आयल निगमको बदमासीले बजारमा ग्यास अभाव देखियो : अधिकारकर्मी महर्जन
सारांश
- राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले पेट्रोलियम पदार्थ र ग्यासको अभावमा नेपाल आयल निगमको कमजोरी औंल्याए।
- अध्यक्ष महर्जनले ग्यासको समस्या अन्तर्राष्ट्रिय तनावले नभई आन्तरिक बेथितिका कारण भएको बताए, र व्यवसायीको मिलेमतोमा कालोबजारी भइरहेको आरोप लगाए।
- उपभोक्ता अधिकार दिवसमा, उनले खाने तेलको मूल्य वृद्धिलाई खाडी युद्धको बहाना बनाइएको र तस्करी बढ्नु चिन्ताको विषय भएको बताए।
काठमाडौँ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बजारमा देखिएको पेट्रोलियम पदार्थ र ग्यासको अभाव हुनुमा नेपाल आयल निगमको व्यवस्थापकीय कमजोरी र सूचना लुकाउने प्रवृत्ति मुख्य जिम्मेवार रहेको आरोप लगाएका छन् ।
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष महर्जनले बजारमा देखिएको ग्यासको समस्या अन्तर्राष्ट्रिय तनाव (खाडी युद्ध) का कारण नभई आन्तरिक बेथितिका कारण सिर्जना भएको दाबी गरे ।
अध्यक्ष महर्जनले भने, ‘सामान्य अवस्थामा दैनिक ९० बुलेट ग्यास आउने गरेकोमा अहिले भारतबाट १२५ बुलेटसम्म आइरहेको छ । आपूर्ति बढेको अवस्थामा पनि बजारमा अभाव देखिनुले नेपाल आयल निगमको असक्षमता र व्यवसायीको मिलेमतोमा कालोबजारी भइरहेको पुष्टि हुन्छ ।’ उनले निगमले वाणिज्य विभाग जस्तो नियमनकारी निकायलाई समेत सही सूचना नदिएर गल्ती गरेको बताए ।
खाने तेलको मूल्यमा प्रतिलिटर ५० देखि १०० रुपैयाँसम्म भएको वृद्धिलाई व्यवसायीहरूले खाडी युद्धलाई बहाना बनाएर मूल्य बढाएकोमा आपत्ति जनाए । ‘खाने तेल खाडी मुलुकबाट आउने होइन, यो युक्रेन, कजाकिस्तान, मलेसिया र सिंगापुर जस्ता देशबाट आउँछ। इन्धनको मूल्य बढ्दा तेलको मूल्यमा यसरी मनोमानी वृद्धि गर्नु उपभोक्तामाथिको लुट हो ।’
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १०३ डलर प्रति ब्यारल पुगेको अवस्थामा १५ रुपैयाँ बढ्नुलाई उनले स्वाभाविक रूपमा लिन सकिने बताए । यद्यपि, बजारमा मलदेखि सुनसम्मको तस्करी बढ्नु र त्यसले स्वस्थ प्रतिस्पर्धालाई असर गर्नु चिन्ताको विषय भएको उनको भनाइ थियो।
नयाँ सरकार गठनको संघारमा कर्मचारी र प्रशासनमाथि राजनीतिक थ्रेट आउन थालेको बताए । ‘प्रशासनलाई यो निर्णय गर, त्यो नगर भनेर आदेश र थ्रेट आउन थालेको सुनिन्छ, यसले बजार थप अस्थिर बनाउन सक्छ,’ महर्जनले भने ।
कार्यक्रममा वाणिज्य विभागका निर्देशक नरहरि तिवारी, काठमाडौँ उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठ, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष विश्व बज्राचार्य लगायतको उपस्थिति थियो । वक्ताहरूले उपभोक्ताको अधिकार संरक्षणका लागि राज्य र निजी क्षेत्र दुवै जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण