शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

बिहीबार, १९ चैत २०८२, १५ : ००
बिहीबार, १९ चैत २०८२

सारांश

  • काठमाडौं महानगरपालिकाले २०८३ वैशाख १ गतेदेखि साझा यातायातसँगको सहकार्यमा रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ।
  • ललितपुर र काठमाडौंका विभिन्न स्थानहरू हुँदै बुढानीलकण्ठ र विमानस्थलसम्म दुई रुटमा रात्रिकालीन विद्युतीय बसहरू चल्नेछन्।
  • राति सार्वजनिक यातायात नहुँदा महँगो यात्रा र महिला तथा किशोरीहरुले भोग्नुपरेको समस्यालाई समाधान गर्न यो सेवा सुरु गरिएको हो।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ ।

उत्तर दक्षिणको यो १६ किलोमिटरको एकतर्फी रुट हो । थानकोटदेखि सतुंगल, कलङ्की, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म पूर्व पश्चिम दिशाको एकतर्फी दुरी २० किलोमिटरको हो । यी दुई रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुनेछन् । 

‘बेलुका ८ बजेपछि सार्वजनिक यातायात सञ्चालन नहुँदा महँगो यात्रा गर्नु पर्ने विद्यमान अवस्थामा सुधार गर्न जरुरी भएकोले रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु गर्न लागेका हौँ ।’ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल भन्छिन्, ‘सार्वजनिक यातायात र यसको विकल्प नहुँदा सबैलाई समस्या परेको छ । त्यसमा पनि किशोरी र महिलाहरूले दुर्व्यवहार भोग्नु परेको छ । विद्यार्थीहरूलाई आर्थिक रूपमा धेरै मर्का छ । यो अवस्थामा सुधार गर्न  सेवा दिन लागेका हौँ ।’ 

सेवालाई अत्याधुनिक, एकीकृत, सहज, सुरक्षित र भरपर्दो दिगो प्रणाली बनाउने लक्ष्य हो । यो लक्ष्य पूरा गर्न साझेदारहरूसँग सहकार्य गर्न महानगरपालिका खुला छ । कार्यवाहक प्रमुख डंगोलले बताइन् ।

सेवा प्रारम्भ गर्दा साँझ ८ बजेदेखि राति ११ बजेसम्म बसहरू सञ्चालन हुनेछन् । तोकिएको रुटका बस स्टपहरूमा हरेक २० मिनेटको अन्तरमा बस आउनेछन् । बसमा सीसीटिभी क्यामरा जडान हुनेछन् । सुरक्षाका लागि नगर प्रहरी हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप