बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

एफबीआईका पूर्वनिर्देशक रोबर्ट मुलरको ८१ वर्षको उमेरमा निधन

ट्रम्पले भने, ‘म खुसी छु’
आइतबार, ०८ चैत २०८२, ०९ : १६
आइतबार, ०८ चैत २०८२

सारांश

  • एफबीआईका पूर्वनिर्देशक रोबर्ट मुलरको ८१ वर्षको उमेरमा निधन भएको छ।
  • सन् २०१६ को अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रुसी हस्तक्षेपबारे उनले विशेष अनुसन्धान गरेका थिए।
  • मुलरले एफबीआईलाई आधुनिक प्रतिआतंकवाद एजेन्सीमा रूपान्तरण गरेको श्रेय पाइन्छ।

वासिङ्टन डिसी । अमेरिकाको संघीय जाँचबुझ ब्युरो (एफबीआई) का पूर्वनिर्देशक रोबर्ट मुलरको ८१ वर्षको उमेरमा निधन भएको छ। सन् २०१६ को अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रुसी हस्तक्षेपबारे विशेष अनुसन्धान गरेर चर्चामा रहेका मुलरको शुक्रबार राति निधन भएको उनको परिवारले पुष्टि गरेको हो।

मुलरको मृत्युको कारण भने तत्काल खुल्न सकेको छैन। उनको परिवारले एक विज्ञप्ति जारी गर्दै दुःखद खबर साझा गरेको हो र यतिबेला आफ्नो गोपनीयताको सम्मान गरिदिन आग्रह गरेको छ।

मुलरले सन् २००१ देखि २०१३ सम्म एफबीआईको नेतृत्व गरेका थिए। सेप्टेम्बर ११ को आतंककारी आक्रमण हुनुभन्दा केही दिनअघि मात्र उनले कार्यभार सम्हालेका थिए। उनलाई एफबीआईलाई परम्परागत अपराध अनुसन्धान निकायबाट आधुनिक प्रतिआतंकवाद एजेन्सीमा रूपान्तरण गरेको श्रेय दिइन्छ।

मुलरको निधनमा अमेरिकाका पूर्वराष्ट्रपतिहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनलाई एफबीआई प्रमुखमा नियुक्त गर्ने जर्ज डब्ल्यु बुसले मुलरले सेप्टेम्बर ११ पछि देशको सुरक्षा मिसनलाई सफलतापूर्वक अघि बढाएको भन्दै उनको प्रशंसा गरे।

त्यस्तै पूर्व राष्ट्रपति बाराक ओबामाले मुलरलाई एफबीआई इतिहासकै उत्कृष्ट निर्देशकहरूमध्ये एक भएको बताए। ओबामाले विधिको शासनप्रति मुलरको अथक प्रतिबद्धता र अमेरिकी मूल्यमान्यतामा उनको अडिग विश्वासको कदर गरे।

यता राष्ट्रपति डोनाल्ड ट्रम्पले भने मुलरको निधनप्रति नकारात्मक टिप्पणी गरेका छन्। मुलरको अनुसन्धानबाट निकै रुष्ट रहेका ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा मुलरको मृत्यु भएकोमा आफू खुसी रहेको र अब उनले निर्दोष मानिसहरूलाई चोट पुर्‍याउन नसक्ने लेखेका छन्। ट्रम्पको राष्ट्रपतीय कार्यकालको ठूलो हिस्सा मुलरको अनुसन्धानको घेरामा बितेको थियो, जसलाई ट्रम्पले सधैं आलोचना गर्ने गर्थे।

मुलरका पूर्वसहकर्मी र उत्तराधिकारी जेम्स कोमीले उनलाई एक महान् अमेरिकीको संज्ञा दिँदै उनीबाट धेरै कुरा सिक्न पाएको बताए। मुलरले काम गरेको कानुन व्यवसायी फर्म विल्मरहेलले पनि उनलाई निष्ठावान् र असाधारण नेताका रूपमा स्मरण गरेको छ।

सन् १९४४ मा जन्मिएका मुलरले प्रिन्स्टन विश्वविद्यालयबाट राजनीति शास्त्रमा अध्ययन गरेका थिए। उनले सन् १९६८ मा अमेरिकी मरिन कोरमा भर्ती भई भियतनाम युद्धमा समेत भाग लिएका थिए। उनी आफ्नी श्रीमती एन क्याबेल स्ट्यान्डिस, दुई छोरी र तीन नातिनातिनीका साथ बस्दै आएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप