाचनमा कांग्रेसले ठुलो धक्का बेहोर्‍यो ।

०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ सिट जित्दै ८८ सिटसहितसबैभन्दा ठुलो दल बनेको कांग्रेस अहिले ठुलो अन्तरका साथ दोस्रो स्थानमा खुम्चिएको छ ।

विशेष महाधिवेशनबाट सभापति चुनिएका थापा सर्लाही–४ मा डा. अमरेशकुमार सिंहसँग पराजित भए । निर्वाचनमा पराजित भएपछि निर्वाचन परिचालन समितिको संयोजकसमेत रहेका उपसभापति विश्वप्रकाश शर्माले भिडियो सन्देश जारी गर्दै निर्वाचनको परिणाम पार्टीका लागि अनुकूल नभएको बताए । उनले भनेका छन्, ‘निर्वाचन परिणाम कांग्रेसको अनुकूल भएन । यो अनपेक्षित वा अप्रत्याशित भने होइन । चाँडै केन्द्रीय कार्यसमिति बैठक बसेर समीक्षा गर्नेछौँ । विशेष महाधिवेशनमार्फत नीति र नेतृत्व परिवर्तन गरिए पनि चुनाव हुनुअघि करिब ५० दिन मात्रै समय भएकाले मतदातासम्म नयाँ सन्देश प्रभावकारी रूपमा पुर्‍याउन नसक्दा पनि निर्वाचन परिणाममा असर पर्‍यो ।’

कांग्रेस प्रवक्ता देवराज चालिसेले सुनामीको मारमा परिएको प्रतिक्रिया दिए । ‘छाल आउँदा केही बाँकी रहन्छ, तर सुनामी नै आयो । त्यसको मारमा हामी पर्‍यौँ,’ प्रवक्ता चालिसेले रातोपाटीसँग भने ।

शर्माले पार्टीको पराजयका कारण आन्तरिक कमजोरी र बाह्य परिस्थितिसमेत रहेको पनि भिडियो सन्देशमा दाबी गरेका छन् ।

मुख्यगरी पुरानो संस्थापनलाई निर्वाचनअघि विशेष महाधिवेशनबाट आएको नेतृत्वले वास्ता गरेन । नयाँ नेतृत्वले वास्ता नगरेपछि पुराना नेताहरू उनीहरूको पछि लाग्न आवश्यक ठानेनन् । निवर्तमान सभापति देउवा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू प्रकाशमान सिंह, डा. शशांक कोइराला, डा. आरजु राणा देउवा प्रचारप्रसारमै गएनन् ।

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आए पनि पार्टीको ठुलो पङ्क्ति देउवा र डा. कोइरालासँगै थियो । त्यो पङ्क्ति निर्वाचनमा नलागी मौन बस्यो, जसको प्रभाव कांग्रेसका उम्मेदवारलाई परेको देखिन्छ ।

निर्वाचनको केही दिन अगाडि रातोपाटीसँग कुरा गर्दै पार्टी प्रवक्ता चालिसेले भनेका थिए, ‘हामीलाई बाहिरभन्दा पार्टीभित्रै मिलाउन गाह्रो भइरहेको छ । पार्टीभित्र मिलाउन सक्यौँ भने राम्रो सिट जित्छौँ ।’ अहिलेको नतिजाले पार्टी मिलाउन उनीहरू असफल भएको देखिन्छ ।

देउवा समूहका एक नेताले नयाँ नेतृत्वले जनमत भएका पुराना नेताहरूलाई बेवास्ता गर्दा यो अवस्था आएको बताउँछन् । ती नेताले रातोपाटीसँग भने, ‘अरु जनमत भएका नेताहरूलाई मिलाउने जिम्मा नेतृत्वको हो । उहाँहरूले मिलाउन सक्नुभएन । त्यसको असर निर्वाचनमा पर्‍यो ।’

कांग्रेसले यस्तो अप्रत्याशित नतिजा यसअघिका निर्वाचनमा पनि झेल्दै आएको थियो । २०१५ सालमा भएको निर्वाचनमा प्रतिनिधि सभाका १०८ सिटमध्ये ७५ सिट जितेको कांग्रेसले जनआन्दोलन सफल भएपछि २०४८ सालमा सम्पन्न दोस्रो प्रतिनिधि सभाका २०५ सिटमध्ये ११० सिटसहित बहुमत ल्यायो । ०५१ मा भएको मध्यावधि निर्वाचनमा कांग्रेस ८३ सिटमात्रै जित्दै दोस्रो भयो भने ०५६ मा भएको निर्वाचनमा कांग्रेसले बहुमत प्राप्त गर्‍यो । ०५६ सालको निर्वाचनमा १११ सिटसहित कांग्रेसले बहुमत पाएको थियो ।

२०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा कांग्रेसले फेरि अप्रत्याशित हार बेहोर्‍यो । प्रत्यक्ष र समानुपातिक गरी ६०१ सिटमध्ये प्रत्यक्ष र समानुपातिक जोड्दा ११० सिट जितेर कांग्रेस दोस्रोमा सीमित भयो । ०७० को दोस्रो संविधान सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरी १९६ मत ल्याएर पुनः पहिलो पार्टी बन्यो ।

२०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा २७५ सिटमध्ये कांग्रेसले ६३ सिटमात्रै ल्यायो । ०७९ को चुनावमा कांग्रेस ८८ सिट जितेर पहिलो भएको कांग्रेस अहिले फेरि दोस्रोमा खुम्चिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप