बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

जहाज थप्न निगमले पठायो पर्यटन मन्त्रालयलाई पत्र

खरिद गर्न नसके भाडामा लिने प्रस्ताव
शुक्रबार, ०६ चैत २०८२, २२ : ११
शुक्रबार, ०६ चैत २०८२

सारांश

  • नेपाल वायुसेवा निगमले आन्तरिक र अन्तर्राष्ट्रिय उडान विस्तार गर्ने तयारी गरेको छ।
  • निगमले ६ वटा नयाँ जहाज थप्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पेश गरेको छ।
  • निगमले दुर्गम क्षेत्रका लागि ट्विनअटर र सुगम रुटमा एटीआर जहाज खरिद गर्ने योजना बनाएको छ।

काठमाडौँ । नेपाल वायुसेवा निगमले आफ्नो आन्तरिक र अन्तर्राष्ट्रिय उडान सेवालाई  विस्तार गर्ने तयारी गरेको छ। निगमले आन्तरिक र अन्तर्राष्ट्रिय उडानको सेवा विस्तारको लागि ६ वटा नयाँ जहाज थप्ने प्रक्रिया अघि बढाएको हाे ।

निगमले दुई वटा ट्विनअटर, दुई वटा एटीआर–७२ र दुई वटा न्यारोबडी जहाज खरिद गर्ने र तत्काल खरिद गर्न सम्भव नभए भाडा (लिज) मा लिएर भए पनि चलाउने प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पेस गरेको छ ।

विशेष गरी दुर्गम र उच्च पहाडी क्षेत्रमा सेवा बढाउन निगमले १९ सिट क्षमताका दुई वटा क्यानेडियन ‘ट्विनअटर डीएचसी–६’ जहाज खरिद गर्न करिब साढे दुई अर्ब रुपैयाँको बजेट प्रस्ताव गरेको छ । 

यस्तै, विराटनगर, भद्रपुर, धनगढी जस्ता सुगम (ट्रंक) रुटमा आफ्नो उपस्थिति पुनः कायम गर्न ७२ सिट क्षमताका दुई वटा एटीआर–७२ सिरिजका जहाज खरिद गर्ने योजना छ । यी जहाज खरिदका लागि साढे पाँच अर्ब रुपैयाँ लाग्ने निगमको अनुमान छ । 

एटीआर जहाजको हकमा खरिद गर्न नसकिए भाडामा लिएर तत्काल सेवा सुरु गर्ने विकल्प समेत प्रस्ताव गरिएको छ । निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठका अनुसार हाल जहाजकै अभावमा पहिले सेवा दिइरहेका कतिपय आन्तरिक गन्तव्यहरूमा समेत उडान हुन सकेको छैन ।

निर्देशक श्रेष्ठले पहिले सेवा दिइरहेका ठाउँमा पनि उडान नरहेकाले सकेसम्म जहाज किन्न र नभए भाडामा लिएर चलाउन प्रस्ताव गरिएको राताेपाटीलाई बताए । 

श्रेष्ठ भन्छन्, ‘आन्तरिक उडानका लागि हामीसँग पर्याप्त जहाज छैनन् । पहाडी तथा हिमाली जिल्लाहरूलाई हवाई यातायातको पहुँचमा जोड्न र ट्रंक रुटमा प्रतिस्पर्धा गर्न नयाँ जहाज खरिदको प्रस्ताव लैजानु अनिवार्य देखिएको हो ।’

निगमले सरकारको आगामी आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रममा यस योजनालाई समेट्ने गरी तयारी थालेको छ । हाल निगमसँग रहेका तीन वटा ट्विनअटरमध्ये दुई वटाले रुकुम, जुम्ला, सुर्खेत, ताप्लेजुङ र फाप्लुलगायतका दुर्गम क्षेत्रमा उडान भर्दै आएका छन् ।

सन् २०१३ देखि त्रिभुवन विमानस्थलमा थन्किएर बसेको एउटा ट्विनअटरलाई पनि ४० करोड रुपैयाँ खर्च गरेर मर्मत गरी पुनः सञ्चालनमा ल्याउने निगमको योजना छ । 

हाल आन्तरिक उडानमा निजी क्षेत्रका बुद्ध र यती एयरलाइन्सको बलियो उपस्थिति रहेको सन्दर्भमा निगमले पनि सोही स्तरका एटीआर-७२ जहाज ल्याएर आफ्नो बजार हिस्सा बढाउन खोजेको हो ।

अन्तर्राष्ट्रिय उडानतर्फ पनि दुई वटा न्यारोबडी जहाज थपिएपछि उडान संख्या र गन्तव्य विस्तारमा ठूलो सहयोग पुग्ने विश्वास निगमको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप