सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

कृष्ण प्रसाद भट्टराई स्मृति कराते : फाइनल समीकरण पूरा

शनिबार, २८ चैत २०८२, ०६ : २६
शनिबार, २८ चैत २०८२

सारांश

  • पाँचौँ कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो दिन विभिन्न तौल समूहका फाइनल समीकरण पूरा भएका छन्।
  • सेमिफाइनल खेलहरूबाट फाइनल पुग्ने खेलाडीहरूको टुङ्गो लागेसँगै विभागीय टोली र विभिन्न प्रदेशका खेलाडीबिच स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने भएको छ।
  • प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीका २१० खेलाडीहरूले सहभागिता जनाएका छन्।

काठमाडौँ । सातदोबाटोस्थित कराते एकेडेमीमा जारी पाँचौँ कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो दिन विभिन्न तौल समूहका फाइनल समीकरण पूरा भएका छन्। बागमती प्रदेशका निवर्तमान खेलकुद मन्त्री मीनकृष्ण महर्जनको परिकल्पना र ललितपुरको लगनखेल डोजोद्वारा आयोजित यस प्रतियोगितामा स्वर्ण पदकका लागि विभागीय टोली र विभिन्न प्रदेशका खेलाडीबिच रोचक प्रतिस्पर्धा हुने देखिएको छ। 

शुक्रबार सम्पन्न सेमिफाइनल खेलहरूबाट फाइनल पुग्ने खेलाडीको टुङ्गो लागेसँगै पदक तालिकामा वर्चस्व जमाउन टोलीहरूबिच रस्साकस्सी सुरु भएको छ। महिला ५५ केजी तौल समूहमा नेपाल पुलिस क्लबकी सविना श्रेष्ठ र त्रिभुवन आर्मी क्लबकी प्रियंका शाहीले फाइनलमा स्थान बनाएका छन्। 

सविनाले कोशी प्रदेशकी सृजना खुलाललाई १२–५ को फराकिलो अन्तरले हराइन् भने प्रियंकाले कर्णालीकी अर्की प्रियंका शाहीलाई ३–० ले पराजित गरिन्। यस्तै पुरुष ५५ केजीमा पुलिसका एलोन श्रेष्ठ र बागमतीका निश्चिल घले उपाधि भिडन्तका लागि तयार भएका छन्। 

५० केजी पुरुषतर्फ एपीएफका राकेश मानन्धर र गण्डकीका बमिन गुरुङ फाइनल पुगेका छन् भने महिला ५० केजीमा बागमतीकी पार्वती श्रेष्ठ र एपीएफकी अन्जली महर्जनले स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा विभागीय टोलीका खेलाडीहरूको प्रदर्शन निकै प्रभावशाली देखिएको छ। महिला ६८ केजी मुनि पुलिसकी एलिसा राई र आर्मीकी सम्पदा केसी फाइनलमा पुगेका छन्। पुरुष ६० केजीमा मधेस प्रदेशका रितिक थिङले एपीएफका मिनबहादुरसँगको भेट पक्का गरेका छन् भने ८४ केजी मुनि एपीएफका मोहम्मद शेखु आलम र लुम्बिनीका कृष्ण बुढा मगरबिच प्रतिस्पर्धा हुनेछ। 

त्यस्तै महिला ४५ केजी मुनि पुलिसकी वर्षा बुढा र एपीएफकी आस्था लुहार तथा पुरुष ६७ केजीमा पुलिसका सन्तोष श्रेष्ठ र एपीएफका प्रदीप बैजाली मगरले स्वर्ण पदकका लागि भिड्ने पक्का भएको छ। अन्य तौल समूहहरूमा ६१ केजी महिलातर्फ आर्मीकी श्रद्धा सुनार र पुलिसकी निरुपा दोङ तामाङ, ७५ केजी पुरुषमा आर्मीका सिबु ओड र पुलिसका राजीव पुडासैनी तथा ६८ केजी महिलामा एपीएफकी महिमा राई र आर्मीकी श्रद्धा थापाले फाइनल यात्रा तय गरेका छन्। 

७ प्रदेश र ३ विभागीय टोलीका २१० खेलाडी सहभागी यस प्रतियोगिताको टिम च्याम्पियनले १ लाख ५० हजार, दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। विधागत उत्कृष्ट खेलाडीहरूलाई २५ हजार रुपैयाँ र उदीयमान खेलाडीलाई विशेष पुरस्कार प्रदान गरिने आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप