नयाँ निर्वाचित सांसदज्यूहरूलाई पत्र
सारांश
- संसदमा निर्वाचित सांसदहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ, र उनीहरूको भूमिका राष्ट्रिय हितमा केन्द्रित हुनुपर्ने कुरामा जोड दिइएको छ।
- लेखमा सांसदहरूलाई नीति निर्माण गर्दा पारदर्शिता, तथ्यमा आधारित विश्लेषण र गहिरो अध्ययनलाई प्राथमिकता दिनुपर्ने सुझाव दिइएको छ।
- लेखले सामाजिक सञ्जालको नकारात्मकता र यसलाई मर्यादित बनाउन आवश्यक कानुनको माग गरेको छ, साथै सुशासनको महत्वबारे प्रकाश पारेको छ।
संघीय संसदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। यो अवसर सम्मान सँगै ठुलो जिम्मेवारी पनि हो।
संघीय संसदको अधिवेशन आजदेखि सुरु हुन गइरहेको छ। संसद् राष्ट्रको नीति निर्माण गर्ने सर्वोच्च संस्था भएकाले तपाईंहरूको भूमिका दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितमा केन्द्रित हुनुपर्छ। नीतिगत निर्णय गर्दा दीर्घकालीन सोच, तथ्यमा आधारित विश्लेषण र पारदर्शितालाई प्राथमिकता दिनु आवश्यक छ। विधेयकहरू गहिरो अध्ययन र जिम्मेवार बहसपछि मात्र पारित हुनुपर्छ। संसदको मर्यादा कायम राख्न अनुशासन, समयपालन र विषयकेन्द्रित छलफल अनिवार्य छन्। जनतासँग निरन्तर सम्पर्कमा रहँदै उनीहरूको समस्या प्रभावकारी रूपमा उठाउनु र समाधानका लागि पहल गर्नु नै साँचो जनप्रतिनिधिको कर्तव्य हो। साथै, भ्रष्टाचार र अनियमितताविरुद्ध स्पष्ट अडान लिनु आवश्यक छ। तपाईंहरूको कार्यशैलीले लोकतन्त्रप्रति जनताको विश्वास बलियो बनाउनेछ। त्यसैले जिम्मेवारीका साथ आफ्नो भूमिका निर्वाह गर्ने अपेक्षा जनताले तपाईँहरूबाट राखेका छन्।
संसदमा बोल्दा विषयवस्तुको गहिरो अध्ययन पश्चात् पर्याप्त ज्ञान हासिल गरेपछि मात्र अभिव्यक्ति दिनु उपयुक्त हुन्छ। सीमित समयमा तर्कपूर्ण र स्पष्ट रूपमा आफ्ना विचार राख्ने अभ्यास आवश्यक छ।
चिच्याएर वा लामो समयसम्म बोल्दैमा सही कुरा गलत वा गलत कुरा सही हुँदैन। प्रभावकारिता शब्दको छनोट, स्पष्ट उच्चारण र तर्कमा निर्भर हुन्छ।
नेपाली भाषामा साना–साना शब्दको फरकले पनि अर्थमा ठुलो भिन्नता ल्याउँछ। जस्तै: “नेपाल बन्दैछ” र “नेपाल बन्द छ”। “रामले श्यामलाई मार्यो” र “रामलाई श्यामले मार्यो”। छिटो वा अस्पष्ट रूपमा बोल्दा यी वाक्यहरू उस्तै सुनिन सक्छन्, तर अर्थ भने आकाश–जमिनको फरक हुन्छ।त्यसैले, संसदमा बोल्दा स्पष्ट, संयमित र विचारपूर्वक उच्चारण गर्दै बोल्नु आवश्यक हुन्छ ।
राष्ट्र र जनताप्रति यहाँहरूको यति धेरै जिम्मेवारी भएको हुँदा केही ध्यान दिनुपर्ने सत्य र तथ्य तपाईंहरूसमक्ष राख्न चाहन्छु:
मानिस जन्मिएपछि बाँच्नुपर्छ, त्यसपछि सुरक्षित हुनुपर्छ, र अनुशासित भएर जीवन अगाडि बढाउन पाउनुपर्छ। यसको लागि राज्यले गुणस्तरीय स्वास्थ्य सेवा , सुरक्षाको प्रत्याभूति र सुशासनले अनुशासन स्थापित गर्नुपर्छ।अनुशासन कायम गराउनु मानव अधिकार हनन होइन, बरु जिम्मेवार नागरिक बनाउने प्रक्रिया हो। त्यसैले नियम–कानुन लागू गर्दा हिचकिचाउनु हुँदैन।
राष्ट्रलाई सही दिशामा अघि बढाउन सुन्दर सोच आवश्यक छ—सुन्दर सोचले नै सुन्दर समाज निर्माण गर्छ। ज्ञान नै अधिकांश समस्याको समाधान हो, र संवाद (वार्ता) नै सबैभन्दा प्रभावकारी माध्यम भन्ने कुरामा ख्याल राख्नुहोला।
सुन्दर सोचको कुरा गर्दा, चुनावको समयमा केही उम्मेदवारहरूले आफ्ना तस्बिर बाघ वा सिंहसँगै राखेको सामाजिक सञ्जालमा देखियो। बाघ वा सिंह शक्तिशाली त हुन्, तर हिंस्रक पनि हुन्। सामाजिक सञ्जालका यस्ता तस्बिरहरूले आफूलाई शक्तिशाली र आक्रामक रूपमा प्रस्तुत गर्ने सन्देश दिन खोजिएको जस्तो देखिन्छ । प्रतीकले व्यक्तित्व झल्काउन सक्छ भन्ने बुझेर, आक्रामकता होइन, समर्पण, इमानदारिता र निरन्तरता को सन्देश दिने प्रतीकहरू सान्दर्भिक हुन सक्छन् ।
देश विभिन्न वर्ग र समाज र समुदाय मिलेर बनेको हुन्छ। हरेक वर्ग समुदाय र समूहको आ–आफ्नो जिम्मेवारी, कर्तव्य र काम हुन्छ । त्यसैगरी अर्कोतर्फ देश र समाजमा केही स्वार्थ समूहहरू पनि हुन्छन्, जसको उद्देश्य समाजलाई अस्थिर बनाउँदै आफ्नो स्वार्थ सिद्ध गर्नु हो। त्यसैले देश र समाजमा सकारात्मक परिवर्तन ल्याउने हो भने, संसदबाट सही नियम–कानुन निर्माण गरिदिनुहोस्, देश, जनता र समाज स्वतः सही दिशामा आफै अघि बढ्नेछन्।
सांसदज्यूहरू, सत्य सधैं सत्य नै हुन्छ—अधिकांशले गलत भने पनि; र गलत सधैं गलत नै हुन्छ—अधिकांशले सही भने पनि। सत्य र इमान्दारितालाई बन्धक बनाएर विभिन्न व्यक्ति र स्वार्थ समूहहरूले तपाईंहरूलाई मिडिया ट्रायल र सामाजिक सञ्जालमार्फत भ्रमित पार्ने प्रयास गर्न सक्छन्; कृपया विचलित नहुनुहोला। गलत कार्यको कुनै उदाहरण वा अनुसरण हुँदैन। अघिल्लो संसद् वा सांसदहरूले गरे भन्दैमा “हामीले किन नगर्ने?” भन्ने सोच उचित होइन। त्यो पनि गलत थियो, यो पनि गलत हुन्छ —यसतर्फ ध्यान दिनुहोला।
तपाईंहरूको चुनावी परिणामलाई झुटो सावित गर्न कसरी सकिन्छ भन्ने विषयमा अनेकौँ तर्क–वितर्क भइरहेको देखिन्छ। उनीहरूको आरोप सुन्दा एउटा कथासँग मिल्दोजुल्दो लाग्छ। एक व्यक्ति छतबाट खसेर टाउकोमा चोट लागी मृत्यु हुन्छ। दाहसंस्कार गरेर फर्किँदै गर्दा एकजना मलामीले भन्छ, “ धन्न आँखामा चोट लागेनछ, आँखा बचेछ ।” त्यसपछि अर्का मलामीले जवाफ दिन्छ, “मानिस नै मरिसक्यो, अब आँखा बाँचे बचेछ भन्नुको के अर्थ?” चुनावमा अनपेक्षित परिणाम भोगेका केही दलहरू त्यस्तै खालका अप्रासंगिक विषयहरू उठाउँदै मूल विषयबाट ध्यान अन्तै मोड्ने प्रयास गरिरहेका छन्।
पुराना नेतृत्वहरू र तीनका राजनीतिक आस्थाका केही बुद्धिजीवीहरूको राजनैतिक बहस सुन्दा मानिस बुढो भए निहु खोज्छ गोरु बुढो भए भिर खोज्छ भनेजस्तै चरितार्थ हुन्छ । सामाजिक सञ्जालमा एक अर्का विरुद्ध प्रयोग गरेका शब्दहरू हेर्दा आफूआफै लडी लडी समाप्त हुने देखिन्छ। यहाँ रामायणको एउटा प्रसङ्ग जोड्न चाहन्छु ।सीता हरणपछि, युद्धको तयारी भइरहेको थियो। राम र लक्ष्मण जङ्गलको बाटो आउँदैछन् भन्ने सुईको पाएपछि, रावणले आफ्ना सेनाहरूलाई आक्रमण गर्न जंगलमा पठाए। जब राम लक्ष्मणले रावणका सेनाहरूलाई टाढाबाट देखे, रामले मायावी बाण प्रहार गरे जसले गर्दा रावणका सेनाहरूले एक अर्कालाई राम लक्ष्मण देख्न थाले र एकअर्कालाई प्रहार गर्न थालेपछि, राक्षसी सेना समाप्त भयो। त्यस्ता मायावी बाणहरूबाट सतर्क रहनुहोला।
सांसदज्यू, हाम्रो समाज नकारात्मक ऊर्जामा बाँचिरहेको देखिन्छ। नकारात्मक टिकाटिप्पणीले होइन रचनात्मक आलोचनाले मात्र सकारात्मक परिणाम दिन्छ। संसदमा केही सांसदहरू घण्टौँसम्म नकारात्मक भाषण दिन सक्छन्, तर सकारात्मक अभिव्यक्ति केही मिनेट पनि प्रस्तुत गर्न सक्दैनन्।त्यसैले यो प्रवृत्ति परिवर्तन गर्दै सकारात्मक सोच, व्यावहारिक दृष्टिकोण र संस्कारयुक्त भाषण गर्ने बानीको विकास गर्नु आवश्यक छ।
सामाजिक सञ्जाल यति नकारात्मक सोच, धारणा र प्रतिक्रियामा गएको छ जहाँ अहिले कुनै व्यक्तिले राज्यलाई कर बुझाएर आफ्नो निजी जीवन बिताउन कठिन भइरहेको छ। अर्कोतिर मनैबाट सामाजिक सेवा गर्छु भन्यो भने पनि त्यसमा विवाद निस्किन्छ। उदाहरणको निम्ति भोकाहरूलाई खाना बाँड्छु भन्दा- किन बाँडियो, कसले भनेर बाँड्यो, कानुनसम्मत छ कि छैन? बिग्रिन लाग्यो भनेर बाँड्न ल्यायो, बिग्रेको हुन सक्छ, भोलि पखाला चल्यो भने जिम्मेवारी को हुन्छ? सोसल मिडियामा भाइरल बन्नको लागि गर्यो। एनजीओबाट बाँड्नका लागि पैसा ल्याएको थियो, आधा आफूले खायो, बाँकी देखाउनका लागि गर्यो, आदि आदि। यस्ता प्रवृत्तिहरूले सकारात्मक कार्यलाई समेत निरुत्साहित बनाउँछन्। निश्चय नै प्रश्न गर्न पाइन्छ, तर त्यो नियम–कानुनको परिधिभित्र रहेर, मर्यादित र जिम्मेवार ढङ्गले हुनुपर्छ, न कि छाडा भएर। त्यसैले प्रश्न गर्ने र सेवा गर्ने दुवै पक्षलाई व्यवस्थित गर्ने स्पष्ट कानुनी व्यवस्था आवश्यक छ।
सामाजिक सञ्जाललाई यति गिजोलो अवस्थामा पुर्याइएको छ कि प्रयोगकर्तालाई कुन सही र कुन झुट छुट्याउन गाह्रो भइरहेको छ। सही खबरसमेत “एआईले बनाएको हो कि?” भन्ने शंका गर्नुपर्ने अवस्था आएको छ।
यस सन्दर्भमा एउटा प्रसङ्ग स्मरणीय छ। रात्रिकालीन क्लबमा एक महिला आफ्नो पहिरन एकपछि अर्को निकाल्दै नाचिरहेकी थिइन्। सुरुमा दर्शकहरूबाट तालीको वर्षा भयो, तर अन्ततः उनी पूर्ण रूपमा निर्वस्त्र भएपछि हेर्न लायक केही बाँकी रहेन र हल स्तब्ध भयो—ताली बन्द भयो। यसले के देखाउँछ भने —जब सामग्रीको स्तर र मर्यादा समाप्त हुन्छ, आकर्षण र विश्वास पनि समाप्त हुन्छ। आज सामाजिक सञ्जाल पनि यही अवस्थातर्फ गइरहेको छ। त्यसैले सामाजिक सञ्जाललाई मर्यादित, जिम्मेवार र विश्वसनीय बनाउन आवश्यक कानुन निर्माण गर्नु अत्यन्त आवश्यक छ।
सरकारले भ्यू टावर बनायो, सुरुङ मार्ग निर्माण गर्यो, ट्राफिक लाइट जडान गर्यो, नक्सामा लिपुलेक समावेश गर्यो—यी सबै कामहरू महत्त्वपूर्ण भए पनि यिनैले मात्र वास्तविक सुशासनको मापन हुँदैन। वास्तविक प्रश्न भनेको प्रक्रिया र मापदण्ड हो— संसदले कतिवटा ऐन जारी गर्यो , संवैधानिक आयोगका पदाधिकारी र राजदूत तथा अन्य राजनीतिक नियुक्तिहरू कसरी गरियो? भ्रष्टाचारका मुद्दामा के नीति अपनाइयो? सम्पत्ति शुद्धीकरणमा कति जनालाई कारबाही गरियो? न्यायाधीशहरूको नियुक्ति कसरी गरियो? यही कुरा सबैभन्दा महत्वपूर्ण हो। त्यसैले तपाईंहरूको प्राथमिकता योग्य व्यक्तिको छनोट गर्नको लागि सही विधि, प्रक्रिया र नियम कानुन बनाउन केन्द्रित हुनुपर्छ।
जनताले युवा, योग्य, इमान्दार र विश्वासिलो सांसदहरू छानेर संसदमा पठाएका छन्। यस परिवर्तनलाई केही पुराना शक्ति केन्द्रहरू र तिनका समर्थकहरूले तपाईँहरू माथि खिसी गर्दै क्षमतामाथि प्रश्नहरू उठाइरहेका छन्। एउटा कथाको सन्दर्भ यहाँ जोड्न चाहन्छु :—कुनै गाउँमा आयोडिनको कमीका कारण अधिकांश मानिसहरूको घाँटीमा गलगाँड देखिन्थ्यो। बिस्तारै त्यही अवस्था सामान्यजस्तो मानियो। यदि त्यहाँ कुनै गलगाँड नभएको व्यक्ति पुग्थ्यो भने उल्टै उसैलाई अनौठो मानिन्थ्यो। ठीक त्यसैगरी, कुशासन, भ्रष्टाचार , नातावाद, कृपावाद पुराना नेतृत्वहरूका घाँटीमा गलगाँड जस्तै बसेका छन्। नयाँ सांसदहरूमा त्यस्तो नदेखिँदा , गलगाँड नभएको व्यक्ति भनेर खिसी गरेको हुनसक्छ।
अन्तमा, प्राकृतिक सुन्दरताले भरिपूर्ण—भगवानले नेपालीलाई उपहार स्वरूप दिएको हाम्रो सानो, शान्त र सुन्दर देश नेपाल सम्भावनाले भरिएको छ। सगरमाथा, भगवान बुद्धको जन्मस्थल र भगवान पशुपतिनाथ जस्ता गौरवपूर्ण पहिचानहरूले नेपाललाई विश्वसामु चिनाएका छन्। यहाँका जनता हँसिला, मिलनसार, क्षमाशील र सरल स्वभावका छन्। उनीहरू छिट्टै क्षमा दिन्छन्, लामो समयसम्म रिस पालेर बस्दैनन्, र दुःखमा पनि मुस्कुराउँदै अगाडि बढ्ने अद्भुत क्षमता राख्छन्। त्यसैले यस्ता सहृदय जनताको एउटै अपेक्षा छ—देश र जनताप्रति तपाईंहरूको इमानदारिता।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण