आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

समृद्धि सधैँ अलपत्र : होला अब कायाकल्प ?

मङ्गलबार, २४ चैत २०८२, १० : ३७
मङ्गलबार, २४ चैत २०८२

सारांश

  • नेपालको इतिहासमा कान्छा जननिर्वाचित प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाहले कार्यभार सम्हाल्दै सुशासन र विकासको नयाँ यात्रा थालनी गरेका छन्।
  • काठमाडौँ महानगरपालिकामा गरेको सुधार र विकासको शैलीबाट प्रभावित जनताले उनीबाट देशमा पनि त्यस्तै पद्धतिको अपेक्षा गरेका छन्।
  • बालेन सरकारले शिक्षा, स्वास्थ्य, रोजगारी र राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राखेर समृद्धिको लक्ष्य हासिल गर्नुपर्ने आवश्यकता छ।

नेपालको इतिहासमा सबैभन्दा कान्छा जननिर्वाचित प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाह (बालेन) उदाएका छन् । अझ मधेसले प्रतिनिधित्वको हिसाबले पहिलो पटक प्रधानमन्त्री पाएको छ । कम उमेरका प्रधानमन्त्री पाउँदा युवाहरूमा उत्साह र उमङ्ग देखिन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनपूर्व काठमाडौँ महानगरका पूर्वमेयर तथा लोकप्रिय युवानेता शाहलाई भावी प्रधानमन्त्रीका रूपमा उभ्याएको थियो । उनैको लोकप्रियताका कारण रास्वपाले जनताको अत्यधिक मतसमेत पायो । करिब दुई तिहाइ बहुमत (१८२ सिट) ल्याउन सफल भयो । 

फलस्वरूप रास्वपाले एकल बहुमतको शक्तिशाली सरकार बनाएको छ र रकेट गतिमा काम सुरु गरिसकेको छ । सुशासन, खर्च कटौती र विकास बजेटका लागि स्रोत उत्खननका खातिर सरकारले काम थालिसकेको छ । बालेन सरकारले शपथ खाएको पहिलो दिनमै १०० वटा कार्यसूची मन्त्रिपरिषद्बाट पारित गरी अघि बढाएको छ ।

रास्वपाको बाचापत्रअनुसार सरकारको प्रमुख नारा नै विकास र सुशासन छ । उसले कूटनीतिमा पनि आर्थिक कूटनीति अख्तियार गर्ने प्रचार गरिरहेको छ । नयाँ हौँ, केही गर्छौँ, सुशासन ल्याउँछौँ, आधुनिक विकास निर्माण गरेर देखाउँछौँ, देशलाई सिस्टममा चलाउँछौँ र भ्रष्टाचार त गर्दै गर्दैनौँ, बरु बेरोजगारी हल गर्न लाखौँ रोजगारी सिर्जना गर्छौँ भनेकै कारण रास्वपालाई जनताले अत्यधिक मत दिए । अझ भनौँ, समृद्धिका खातिर घण्टी बजाइदिए ।

बालेन शाहका कमीकमजोरी नभएका होइनन् । उनी बोल्दै बोल्दैनन् । सार्वजनिक बहसमा रुचि राख्दैनन् । प्रश्नहरूबाट समेत भाग्छन् भन्नेहरू धेरै छन् । कहिलेकाहीँ सामाजिक सञ्जालमा उग्र लेख्छन् ।

बालेन शाहले काठमाडौँ महानगरपालिकामा रहेर गरेका सुधार र विकास निर्माणले जनतालाई प्रभावित तुल्याएको थियो । बालेनले महानगरको नेतृत्वमा रहँदा मिचिएका अनगिन्ती सरकारी जग्गाहरूमा डोजर लगाएर फिर्ता ल्याएका थिए । फुटपाथलाई हटाएर काठमाडौँ महानगरको सौन्दर्यीकरण बढाएका थिए । सडकपेटीलाई व्यवस्थित बनाउन, पाटीपौवा तथा सांस्कृतिक सम्पदाहरूलाई पुनर्निर्माण तथा नवनिर्माण गर्न, सहर सफा गर्न र हरियाली बनाउन भूमिका खेलेका थिए । 

त्यसैगरी काठमाडौँ महानगरमा रहेका निजी स्कुल तथा अस्पतालहरूमा गरिब तथा निमुखाहरूलाई १० प्रतिशत निःशुल्क कोटा छुट्याउने व्यवस्था लागू गराए । मूलतः यिनै कामहरूबाट उनीप्रति जनता धेरै आशावादी देखिए । उनले महानगरको कामकारबाहीलाई डिजिटलाइज गरे । सिस्टममा ढाल्ने प्रयास गरे । फलस्वरूप देशैभरिका जनताले उनीबाट त्यही हिसाबको सिस्टमको आशा गरे । समृद्धिका लागि आशा गरे । फलतः उनी र उनको पार्टीलाई मत प्रकट गरे ।

बालेन शाहका कमीकमजोरी नभएका होइनन् । उनी बोल्दै बोल्दैनन् । सार्वजनिक बहसमा रुचि राख्दैनन् । प्रश्नहरूबाट समेत भाग्छन् भन्नेहरू धेरै छन् । कहिलेकाहीँ सामाजिक सञ्जालमा उग्र लेख्छन् । जेपीटीसमेत लेख्छन् र तुरुन्त डिलिट पनि गर्छन् । सरसर्ती हेर्दा उनको स्वभाव अलि रिसाहा छ । ती कुराहरूको धेरै नै आलोचना हुने गरेको छ । तर उनको काम गर्ने शैली, रफ्तार र निष्कलङ्क छवि देशवासीले रुचाएका विषय हुन् । तिनै कुराले उनी मन पराइए र प्रधानमन्त्रीसमेत बने । के अब देशले समृद्धिको दिशा समात्ला ? के देश काठमाडौँ महानगरझैँ सिस्टममा चल्ला ? के बालेनले काम गर्ने मामिलामा काठमाडौँ महानगरकै शैली अपनाउलान् ? धेरैले हेरिरहेका छन्, देशले हेरिरहेको छ । उनलाई मत दिएका मतदाताहरूले मात्रै होइनन्, पूरै देशले बालेनबाट समृद्धिको यात्रा सुरुवात हुने आशा गरेको छ ।

  • समृद्धिको सपना

समृद्ध नेपालको सपना नेपाली जनताको सबैभन्दा प्यारो र रुचिकर सपना हो । जुन सपना आजको होइन, सदियौँको हो तर विपना हुन सकिरहेको छैन । ५० को दशकमा नेपालले सहयोग गर्ने देश दक्षिण कोरिया अहिले विश्वको पहिलो श्रेणीको विकसित देश बनिसकेको छ । एक दशकअघिसम्म नेपालको भन्दा बिजोग अवस्था रहेका भारत तथा भुटानको प्रतिव्यक्ति आय ३ हजार डलर नाघिसकेको छ । केही दशकअघिसम्म नेपालकै झैँ आर्थिक अवस्था रहेका अरू धेरै देशहरूले रकेट गतिमा समृद्धिको यात्रा तय गरिरहेका छन् । तर नेपाल भने आन्तरिक किचलो र झैझगडामा अल्झिएर समृद्धिको दृश्यबाट कतै हराएको छ र विश्वका देशहरूको विकास र समृद्धि टुलुटुलु हेरिरहेको छ । हो, त्यसरी अरूको विकास मात्र हेर्न नपरोस् र आफ्नै देश समृद्धिको दिशामा अघि बढोस् भन्नका लागि जनताले यसपटक ‘नयाँले गर्छन् कि’ भनेर घण्टी बजाएका हुन् ।

विगतका सरकारहरूले केही नै गरेनन् भन्ने त होइन । आंशिक रूपमा केही त गरे । फेरि सरकारमा गएपछि ढोडकै लौरो उभ्याउँदा पनि केही त गर्छन् नै । तर वास्तविक सपना साकार त्यो बेला हुन्छ, जतिबेला नेतृत्वमा रहेकाहरूको ध्यान फगत समृद्धिमा मात्रै हुन्छ । समृद्धि हासिल गर्न नेतृत्वले निरन्तर तन, मन, ध्यान र दिमाग लगाएर काम गर्नुपर्छ । अहिले राजनीतिमा कम रुचि भएका, सङ्गठन वा संकथनमा रुचि नै प्रायः नभएका बालेन शाह 'शुद्ध काम गर्छु, काम दिनुस्' भनेर उदाएका छन् । हेरौँ, आजसम्म हाम्रा राजनीतिज्ञ प्रधानमन्त्रीहरूले केही गर्न नसकेको अवस्थामा प्राविधिक खालका इन्जिनियर प्रधानमन्त्रीले देशलाई समृद्धिमा डोर्याउँछन् कि !

  • मौलिकतासहितको विकास

नेपाल भूगोलका हिसाबले विश्वको ४० औँ नम्बरको मध्यम स्तरको देश हो । ३ करोड जनसङ्ख्या भएको विकासशील देशमा उक्लँदै गरेको राष्ट्र हो । प्राकृतिक सम्पदा र संस्कृतिले सम्पन्न देश भएकोले यहाँ मूलतः ऊर्जा र पर्यटन क्षेत्र समृद्धिका मूल कडी हुन् । त्यस अलावा प्राङ्गारिक कृषि र जडीबुटी यस देशका सम्भावनाका क्षेत्र हुन् ।

हिमाल, पहाड र तराईको अनुपम संयोजन रहेको यस देश प्राकृतिक सुन्दरताले परिपूर्ण छ । कृषि उत्पादन र जडीबुटीको भण्डार रहेको नेपाल विशाल चीन र भारतको बीचमा अवस्थित छ । त्यसकारण हामीले तरिका जान्ने हो भने हाम्रा वस्तु तथा सेवाको दृष्टिकोणले पनि हामी ठूलो बजारको सामीप्यमा छौँ । बाटोघाटो, बिजुली, खानेपानी, विद्यालय र स्वास्थ्यचौकी जस्ता आधारभूत पूर्वाधारहरूमा समेत देशले निकै प्रगति गरिसकेको अवस्था छ । देशका हरेक सदरमुकाम पिच सडकले जोडिइसकेका छन् । गाउँगाउँ र दूरदराजसम्म पक्की सडकहरू पुगिसकेका छन् । समकालीन नेपालको सबैभन्दा खड्किएको विषय भनेको रोजगारी र उद्यमशीलताको विकास हो । पर्यटनको यथोचित प्रवर्द्धन गर्नुपर्ने विषय हो । विश्वका अग्ला हिमालहरूमध्ये सगरमाथासहित ८ वटा अग्ला हिमाल नेपालमै अवस्थित छन् । हिमाल र हिमाली बसोबास, संस्कार र संस्कृति हेर्न नेपालबाहेक विश्वमा अर्को विकल्प छैन । अग्ला गगनचुम्बी महाभारत पर्वतहरू हेर्न र त्यहाँ पाइने अनेकन् प्रजातिका फूल तथा जनावर हेर्न नेपालबाहेक अर्को विकल्प छैन । त्यसकारण सुन्दर नेपालको निकै सुन्दर चित्र कोर्ने बेला आएको छ । नेपाललाई मौलिक हिसाबको विकास र समृद्धिको उचाइ भर्ने बेला आएको छ ।

बालेन सरकारले खासगरी शिक्षा, स्वास्थ्य र रोजगारी अनि ग्रामीण क्षेत्रका आवश्यक पूर्वाधार निर्माणमा जोड दिनुपर्छ । त्यस अलावा २६ वटा जुन राष्ट्रिय गौरवका निर्माणाधीन आयोजना छन्, ती समयमै सक्नेगरी लाग्नुपर्छ ।

हाम्रो देशलाई कृत्रिम रूपमा विकसित भनिएका देशहरू जस्तो होइन, रोजगारी र उद्यमले सम्पन्न मौलिक विकासले हराभरा बनाउन जरुरी छ । हामीले आइफल टावर अथवा बुर्ज खलिफा होइन, सांस्कृतिक रूपले सम्पन्न बस्तीहरू बनाउनु छ । किनकि आइफल टावरहरू हाम्रा सगरमाथाका फेदी बराबर पनि होइनन् । ती कुनै पनि कारण ढल्न सक्छन् तर हाम्रो प्रकृतिका देव सगरमाथाहरू कहिल्यै ढल्नेछैनन् ।

बालेन सरकारले खासगरी शिक्षा, स्वास्थ्य र रोजगारी अनि ग्रामीण क्षेत्रका आवश्यक पूर्वाधार निर्माणमा जोड दिनुपर्छ । त्यस अलावा २६ वटा जुन राष्ट्रिय गौरवका निर्माणाधीन आयोजना छन्, ती समयमै सक्नेगरी लाग्नुपर्छ । लगानीका प्लेटफर्महरू, सेयर बजार, कम्पनी दर्ता तथा सञ्चालनका सरकारी झन्झट, कर्मचारीहरूको ढिलासुस्ती तथा जनताका साना कामहरूमा हुने झन्झटिला प्रावधान शीघ्र रूपमा हटाउनुपर्छ । निजी क्षेत्र तथा विदेशी लगानीका लागि प्रोत्साहनकारी नीति लिइनुपर्छ । नीतिगत रूपमा अत्यन्त सुन्दर व्यावसायिक वातावरण बनाइनुपर्छ । 

त्यसैगरी सरकारले २१ प्रतिशत जुन गरिबी छ, त्यसलाई ५ वर्षमै शून्यमा झार्ने लक्ष्यसहित काम गर्नुपर्छ । प्रगतिशील करमार्फत धनी र गरिबको खाडल हटाउने र नेपाली अर्थतन्त्रलाई विश्व अर्थतन्त्रसँग जोड्ने गरी काम गर्नुपर्छ । बालेन सरकारले आफ्नो विगतको अनुभवका आधारमा काम गर्नुपर्छ । विदेशी लगानी भित्र्याउन जोड दिनुपर्छ । ५ वर्ष स्थिर सरकार र व्यवसायमैत्री वातावरण खडा गर्नुपर्छ ।

देशलाई दीर्घकालीन विकास, निर्माण र समृद्धिको बाटोमा हिँडाउनुपर्छ । नेपाली जनतालाई चाहिएको विकास हो, समृद्धि हो । वर्ष–वर्षमा फेरिने प्रधानमन्त्री, अस्थिर सरकार र खिचातानी देश विकासका बाधक हुन् । बालेन सरकार स्थिर होस् र समृद्धिको जनचाहना पूरा गर्ने गरी अघि बढोस् । शुभकामना ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रिसव गौतम
रिसव गौतम
लेखकबाट थप