सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
टी-२० विश्वकप

टी-२० विश्वकप २०२६ : टिम अफ द टुर्नामेन्ट घोषणा, को-को परे ?

मङ्गलबार, २६ फागुन २०८२, १० : ३३
मङ्गलबार, २६ फागुन २०८२

सारांश

  • भारतले न्युजिल्यान्डलाई हराएर टी-२० विश्वकप २०२६ को उपाधि जित्यो र लगातार दुई पटक उपाधि जित्ने पहिलो टोली बन्यो।
  • आईसीसीले प्रतियोगिताकै उत्कृष्ट खेलाडीहरूको टोली घोषणा गर्‍यो, जसमा विभिन्न देशका खेलाडीहरू समावेश छन्।
  • साहिबजादा फरहान, सञ्जु सामसन, इशान किशन, एडन मार्करम, हार्दिक पाण्ड्या लगायतका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे।

काठमाडौँ । साबिक विजेता भारतले आइतबार अहमदाबादमा भएको आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को फाइनलमा न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै लगातार दुई पटक उपाधि जित्ने पहिलो टोली बन्ने इतिहास रचेको छ।

घरेलु मैदानमा भएको विश्वकपमा भारतको पूरै दबदबा रहे पनि एक महिना लामो यस प्रतियोगितामा थुप्रै खेलाडीहरूले आफ्नो उत्कृष्ट प्रदर्शनबाट विश्वको ध्यान तानेका थिए। तिनै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेटेर आईसीसीले प्रतियोगिताकै उत्कृष्ट टोली घोषणा गरेको छ।

वेस्ट इन्डिजका लिजेन्ड इयान बिसप, इंग्ल्यान्डका पूर्व कप्तान इओन मोर्गन, प्रशिक्षकबाट कमेन्टेटर बनेकी नटाली जर्मानोस, आईसीसीका प्रतिनिधि गौरव सक्सेना र श्रीलंकाका वरिष्ठ खेल पत्रकार रेक्स क्लेमेन्टाइन सम्मिलित छनोट समितिले यो टोली छनोट गरेको हो।

उत्कृष्ट टोलीमा परेका खेलाडीहरू र उनीहरूको प्रदर्शन यस प्रकार छ:

साहिबजादा फरहान (पाकिस्तान)

(७ खेल, ३८३ रन, ७६.६० औसत, १६०.२५ स्ट्राइक रेट)

यस प्रतियोगितामा पाकिस्तानको प्रदर्शन उतारचढावपूर्ण रहे पनि साहिबजादा फरहान भने लगातार फर्ममा रहे। पाकिस्तान 'सुपर एट'बाटै बाहिरिए पनि ७ खेलमा उनले बनाएको ३८३ रन टी-२० विश्वकपको एउटै संस्करणमा कुनै पनि ब्याटरले बनाएको सर्वाधिक रन हो। २९ वर्षीय ओपनर टी-२० विश्वकपको एउटै संस्करणमा दुईवटा शतक प्रहार गर्ने पहिलो ब्याटर पनि बने। सुपर एटको अन्तिम खेलमा श्रीलंकाविरुद्ध शतक प्रहार गर्दै टोलीलाई ५ रनको रोमाञ्चक जित दिलाउनु उनको मुख्य आकर्षण थियो।

सञ्जु सामसन (विकेटकिपर, भारत)

(५ खेल, ३२१ रन, ८०.२५ औसत, १९९.३७ स्ट्राइक रेट)

भारतलाई सानदार जित दिलाउन सञ्जु सामसनको भूमिका निकै महत्त्वपूर्ण रह्यो र उनी 'प्लेयर अफ द टुर्नामेन्ट' समेत घोषित भए। सुरुवातमा स्टार खेलाडीले भरिएको भारतीय टोलीको प्लेइङ-११ मा पर्न नसके पनि प्रतियोगिताको निर्णायक मोडमा उनले उत्कृष्ट पुनरागमन गरे। दायाँहाते ब्याटर सामसनले सुपर एटको अन्तिम तथा 'गर या मर'को खेलमा वेस्ट इन्डिजविरुद्ध अविजित ९७ रन बनाएर आफ्नो लय समातेका थिए। त्यसपछि उनले सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध ८९ र फाइनलमा न्युजिल्यान्डविरुद्ध पनि ८९ रनकै सानदार पारि खेले। उनी फाइनल र सेमिफाइनल दुवैमा अर्धशतक प्रहार गर्ने तेस्रो र लगातार तीन खेलमा ८० भन्दा बढी रन बनाउने दोस्रो ब्याटर बने।

इशान किशन (भारत)

(९ खेल, ३१७ रन, ३५.२२ औसत, १९३.२९ स्ट्राइक रेट)

इशान किशनले ओपनिङमा लगातार आक्रामक ब्याटिङ गर्दै गहिरो प्रभाव छाडे। उनका तीन अर्धशतक विशेष रहे, साथै यस बायाँहाते ब्याटरले जिम्बाब्वेविरुद्ध ३८ र इंग्ल्यान्डविरुद्ध ३९ रनको महत्त्वपूर्ण र आक्रामक योगदान दिए। उनको उत्कृष्ट प्रदर्शन चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध आयो। भारतले सुरुवातमा विकेट गुमाएको अवस्थामा किशनले ४० बलमा १० चौका र ३ छक्काको मद्दतले ७७ रनको सानदार पारि खेले। पछिल्लो दुई वर्ष मैदानबाहिर रहेका उनको पुनरागमन यात्रा फाइनलमा ५४ रनको योगदान र दुई महत्त्वपूर्ण क्याचसँगै पूर्ण भयो।

एडन मार्करम (कप्तान, दक्षिण अफ्रिका)

(८ खेल, २८६ रन, ४७.६६ औसत, १६५.३१ स्ट्राइक रेट)

एडन मार्करमको कप्तानीमा दक्षिण अफ्रिकाले प्रतियोगिताका सुरुवाती ७ खेल लगातार जित्यो। जिम्मेवारी लिन कहिल्यै पछि नपर्ने उनले ओपनिङ गर्दै तीन अर्धशतक प्रहार गरे। उनी अहमदाबादमा विशेष प्रभावशाली देखिए, जहाँ उनले समूह चरणमा न्युजिल्यान्डविरुद्ध अविजित ८६ र सुपर एटमा वेस्ट इन्डिजविरुद्ध अविजित ८२ रन बनाए। भारतविरुद्धको खेलमा मार्करमले बलिङमा पनि अग्रसरता लिँदै पहिलो ओभरमै इशान किशनको विकेट लिएर टोलीलाई ब्रेकथ्रु दिलाए। टोली सेमिफाइनलबाट बाहिरिए पनि प्रतिभावान दक्षिण अफ्रिकी बलिङ लाइनअपलाई उनले जसरी सम्हाले र समर्थन गरे, त्यो निकै तारिफयोग्य थियो।

हार्दिक पाण्ड्या (भारत)

(९ खेल, २१७ रन, १६०.७४ स्ट्राइक रेट, ९ विकेट)

ब्याट र बल दुवैबाट खेलको नतिजा बदल्न सक्ने क्षमताका कारण हार्दिक पाण्ड्या पछिल्ला केही वर्षयता भारतीय टोलीको सफलताको मुख्य कडी बनेका छन्। उनले टी-२० विश्वकपमा पनि त्यो लय कायम राख्दै २१७ रन बनाए र ९ विकेट लिए। पाण्ड्याले दुई अर्धशतक प्रहार गरे, जसमध्ये जिम्बाब्वेविरुद्ध २३ बलमा बनाएको ५० रनको आँधीबेहरी पारि निकै महत्त्वपूर्ण थियो। जसको मद्दतले भारतले २५६/४ को विशाल योगफल बनायो, जुन प्रतियोगिताको इतिहासकै दोस्रो उच्च स्कोर हो। बलिङतर्फ पाकिस्तानविरुद्ध ३ ओभरमा १६ रन दिएर २ विकेट लिनु उनको उत्कृष्ट प्रदर्शन रह्यो। ओपनिङ बलिङ गर्दै उनले पाकिस्तानका प्रमुख ब्याटर फरहानलाई शून्यमा र उस्मान तारिकलाई बोल्ड गरेका थिए।

विल ज्याक्स (इंग्ल्यान्ड)

(८ खेल, २२६ रन, १७६.५६ स्ट्राइक रेट, ९ विकेट)

will jacks

विल ज्याक्सका लागि यो प्रतियोगिता एउटा टर्निङ पोइन्ट बन्यो, जहाँ उनी टी-२० विश्वकपको उत्कृष्ट अलराउन्डरमध्ये एकका रूपमा उदाए। ब्याटिङ अर्डरमा तल झरेका उनले फिनिसरको भूमिका उत्कृष्ट रूपमा निभाए। इटालीविरुद्ध अविजित ५३ रन उनको उत्कृष्ट प्रदर्शन थियो भने भारतविरुद्ध महत्त्वपूर्ण क्यामियो र न्युजिल्यान्डविरुद्ध सुपर एटमा अविजित ३२ रन जोड्दै टोलीलाई सानदार जित दिलाए। यी अफ-स्पिनरले श्रीलंकाविरुद्धको खेलमा ३ विकेट लिँदै टोलीलाई ५१ रनको जित दिलाए। ज्याक्सले चारवटा 'प्लेयर अफ द म्याच' अवार्ड जित्दै टी-२० विश्वकपमा शेन वाटसनको कीर्तिमानसँग बराबरी गरे।

जेसन होल्डर (वेस्ट इन्डिज)

(७ खेल, १० विकेट, १४१ रन)

तेज गतिका बलर र तल्लो क्रमका आक्रामक ब्याटर जेसन होल्डर प्रतियोगिताका स्टारमध्ये एक रहे। भारतविरुद्धको सुपर एट खेलमा उनको अलराउन्ड क्षमता प्रष्ट देखियो, जहाँ उनले ३८ रन दिएर २ विकेट लिए भने २२ बलमा अविजित ३७ रन बनाए। यद्यपि उक्त खेलमा वेस्ट इन्डिज पराजित भयो। ६ फिट ७ इन्च अग्ला यी बलरले फ्ल्याट पिचमा पनि राम्रो बाउन्स निकाले। वाङ्खडे स्टेडियममा नेपालविरुद्ध उनले २७ रन दिएर शीर्ष क्रमका ३ सहित कुल ४ विकेट लिँदै टोलीलाई ९ विकेटको एकतर्फी जित दिलाए।

जसप्रित बुमराह (भारत)

(८ खेल, १४ विकेट, १२.४२ औसत, ६.२१ इकोनोमी)

भारतीय ब्याटिङ पक्कै पनि विपक्षीका लागि डरलाग्दो छ, तर जसप्रित बुमराह नै ती खेलाडी हुन् जसले टोलीलाई सधैं अरूभन्दा एक कदम अगाडि राखेका छन्। यस विश्वकपमा पनि उनी आफ्ना साथी खेलाडी वरुण चक्रवर्तीसँगै सर्वाधिक विकेट लिने बलर बने। उनले आफ्नो सर्वोत्कृष्ट प्रदर्शन फाइनलका लागि साँचेका थिए, जहाँ न्युजिल्यान्डविरुद्ध १५ रन दिएर ४ विकेट लिँदै 'प्लेयर अफ द म्याच' बने। समयमै विकेट लिने मात्र होइन, विपक्षीको ब्याटिङ लय तहसनहस पार्ने बुमराहको क्षमताले उनलाई विशेष बनाउँछ। डेथ ओभरमा सटिक योर्कर फाल्ने उनको क्षमताले विपक्षीलाई रन बनाउन हम्मेहम्मे पर्छ। सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध उनले जम्मा १ विकेट लिए पनि १८औं ओभरमा मात्र ६ रन दिएर खेलको दिशा मोडेका थिए। ४९९ रन बनेको उक्त खेलमा बुमराहको इकोनोमी ८.२५ थियो, जुन दुवै टोलीमध्येकै उत्कृष्ट थियो। सायद यही कारण इंग्ल्यान्ड ७ रनले पछि परेको थियो।

लुंगी एन्गिडी (दक्षिण अफ्रिका)

(७ खेल, १२ विकेट, १५.५८ औसत, ७.१९ इकोनोमी)

प्रतियोगिताकै उत्कृष्ट पेसरमध्ये एक लुंगी एन्गिडीले क्यानडाविरुद्ध ४/३१ को प्रदर्शन गर्दै विश्वकपको सुरुवात गरेका थिए र थप दुई पटक ३-३ विकेट लिए। भारतविरुद्धको खेलमा विकेट लिन नसके पनि ४ ओभरमा जम्मा १५ रन मात्र दिएर भारतीय ब्याटरलाई खुलेर खेल्न दिएनन्। ब्याटिङ-मैत्री पिचहरूमा एन्गिडीले आफ्नो अनुभव, भेरिएसन र स्लोअर बलको उत्कृष्ट प्रयोग गरे।

आदिल राशिद (इंग्ल्यान्ड)

(८ खेल, १३ विकेट, १९.२३ औसत, ८.१५ इकोनोमी)

आदिल राशिद यस टिम अफ द टुर्नामेन्टमा परेका एकमात्र विशेषज्ञ स्पिनर हुन्। उनले विशेषगरी श्रीलंकाको कन्डिसनको राम्रो फाइदा उठाउँदै इंग्ल्यान्डलाई सुरुवाती ७ मध्ये ६ खेल जिताउन मद्दत गरे। कागजी रूपमा स्कटल्यान्डविरुद्ध ३/३६ उनको उत्कृष्ट प्रदर्शन रहे पनि सुपर एटमा श्रीलंका र न्युजिल्यान्डविरुद्धको जितमा उनको भूमिका महत्त्वपूर्ण रह्यो। श्रीलंकाले इंग्ल्यान्डलाई १४६/९ मा रोकेपछि राशिदले ३.४ ओभरमा जम्मा १३ रन दिएर २ विकेट लिँदै घरेलु टोलीलाई धराशायी बनाएका थिए। भारतविरुद्ध भने उनले इशान र सूर्यकुमार यादवको विकेट लिँदै ड्यामेज कन्ट्रोलको प्रयास गरेका थिए।

ब्लेसिङ मुजाराबानी (जिम्बाब्वे)

(६ खेल, १३ विकेट, १४.४६ औसत, ७.८८ इकोनोमी)

जिम्बाब्वेको यस विश्वकपको सानदार यात्रामा ब्लेसिङ मुजाराबानी मुख्य हतियार रहे। २०२४ को संस्करण गुमाएको जिम्बाब्वेले सुपर एटमा स्थान बनाउँदै टी-२० विश्वकप इतिहासकै आफ्नो उत्कृष्ट प्रदर्शन गर्‍यो। अष्ट्रेलियालाई २३ रनले हराउँदै जिम्बाब्वेले आफ्नो आगमनको शंखघोष गरेको थियो। १६९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियालाई १४६ रनमा समेट्न मुजाराबानीले मात्र १७ रन दिएर ४ विकेट लिएका थिए। समूह चरणका ३ खेलमा ९ विकेट लिँदै उनले टोलीलाई समूह 'बी' को शीर्ष स्थानमा पुर्‍याए।

शाड्ली भान शाल्कविक (१२औं खेलाडी, अमेरिका)

(४ खेल, १३ विकेट, ७.७६ औसत, ६.८० इकोनोमी)

अमेरिकी तेज गतिका बलर शाल्कविक समूह चरणका सर्वश्रेष्ठ बलर साबित भए। अमेरिकाले २०२४ को सफलता दोहोर्‍याउँदै सुपर एटमा पुग्न नसके पनि शाल्कविकको प्रदर्शन भने उच्च स्तरको रह्यो। उनले भारतविरुद्ध ४ विकेट लिँदै एक समय घरेलु टोलीलाई ७७/६ को दबाबपूर्ण स्थितिमा पुर्‍याएका थिए। त्यसपछि उनले पाकिस्तानविरुद्ध पनि उत्कृष्ट बलिङ गर्दै मात्र २५ रन दिएर ४ विकेट लिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप