‘अभि ना जाओ छोडकर’ गाएर गरियो आशा भोसलेको अन्तिम बिदाइ
सारांश
- भारतीय गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा मुम्बईमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
- अन्त्येष्टिको समयमा उपस्थित जनसमुदायले उनको प्रसिद्ध गीत गाएर भावपूर्ण बिदाइ गरेका छन्।
- प्रधानमन्त्री मोदी, राष्ट्रपति मुर्मुसहितका विशिष्ट व्यक्तिहरूले उनको सांगीतिक योगदानको स्मरण गरेका छन्।
काठमाडाैँ । भारतीय संगीत जगतकी शिखर व्यक्तित्व एवं प्रसिद्ध गायिका आशा भोसलेको सोमबार मुम्बईको शिवाजी पार्कमा पूर्ण राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। मुटुको समस्याका कारण अस्पताल भर्ना भएकी ९२ वर्षीया भोस्लेको आइतबार निधन भएको थियो।
दुई पटक ग्रामी अवार्डका लागि मनोनीत भएकी भोस्लेको अन्तिम संस्कारमा भारतका वरिष्ठ राजनीतिज्ञ, बलिउडका हस्ती र खेलकुद क्षेत्रका प्रसिद्ध व्यक्तित्वहरूसहित हजारौँ सर्वसाधारणको उपस्थिति रहेको थियो। अन्तिम संस्कार अघि उनको पार्थिव शरीरलाई भारतीय झण्डामा बेरेर मुम्बईस्थित निवासमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो।
त्यहाँबाट सेतो फूलले सजिएको ट्रकमा उनको शवयात्रा निकालिँदा सडकका दुवै किनार, घरका छत र बाल्कोनीमा बसेर मानिसहरूले आफ्नी प्रिय गायिकालाई आँसुका साथ बिदाइ गरेका थिए। अन्त्येष्टि स्थलमा उनलाई गन सल्युट मार्फत सम्मान व्यक्त गरिएको थियो।
चितामा दागबत्ती दिनुअघि त्यहाँ उपस्थित सबैले उनकै प्रसिद्ध गीत ‘अभि ना जाओ छोडकर’ गाउँदा वातावरण निकै भावुक बनेको थियो।
प्रधानमन्त्री नरेन्द्र मोदीले भोस्लेलाई भारतले चिनेको सबैभन्दा बहुमुखी र प्रतिष्ठित स्वरको रूपमा स्मरण गरेका छन् भने राष्ट्रपति द्रौपदी मुर्मुले उनको निधनलाई संगीत प्रेमीहरूका लागि अपूरणीय क्षति भनेकी छिन्। बलिउड अभिनेता शाहरुख खानले उनको स्वरलाई भारतीय सिनेमाको एउटा बलियो खम्बाको रूपमा चित्रण गरेका छन्।
त्यस्तै, क्रिकेटर सचिन तेन्दुलकरले ’आशा ताई’ आफ्नो परिवार जस्तै रहेको र उनका गीतहरू सधैँ अमर रहने बताए। भोस्लेको सम्मानमा आइतबारको आईपीएल खेलमा मुम्बई इन्डियन्सका खेलाडीहरूले कालो पट्टी बाँधेर एक मिनेट मौनधारण समेत गरेका थिए।
आठ दशक लामो सांगीतिक यात्रामा भोस्लेले विभिन्न भाषा र विधामा हजारौँ गीतहरू रेकर्ड गराइन्। सन् १९३३ मा सांगीतिक परिवारमा जन्मिएकी उनले दिदी लता मंगेशकरसँगै बाल्यकालदेखि नै गाउन सुरु गरेकी थिइन्। दिदी लतासँग तुलना हुने गरे पनि आशाले आफ्नो छुट्टै र बोल्ड पहिचान बनाएकी थिइन्।
संगीतका अलावा उनी खाना पकाउन निकै शौखिन थिइन्। जीवनको उत्तरार्धमा पनि उनी नयाँ प्रयोग गर्न हिचकिचाउँदैनथिन्, जसको उदाहरण सन् २०२६ मा ब्रिटिस ब्यान्ड गोरिल्लाजसँगको सहकार्यलाई लिन सकिन्छ। उनको निधनसँगै भारतीय संगीतको एक स्वर्णिम युगको अन्त्य भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण