अञ्जन श्रेष्ठको भाषणले वस्तुगत अध्यक्षहरू रुष्ट, भन्छन्– यसरी महासंघ चल्दैन
सारांश
- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले एक उम्मेदवारको पक्षमा मत मागेपछि वस्तुगत संघका अध्यक्षहरू रुष्ट बनेका छन्।
- स्वतः अध्यक्ष बन्ने व्यक्तिले कुनै एक समूहलाई समर्थन गर्दा महासंघ विभाजित हुने भन्दै व्यवसायीहरूले असन्तुष्टि जनाएका छन्।
- श्रेष्ठले निर्वाचन जित्न विभिन्न पदको प्रलोभन बाँडेको र उनको उम्मेदवारीमाथि समेत कानुनी प्रश्न उठेको छ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको भाषणका कारण वस्तुगत संघका अध्यक्षहरू रुष्ट बनेका छन् । नेपाल निर्यात व्यवसायी महासंघको वार्षिक साधारणसभा कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले शिव घिमिरे आफ्नो उम्मेदवार रहेको र उक्त समूहलाई जिताउन पोडियमबाटै मत मागेपछि विवाद उत्पन्न भएको हो ।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष श्रेष्ठ स्वतः अध्यक्ष बन्दैछन् । स्वतः अध्यक्ष हुने व्यक्तिले कुनै एक पक्षलाई समर्थन गर्दै खुलेआम भोट माग्न थालेपछि महासंघ विभाजित हुने भन्दै वस्तुगत संघका अध्यक्षहरू रुष्ट भएका हुन् ।
कार्यक्रममा उपस्थित वस्तुगत संघका एक अध्यक्षले भने– स्वतः अध्यक्ष हुने व्यक्ति तटस्थ बस्नुपर्छ, जुन प्यानल जितेर आए पनि महासंघलाई एकढिक्का बनाएर अघि बढाउनुपर्छ । तर वरिष्ठ उपाध्यक्ष श्रेष्ठले निर्यात महासंघको कार्यक्रममा एक पक्षलाई मत मागेर जे गरे, त्यो अत्यन्तै गलत र विवादास्पद छ ।
वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठकै अहमताका कारण अब मतदाताले शिव घिमिरे समूहलाई जिताउन नसकिने समेत ती अध्यक्षको भनाइ थियो ।
महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फ नरेशलाल श्रेष्ठ र शिव घिमिरेले आ-आफ्नो समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् । दुई उम्मेदवारमध्ये नरेशलाल समूह बलियो देखिएसँगै अञ्जन श्रेष्ठ शिव घिमिरेको पक्षमा आक्रामक देखिएका छन् । तर स्वतः अध्यक्ष हुने व्यक्ति कुनै एक पक्षमा आक्रामक देखिँदा मतदाताहरू भने त्यसको विरोधमा उत्रिएका हुन् । साथै अञ्जन श्रेष्ठको विवादास्पद भाषण र कुनै एक पक्षलाई मात्र मत माग्दै हिँड्दा त्यसले भोलिका दिनमा महासंघ नै विभाजनतर्फ जाने र त्यसरी संस्था नचल्ने सम्बद्ध वस्तुगत संघका अध्यक्षहरू बताउँछन् ।
नरेशलाल समूह बलियो देखिएसँगै वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले शिव घिमिरेलाई जिताउन मतदाताहरूलाई मनोनयनदेखि विभिन्न समितिका सभापति दिने जाल फाल्न थालेका छन् । महासंघका अध्यक्ष तथा कार्यकारिणी समितिले जम्मा ७ जना मनोनित गर्न पाउने भए पनि वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले वस्तुगत र जिल्ला-नगरका ५० भन्दा बढी अध्यक्षहरूलाई मनोनित गर्ने भन्दै प्रतिबद्धता दिइसकेको सम्बद्ध स्रोतले जानकारी दिएको छ । यसअघि महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले गलत कार्य गरेको भन्दै विरोध गरेका थिए ।
साथै महासंघको तत्कालीन विधानअनुसार वरिष्ठ उपाध्यक्ष बन्न ५१ प्रतिशत मत आवश्यक रहेकोमा अञ्जन श्रेष्ठले ३७ प्रतिशत मत मात्रै प्राप्त गरेका कारण उनी अध्यक्ष हुने विषयमा समेत कानुनी बाधा हुन सक्ने भन्दै महासंघकै कार्यसमिति बैठकमा प्रश्न उठ्दै आएको छ ।
यदि अञ्जन श्रेष्ठले कुनै एक पक्षलाई च्यापेर महासंघलाई विवादित बनाउन खोजेमा आगामी दिनमा उनलाई नै समस्या पर्ने सम्बद्ध कानुनविद्हरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
-
अत्याधिक गर्मीका कारण धनगढीका विद्यालय बन्द
-
होर्मुजमा जहाज आवागमन घट्यो, बन्दको घोषणापछि बढ्यो अन्योल
-
दुल्लू नगरपालिकाले ल्यायो १ अर्ब ५ करोडको बजेट
-
तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण