शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

आँखा स्वास्थ्य सेवा र शिक्षा विस्तार गर्न तिलगंगा र बिपी प्रतिष्ठानबिच सम्झौता

बुधबार, ०२ वैशाख २०८३, २२ : २९
बुधबार, ०२ वैशाख २०८३

सारांश

  • तिलगंगा आँखा प्रतिष्ठान र बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबिच आँखा स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धान विस्तारका लागि सम्झौता भएको छ।
  • सम्झौता अनुसार तिलगंगाका विशेषज्ञहरूले बिपी प्रतिष्ठानमा नियमित रूपमा ओपिडी तथा शल्यक्रिया सेवा र चिकित्सकहरूलाई विशेष तालिम प्रदान गर्नेछन्।
  • दुवै संस्थाले संयुक्त अनुसन्धान कार्यक्रम सञ्चालन गर्ने र पूर्वी क्षेत्रमा आँखा जाँच तथा शल्यक्रिया शिविर आयोजना गर्ने भएका छन्।

काठमाडौँ । आँखा स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानलाई थप सुदृढ बनाउने उद्देश्यले तिलगंगा आँखा प्रतिष्ठान र बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बिच संस्थागत आदानप्रदानमार्फत शिक्षण, अनुसन्धान र व्यावसायिक क्षमता अभिवृद्धि गर्ने लक्ष्यका साथ सम्झौता भएकाे छ ।

बुधबार तिलगंगा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा दुई संस्थाबिच व्यावसायिक क्षमता अभिवृद्धि गर्ने लक्ष्यका साथ सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

सम्झौता अनुसार अब तिलगंगा आँखा प्रतिष्ठानका विशेषज्ञ प्राध्यापकहरूले नियमित रूपमा धरानस्थित बिपी प्रतिष्ठानमा आँखाका विभिन्न उपविशेषज्ञता सेवा अन्तर्गत ओपिडी तथा शल्यक्रिया सेवा सञ्चालन गर्नेछन् । यसका साथै तिलगंगाले बिपी प्रतिष्ठानमा आरओपी स्क्रिनिङ्ग, उप विशेषज्ञ शल्यक्रिया तथा लेजरसम्बन्धी तालिम प्रदान गर्नेछ भने त्यहाँका प्राध्यापक तथा रेसिडेन्ट चिकित्सकहरूका लागि शैक्षिक कक्षाहरू पनि सञ्चालन गर्नेछ ।

यस सहकार्यले अनुसन्धानको क्षेत्रलाई पनि समेट्नेछ, जहाँ क्लिनिकल तथा सामुदायिक आँखा स्वास्थ्यका विभिन्न विषयमा प्रतिष्ठानलाई सहयोगात्मक अनुसन्धान केन्द्रका रूपमा समावेश गरी संयुक्त अनुसन्धान कार्यक्रम अगाडि बढाइनेछ । त्यस्तै, प्रतिष्ठानका रेसिडेन्ट चिकित्सकहरूले तिलगंगामा आएर विभिन्न उप विशेषज्ञ क्लिनिकहरूमा ‘क्लिनिकल पोस्टिङ्ग’ को अवसर पाउनेछन् ।

सम्झौतामा तिलगंगाका प्राध्यापकहरूले प्रतिष्ठानद्वारा सञ्चालन गरिने प्राध्यापक क्षमता अभिवृद्धि तालिममा सहभागिता जनाउने र पूर्वी क्षेत्रका अन्य आँखा अस्पतालहरूलाई समेत सामेल गराई बिपी प्रतिष्ठान परिसरमा नियमित चिकित्सकीय शिक्षा कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । साथै, दुवै संस्था मिलेर आँखा जाँच शिविर तथा शल्यक्रिया शिविरहरू पनि आयोजना गर्नेछन् ।

सम्झौता पत्रमा तिलगंगाका तर्फबाट कार्यकारी प्रमुख प्रा. डा. सन्दुक रुइत र बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तर्फबाट उपकुलपति प्रा. डा. विक्रमप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप