सामुदायिक विद्यालयमा आकर्षण बढ्दो, बजेटमा वडालाई शक्तिशाली बनाउँदै मेयर आचार्य
सारांश
- पोखरा महानगरपालिकाका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढेको छ, मेयरका अनुसार ८ हजारभन्दा बढी विद्यार्थी थपिएका छन्।
- शिक्षा सुधारका लागि महानगरले ५५ बुँदामा आधारित योजना कार्यान्वयन गरेको छ, जसले भौतिक पूर्वाधार र व्यवस्थापनमा सुधार ल्याएको छ।
- मेयर आचार्यले विकास बजेट विकेन्द्रीकरण गर्दै वडा अध्यक्षहरूलाई बजेट उपलब्ध गराएका छन्, जसले स्थानीय स्तरमा विकासलाई तीव्रता दिनेछ।
पोखरा । पोखरा महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूको अवस्था पछिल्लो समय उत्साहजनक रूपमा बदलिएको छ । महानगरले शिक्षा क्षेत्रको सुधारका लागि लिएका नीतिगत र व्यावहारिक कदमहरूले सार्थकता पाउन थालेपछि सरकारी विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण ह्वात्तै बढेको हो ।
मेयर धनराज आचार्यका अनुसार महानगरको नेतृत्व सम्हालेयता सामुदायिक विद्यालयहरूमा ८ हजारभन्दा बढी विद्यार्थी थपिएका छन् । कुनै समय विद्यार्थी अभाव झेल्ने गरेका सरकारी विद्यालयहरूमा अहिले भर्ना पाउनै मुस्किल पर्ने स्थिति सिर्जना भएको छ ।
महानगरभित्रका कतिपय विद्यालयमा अहिले २ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्, जसले निजी विद्यालयसँगको प्रतिस्पर्धामा सामुदायिक विद्यालयहरू बलियो हुँदै गएको संकेत गर्छ । शिक्षाको गुणस्तर सुधार्न महानगरले ५५ वटा विभिन्न बुँदामा आधारित सुधारका योजनाहरू कार्यान्वयनमा ल्याएको छ । यी प्रयासहरूले विद्यालयको भौतिक पूर्वाधार मात्र नभई शिक्षक र व्यवस्थापन पक्षमा समेत नयाँ आत्मविश्वास जगाएको मेयर आचार्यको दाबी छ ।
शिक्षामा मात्र नभई विकास बजेटको खर्च गर्ने प्रणालीमा पनि महानगरले ठूलो परिवर्तन ल्याएको छ । मेयर आचार्यले विकासको बजेटलाई तल्लो तहसम्म पुर्याउन बजेटको व्यापक विकेन्द्रीकरण गरेका छन् ।
उनले अघिल्लो कार्यकालका वडा अध्यक्षहरूले पाँच वर्षमा पाएको बजेट अहिलेका वडा अध्यक्षहरूलाई पहिलो वर्षमै उपलब्ध गराएको बताएका छन् । वडा तहलाई प्रशासनिक र आर्थिक रूपमा शक्तिशाली बनाउँदा मात्रै समग्र महानगरको विकास सम्भव हुने उनको बुझाइ छ ।
तल्लो तहका साना–ठूला सबै योजनाहरूलाई तीव्रता दिनका लागि एउटा वडा अध्यक्षले सामान्य अवस्थामा २५ वर्षमा पाउने बराबरको बजेट आफूले एकै वर्षमा वडामा पठाएको मेयर आचार्यले उल्लेख गरे । वडा स्तरमा भइरहेका कामहरूले महानगरको अनुहार फेरिने विश्वास व्यक्त गर्दै उनले वडा र वडा अध्यक्षहरू सफल हुनु नै महानगर सफल हुनु रहेको स्पष्ट पारे ।
हिजोका दिनमा बजेटका लागि माथिल्लो निकायको भर पर्नुपर्ने र गुनासो गर्नुपर्ने अवस्थालाई चिर्दै अहिले स्थानीय आवश्यकताका आधारमा वडाबाटै धमाधम कामहरू भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण