हामी कस्तो नेपाल चाहन्छौँ ?
सारांश
- नेपालले विगत तीन दशकमा ठूला राजनीतिक परिवर्तनहरू अनुभव गरेको छ, तर नागरिकको जीवनमा सुधार अझै अपेक्षित छैन।
- लेखले नेपालको विकासको मोडेलमाथि प्रश्न उठाउँदै सुशासन, स्पष्ट नीति र दीर्घकालीन दृष्टिकोणको आवश्यकता औंल्याएको छ।
- लेखमा भ्रष्टाचार, सामाजिक असमानता र युवा पलायनका समस्याहरूलाई उजागर गर्दै समृद्ध, न्यायपूर्ण र अवसरयुक्त नेपालको परिकल्पना गरिएको छ।
नेपाली नागरिकले तीन दशकमा धेरै ठुला राजनीतिक परिवर्तन देखेका छन् । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्रको स्थापना भयो । त्यसपछि २०५२ सालदेखि १० वर्ष देशले सशस्त्र युद्धको कठिन समय पनि पार गर्यो । २०६२/६३ को जनआन्दोलन भयो र अन्ततः नेपाल गणतन्त्रमा प्रवेश गर्यो ।
नयाँ संविधान जारी भयो र संघीय शासन प्रणाली लागु भयो । यी सबै परिवर्तनहरूले राजनीतिक संरचनामा ठुलो परिवर्तन ल्याए । तर आम नागरिकको जीवनमा अपेक्षित सुधार अझै पूर्णरूपमा देखिएको छैन । समयसँगै कैयौँ सरकार फेरिए । सरकारमा रहेका मुहारहरू पनि फेरिए, तर फेरिएन त केवल विकासको परिभाषा । लामो समयदेखि हामी आम जनताले नेताहरूको भाषण सुनेका छौँ देशलाई सिंगापुर, स्वीट्जरल्याण्ड जस्तो बनाउने बाचा पनि सुनेका छौँ र पटक–पटक निराशा पनि भोग्दै आइरहेका छौँ । यसले एउटा के प्रश्न उठाउँछ भने के राजनीतिक परिवर्तन मात्रले विकास सुनिश्चित गर्न सक्छ ? यसको उत्तर स्पष्ट छ: परिवर्तन आवश्यक छ, तर परिवर्तन मात्र पर्याप्त हुँदैन । विकासका लागि सुशासन, स्पष्ट नीति र दीर्घकालीन दृष्टिकोण पनि उत्तिकै आवश्यक हुन्छ ।
नेपाल आज इतिहासको एउटा महत्त्वपूर्ण मोडमा उभिएको छ । राजनीतिक परिवर्तन, जनआन्दोलन, नयाँ संविधान र संघीय शासन प्रणालीपछि नेपाली समाजले नयाँ आशा र नयाँ सम्भावना देख्न थालेको छ । तर यो परिवर्तनसँगै एउटा गम्भीर प्रश्न पनि उठिरहेको छ, हामी वास्तवमा कस्तो नेपाल चाहन्छौँ ? यो प्रश्न केवल बौद्धिक बहसको विषय होइन, यो नेपाली जनताको भविष्यसँग जोडिएको प्रश्न हो । आजको युवा, किसान, मजदुर, उद्यमी, विद्यार्थी र विदेशमा रहेका लाखौँ नेपाली सबैको मनमा एउटा साझा सपना छ- समृद्ध, न्यायपूर्ण र अवसरयुक्त नेपाल ।
यस्तो नेपाल जहाँ युवाले आफ्नो भविष्य आफ्नै देशमा देख्न सक्छन्। जहाँ किसानको मेहनतको सम्मान हुन्छ। जहाँ शिक्षा र स्वास्थ्य सबैका लागि उपलब्ध हुन्छ। जहाँ कानून सबैका लागि समान हुन्छ।
हालै सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको परिणामले पनि नेपाली जनता परिवर्तन चाहन्छ भन्ने स्पष्ट संकेत दिएका छन् । नागरिकले परम्परागत राजनीति मात्र होइन, नयाँ सोच, नयाँ नेतृत्व र जिम्मेवार शासन चाहिरहेका छन् । यसले नेताहरूलाई एउटा महत्वपूर्ण सन्देश दिएको छ— जनता अब केवल बाचा होइन, परिणाम चाहन्छन् । त्यसैले अहिलेको बहस केवल सत्ता परिवर्तनको होइन, नेपालको भविष्यको दिशा कस्तो हुने भन्ने प्रश्नको बहस हो । आज हाम्रो देश विकासको भाषणभन्दा धेरै अगाडि, विकासको अर्थ खोज्ने मोडमा उभिएको छ । नीति, योजना, घोषणा पत्र र बजेट भाषणहरूमा “समृद्ध नेपाल, सुखी नेपाली” जस्ता नारा गुञ्जिरहेका छन् । तर प्रश्न अझै जिउँदै छ, हामी कस्तो विकास खोजिरहेका छौँ ?
उचाइमा बढ्दै गरेका भवनहरू, चौडा सडकहरू र चम्किला सहरहरू मात्रै विकास हुन् कि मान्छेको जीवनस्तर, सोच र सम्बन्धको गुणस्तर पनि विकासकै हिस्सा हो ?
विकासको पहिलो चरण पक्कै पनि भौतिक संरचना निर्माण थियो । हामीले धेरै ठाउँमा विकास देख्यौँ—कालोपत्रे सडक, पक्की भवन, इन्टरनेट टावर, ठुला–ठुला भ्यु टावर । ग्रामीण सडक विस्तार भए, विद्युत् पहुँच बढ्यो, मोबाइल र इन्टरनेट गाउँसम्म पुगे । यी उपलब्धि साना होइनन् । नेपालमा विकास त भयो तर अहिलेको परिवेशमा हर्ने हो भने यो विकासको गति कछुवा चाल जस्तो मात्र छ ।
पछिल्लो समय हामीले गरिबीलाई शून्यमा झार्यौँ भन्ने खालका अभिव्यक्ति पनि सुन्नमा आए । यो भन्दै गर्दा कर्णाली प्रदेश जस्ता पिछाडिएको प्रदेशमा एक छाक खाना पनि गाह्रो पर्ने समुदायका व्यक्तिहरु नेपालमा नै छन् भन्ने कुरा बिर्सिनु भएको हो या आँखा बन्द गरेर दिउँसै अँध्यारो भएको नाटक । भएका राम्रा उपल्बधीहरुलाई हामीले राम्रै रुपमा स्वीकारेका छौँ र स्वीकार छौँ पनि तर ठुला पक्की भवन, कालोपत्र सडकलाई यस्तै हुन्छ एक समृद्ध मुलुकको विकास भनेर परिभाषित गर्न खोज्नु कति उचित मानिन्छ खोइ ?
तर अब विकासको दोस्रो चरण सुरु भइसकेको छ—जहाँ प्रश्न केवल निर्माणको होइन, प्रभावको हो । नेपालले अहिले प्रभाव–आधारित विकास खोजिरहेको छ, जहाँ प्रत्येक परियोजनाको मूल्याङ्कन ‘नागरिकको जीवनमा परेको प्रभाव’बाट हुन्छ । हामीले भौतिक पूर्वाधारमा त लगानी गरिरहेका छौँ । तर के हामीले विद्यालयका कक्षाकोठामा सोच्न सिकाउने वातावरण बनाएका छौँ ? स्वास्थ्य सेवामा गुणस्तर र पहुँच बराबरी गरेका छौँ ? के ग्रामीण क्षेत्रका जनताले सहज उपचार पाएका छन् ? के युवाले आफ्नो सीपअनुसार काम पाएका छन् ? नेपाली जनताले अब यस्तो विकास खोजिरहेका छन्, जुन केवल देखिने होइन, महसुस हुने होस्— जहाँ नागरिकले राज्यको सेवा लाइनमा होइन, अधिकारको रूपमा पाउँछन् ।
प्रत्येक चुनावी लहरसँगै हामीले नेपाललाई सिंगापुर वा स्वीट्जरल्याण्ड जस्तो बनाउने कुरा सुन्दै आएका छौँ । तर वास्तविकता के हो भने यस विषयमा गम्भीर अध्ययन र अनुसन्धान कमै भएको देखिन्छ । कुनै पनि अध्ययन बिना अन्य देशमा सफल भएको विकासको मोडेल यहाँ पनि सफल हुन्छ भन्ने आशा राख्नु आफैँमा गलत हो । नेपालको भूगोल, संस्कृति, समाज र अर्थतन्त्र फरक छ । हिमाल, पहाड र तराईको संरचना एउटै नीतिले चल्दैन । नेपालले नक्कलको होइन, आफ्नै पहिचानमा आधारित विकास खोज्नुपर्छ—जहाँ स्थानीय आवश्यकता र स्रोतलाई केन्द्रमा राखिन्छ । सडक बनेपछि किसानको उत्पादनको मूल्य बढ्यो कि बढेन ? विद्यालय खुलेपछि शिक्षा गुणस्तरीय भयो कि भएन ? अस्पताल बनेपछि उपचार सुलभ भयो कि भएन ? यी प्रश्नहरूको उत्तर खोज्ने समय अब आएको छ ।
नेपालको जनसंख्याको ठुलो हिस्सा युवा वर्ग हो । यही युवाशक्ति नेपालको सबैभन्दा ठुलो पूँजी हो। तर विडम्बना के छ भने आज लाखौँ नेपाली युवा रोजगारीको खोजीमा विदेश गएका छन् । लामो समयदेखि नेपालको अर्थतन्त्र रेमिटेन्समा टिकिरहेको छ । लाखौँ युवाहरूले विदेशमा पसिना बगाएर परिवार चलाएका छन् । यसले परिवार त टिकायो, तर उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न सकेन । नेपाल अब यस्तो विकास खोज्दैछ, जहाँ युवाले आफ्नै देशमा अवसर पाउँछन् । जहाँ उनीहरूले आफ्नो प्रतिभा प्रयोग गर्न सक्छन् । जहाँ नयाँ विचार, नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गरिन्छ । जहाँ कृषि आधुनिक र सम्मानजनक पेसा बन्छ । जहाँ उद्योग सानो भए पनि प्रतिस्पर्धी हुन्छ । जहाँ प्रविधि केवल उपभोग होइन, उत्पादनको माध्यम बन्छ ।
नेपाली जनतामा पुराना दलहरूप्रति बढ्दो निराशा देखिनु र विकास योजनाहरू अपेक्षित रूपमा सफल नहुनुको एउटा प्रमुख कारण भ्रष्टाचार पनि हो । विकासका योजना बनाइन्छन्, बजेट छुट्याइन्छ, ठुलो आशा देखाइन्छ—तर धेरै परियोजना समयमै पूरा हुँदैनन् । पछिल्ला वर्षहरूमा नेपालमा विभिन्न ठुला भ्रष्टाचार प्रकरणहरू सार्वजनिक भएका छन् । यस्ता घटनाहरूले राज्य संयन्त्रमा पारदर्शिता र जवाफदेहिताको अभाव रहेको देखाउँछन् । नागरिकले कर तिरेर सरकारले विकास गर्नुपर्ने अपेक्षा गर्छन् । तर जब त्यो पैसा दुरुपयोग भएको खबर बाहिर आउँछ, तब नागरिकमा असन्तोष बढ्नु स्वाभाविक हो ।
हामीले चाहेको नेपाल यस्तो हुनु हुँदैन जहाँ भ्रष्टाचार सामान्य कुरा जस्तै मानिन्छ । हामीले चाहेको नेपाल यस्तो हुनुपर्छ, जहाँ सार्वजनिक पदमा बसेका व्यक्तिहरू पूर्णरूपमा उत्तरदायी हुन्छन् । जहाँ कानुन सबैका लागि समान हुन्छ र गलत काम गर्ने जो–कोहीलाई पनि कानुनी कारबाही हुन्छ । नेपालको भविष्य उज्ज्वल बनाउन भ्रष्टाचारमुक्त शासन अत्यन्त आवश्यक छ । यदि हामीले सुशासन स्थापित गर्न सकेनौँ भने आर्थिक विकासका सबै सपना अधुरा रहन सक्छन् ।
हामीले चाहेको नेपाल केवल आर्थिक रूपमा समृद्ध नभई सामाजिक रूपमा पनि न्यायपूर्ण हुनुपर्छ । सामाजिक न्याय भनेको सबै नागरिकले समान अवसर पाउनु हो । जात, लिंग, भाषा, धर्म, क्षेत्र वा आर्थिक अवस्थाका आधारमा कसैलाई पनि भेदभाव हुनु हुँदैन । नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो । यही विविधता नेपालको सुन्दरता हो । तर यही विविधताका कारण कहिलेकाहीँ सामाजिक असमानता पनि देखिन्छ। त्यसैले हामीले चाहेको नेपाल यस्तो हुनुपर्छ जहाँ सबै समुदायलाई समान सम्मान र अवसर प्राप्त होस् ।
अन्ततः ‘हामी कस्तो नेपाल चाहन्छौँ ?’ भन्ने प्रश्नको उत्तर सरल छ, हामी समृद्ध, न्यायपूर्ण, सुरक्षित र अवसरपूर्ण नेपाल चाहन्छौँ । यस्तो नेपाल जहाँ युवाले आफ्नो भविष्य आफ्नै देशमा देख्न सक्छन्। जहाँ किसानको मेहनतको सम्मान हुन्छ। जहाँ शिक्षा र स्वास्थ्य सबैका लागि उपलब्ध हुन्छ। जहाँ कानून सबैका लागि समान हुन्छ।
नेपालसँग सम्भावना धेरै छन्। आवश्यकता केवल सही दिशा, स्पष्ट नीति र सामूहिक प्रयासको हो।
जब राज्य, समाज र नागरिक सबै एउटै लक्ष्य लिएर अघि बढ्छन्, तब मात्र नयाँ नेपाल निर्माण सम्भव हुन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
-
पिसिएम कप प्लस टु बास्केटबलको छात्र र छात्रा दुवैतर्फको उपाधि एमिसीलाई
-
काठमाडौँका सबै भवन ५ वर्षभित्र विपद् उत्थानशील बनाइने
-
धवल शमशेर र दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ पार्टी घोषणाको तयारी, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण