‘हामी त एउटा फूल पनि भाँच्दैनौँ भनेर आन्दोलनमा गएका थियौँ’
सारांश
- जेनजी आन्दोलनकी अगुवा रक्षा बमले आन्दोलनका क्रममा भएको विध्वंस र हिंसाको घटनाबारे कार्की आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने माग गरेकी छिन्।
- आन्दोलनका क्रममा आफूहरू शान्तिपूर्ण रूपमा प्रस्तुत भएको बताउँदै उनले हिंसात्मक घटना कसरी भयो भन्ने कुराको सत्यतथ्य छानबिन हुनुपर्नेमा जोड दिएकी छिन्।
- आन्दोलनमा घाइते भएका प्रकाश बोहराले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीको रिहाइप्रति असन्तुष्टि जनाउँदै न्यायलयमा शुद्धिकरणको आवश्यकता औंल्याएका छन्।
सुर्खेत । भदौ २३ र त्यसको भोलिपल्ट नेपालमा ठुलो आन्दोलन भयो । २३ गते जेनजीका नाममा आन्दोलन हुँदा स्कुल पोसाकमै २२ जना विद्यार्थीको मृत्यु भयो । र यसको परिणामस्वरुप २४ गतेको आन्दोलन थप हिंसात्मक र उग्र बन्यो । देशभरका सरकारी कार्यालयसँगै अर्बौँको क्षति मात्र भएन । अरू ५४ जनाले पनि अनाहकमा ज्यान गुमाउनुपर्यो ।
मुख्यतः जेनजीको मुद्दा र मागमा केन्द्रित उक्त आन्दोलन कसरी विध्वसंमा परिणत भयो ? स्कुले बालबालिकामाथि किन राज्य गोली चलाउनुपर्ने निर्मम अवस्थामा पुग्यो ? यसबारे जेनजी आन्दोलनकी अगुवा रक्षा बम भन्छिन् – भदौ २३ गते शान्तिपूर्ण रूपमा आन्दोलन हुने भनिएको थियो, तर किन यस्तो अवस्था आयो त्यसमा उनी पनि अनुत्तरित छिन् ।
शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली उत्सवको ‘जेनजीः सडकदेखि सदनसम्म’ सत्रमा बोल्दै बमले भदौ २४ गते भएको विध्वंसको आफूहरूले पनि अनुसन्धान हुनुपर्ने माग गरिरहेको बताएकी थिइन् ।
‘हामीले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ भनेर आवाज उठायौँ, त्यो सार्वजनिक गर्नु भनेको हामीले न्याय पाउनु हो भन्ने हामीले ठानेका थियौँ,’ उनले भनिन्, ‘लिक भयो, तर सार्वजनिक सरकारले गरेन ।’
यद्यपि त्यो प्रतिवेदनको आधारमा तत्कालीन प्रधानमन्त्रीदेखि गृहमन्त्रीलाई कारबाहीको सिफारिस गर्नुले केही न्याय पाएको अनुभूति भएको बताइन् ।
‘हामीलाई लाग्यो, हामीले शान्तिपुर्ण आन्दोलन गरेका थियौँ, तर कसरी आन्दोलन विध्वंशतिर गयो,’ उनले थपिन्, ‘हामी त एउटा फुल पनि भाँच्दैनौँ भनेर आन्दोलनमा गएका थियौँ ।’ तर, कसरी हिंसात्मक बन्यो भन्ने कुरा पत्ता लगाउन पनि आफुहरूले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्छ भनेर भनिएको उनले बताइन् ।
‘हामी अझै चाहन्छौँ, २४ गतेको विध्वंशको पनि छर्लङग हुनुपर्छ,’ उनले अगाडि भनिन्, ‘हामी दोस्रो दिनको वास्तविकता हामी जान्न चाहन्छौँ ।’ त्यो विषयमा अध्ययन हुनुपर्ने उनको भनाइ छ । बमले जेनजी आन्दोलनको मुद्दाका रुपमा तत्कालीन प्रधानमन्त्रीदेखि गृहमन्त्री र पुराना दलहरूलाई समाजले सजाय दिइसकेको बताइन् ।

‘न्याय भनेको कानुनी र सामाजिक हुन्छ, कानुनी रुपमा तत्कालीन प्रम र गृहमन्त्री पक्राउ पर्नुभयो, अदालतमा मुद्दा गयो, उहाँहरू छुट्नुभयो,’बमले थप भनिन्, ‘यो विधिको शासन हो । कानुनी प्रक्रिया हो ।’ अर्को जेनजी आन्दोलनमा मुद्दाहरूको मुख्य कुरा परिवर्तनको थियो, जुन निर्वाचन माफर्त जनताले नयाँ पुस्तालाई रोजिसकेको उनको भनाइ छ ।
तथापि आम नागरिकले जबसम्म परिवर्तन, सुशासनको आभाष गर्न सक्दैनौँ तबसम्म जेनजी आन्दोलनका मुद्दाहरूले मुर्तरुप नपाउने बम बताउँछिन् ।
बमले आफु सँधै सडकबाट खबरदारी गरिरहने पनि बताइन् ।
अहिलेको सरकारबारे उनले भनिन्, ‘जेनजी पुस्तालाई अनेक आरोप लाग्दा मलाई चाहिँ खुलदुली भइरहने । यो पुस्ता पनि भ्रष्टाचार, बेथितिमा लाग्छ भन्ने आरोप पनि छ, मलाई के लाग्छ भने भ्रष्टाचारी र बेथिति गर्ने भन्ने उमेरले होइन् । सोच विचारले होला ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद समेत रहेका मनिष खनाल सुशासन हुनुपर्छ भनेर नै आफुहरू आन्दोलनमा सरिक भएको बताए । ‘पुस्तान्तरणसहितको रुपान्तरण आवश्यक हो भनेर नै हामी आन्दोलनमा होमिएको हो,’ उनले भने,‘त्यो भयो पनि, अब सुशासनका विषयमा हामी काम गर्ने छौँ ।’
अस्थिरतामा रहेको देशलाई स्थिरता दिने काम रास्वपाले गरेको उनले बताए ।
अर्का युवा धीरज जोशीले सरकार, सडक मात्र होइन् समग्र देशलाई हेरेर सत्ता सञ्चालन, सेवा प्रवाहको कुरालाई महत्त्वपूर्ण मान्नुपर्ने बताए । ‘आन्दोलन हुन्छन्, सरकार बन्छन्, तर राष्ट्रिय सुरक्षा, अखण्डताका विषयमा कसरी काम गर्नुपर्छ भन्ने कुरा महत्त्वपुर्ण हुन्छ,’ उनले भने ।
जेनजी आन्दोलनका घाइते प्रकाश बोहोराले जेनजी आन्दोलनले अझै न्याय नपाएको बताए ।
आन्दोलनको आइकन बनेको उनको जुत्ताबारे थप प्रष्ट पार्दै भने, ‘हाम्रो उद्देश्य भनेको देशमा भएको भ्रष्टाचार, नातावाद कृपावाद, बेथितिकाविरुद्धको थियो ।’ उक्त रगतले न्याय पाउने छ भनेर अहिलेको रास्वपाको दुई तिहाईको सरकार बनेको र त्यसमा आफुलाई आशा रहेको बताए ।
बोहोराले जेनजी आन्दोलनमा दमन गर्ने तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक रिहा हुँदा आफुलाई दुख लागेको बताए ।
‘उनीहरूले बन्दुककोे नालले हामीलाई मारेको थियो, तर न्यायलयले कुन किसिमले, कुन धारामा टेकेर छोडयो थाह भएन,’ उनले भने, ‘हस्पिटलमा राखेर ल है घर जाउ भनियो । त्यो गलत भइरहेको छ ।’ उनले अहिलेको अवस्था हेर्दा न्यायलयमै शुद्धिकरण आवश्यक रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: रास्वपाको ‘प्रदेश सभा खारेज’ प्रस्तावको विरोधदेखि एन्फा निलम्बनमासम्म
-
रास्वपा उपसभापतिमा मन्त्री विराज भक्त श्रेष्ठको उम्मेदवारी घोषणा
-
रास्वपा सह–महामन्त्रीमा असिम शाहको उम्मेदवारी घोषणा
-
कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित
-
पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता
-
विदेश पठाउने नाममा ४७ लाख ९२ हजार ठगी गर्ने ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण