सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

जाम नियन्त्रण गर्ने जुक्ति : गाडीको लाइसेन्स त्याग्नेलाई पैसा दिने अफर !

बिहीबार, ०५ चैत २०८२, १० : २६
बिहीबार, ०५ चैत २०८२

सारांश

  • माल्टा सरकारले ट्राफिक जाम कम गर्न युवालाई ड्राइभिङ लाइसेन्स त्याग्न प्रोत्साहन गर्दै २५ हजार युरो दिने योजना ल्याएको छ।
  • यस योजनामा ३० वर्षमुनिका युवाले ५ वर्षका लागि लाइसेन्स बुझाउनुपर्नेछ र वार्षिक ५ हजार युरो पाउनेछन्।
  • यस योजनामा सहभागी हुन माल्टाको स्थायी बासिन्दा हुनुपर्ने, लाइसेन्स लिएको एक वर्ष पुगेको हुनुपर्नेछ।

माल्टा । युरोपको सबैभन्दा सानो देश माल्टाले आफ्नो देशको गम्भीर ट्राफिक जाम नियन्त्रण गर्न एउटा निकै अनौठो र आकर्षक जुक्ति निकालेको छ। सवारी साधनको उच्च चाप र सडकमा हुने सास्ती कम गर्न त्यहाँको सरकारले ड्राइभिङ लाइसेन्स सरेन्डर स्किम सार्वजनिक गरेको हो।

यस योजना अन्तर्गत आफ्नो चालक अनुमति पत्र (लाइसेन्स) स्वेच्छाले त्याग गर्ने युवाहरूलाई सरकारले २५ हजार युरो प्रोत्साहन भत्ता दिने घोषणा गरेको छ। माल्टाका यातायात मन्त्री क्रिस बोनेटका अनुसार यो योजना विशेष गरी युवा पुस्तालाई लक्षित गरिएको हो।

गाडी चलाउने बानी पर्नुअघि नै उनीहरूलाई सार्वजनिक यातायाततर्फ आकर्षित गर्नु यसको मुख्य उद्देश्य रहेको उनले बताए। यस कार्यक्रममा सहभागी हुन चाहने ३० वर्ष मुनिका चालकले आफ्नो लाइसेन्स कम्तीमा पाँच वर्षका लागि सरकारलाई बुझाउनुपर्नेछ। सरकारले उक्त रकम एकैपटक नदिई वार्षिक ५ हजार युरोका दरले पाँच वर्षसम्म किस्ताबन्दीमा उपलब्ध गराउनेछ।

यस योजनामा सहभागी हुनका लागि केही कडा सर्तहरू पनि राखिएका छन्। आवेदन दिने व्यक्ति कम्तीमा सात वर्षदेखि माल्टाको स्थायी बासिन्दा हुनुपर्ने, लाइसेन्स लिएको कम्तीमा एक वर्ष पुगेको हुनुपर्ने र विगतमा कुनै पनि ट्राफिक कारबाहीमा परी लाइसेन्स निलम्बन भएको हुनुहुँदैन।

यदि कसैले पाँच वर्ष नपुग्दै पुनः गाडी चलाउन चाहेमा, उसले सरकारबाट लिएको रकम दामासाही हिसाबले फिर्ता गर्नुपर्ने प्रावधान छ। पाँच वर्षपछि फेरि लाइसेन्स लिन चाहेमा उक्त व्यक्तिले अनिवार्य रूपमा १५ घण्टाको ड्राइभिङ क्लास लिनुपर्नेछ।

माल्टा सरकारले यस योजनाका लागि वार्षिक ५० लाख युरो बजेट छुट्याएको छ, जसबाट हरेक वर्ष १ हजार जना युवा लाभान्वित हुन सक्नेछन्। प्रारम्भिक प्रतिक्रियाअनुसार यो योजनामा युवाहरूको आकर्षण निकै उच्च देखिएको छ। धेरैले गाडी चलाउनु भन्दा आर्थिक लाभ लिनुलाई प्राथमिकता दिएका छन्।

सडकमा गाडीको संख्या घटाउने, प्रदूषण कम गर्ने र सार्वजनिक यातायातको प्रयोग बढाउने यो नवीन प्रयोगले विश्वभरकै ध्यान खिचेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप