पूर्वीय दर्शन र एआईको फ्युजन, ‘कर्सर काठमाडौं बिल्डाथन’मा नयाँ प्रविधि प्रस्तुति
सारांश
- काठमाडौंमा आयोजित 'कर्सर काठमाडौं बिल्डाथन'मा पूर्वीय दर्शन र आधुनिक एआई प्रविधिको संयोजन गरी विभिन्न नवीन प्रविधिहरू प्रस्तुत गरिएका छन्।
- ह्याकाथनमा सहभागीहरूले योग, ध्यान र वास्तु शास्त्रलाई प्रविधिसँग जोड्दै स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न सफ्टवेयरहरू निर्माण गरेका छन्।
- प्रतियोगितामा 'रियल-टाइम वास्तु रिपोर्टिङ एप' जस्ता उत्कृष्ट उत्पादनहरू प्रस्तुत गर्ने सहभागीहरूलाई नगद र कर्सर क्रेडिट पुरस्कार प्रदान गरिएको छ।
काठमाडौं । अर्बौं डलर भ्यालुएसन भएको विश्वप्रसिद्ध एआई कोडिङ कम्पनी 'कर्सर'को आयोजनामा 'कर्सर काठमाडौं बिल्डाथन' सम्पन्न भएको छ। यस ह्याकाथनमा परम्परागत पूर्वीय दर्शन र आधुनिक आर्टिफिसियल इन्टेलिजेन्सको संयोजन गर्दै स्वस्थ जीवनशैली र मानव कल्याणका लागि नवीन प्रविधिहरूको विकास गरिएको थियो।
केवल प्राविधिक प्रतिस्पर्धामा मात्र सीमित नरही, नेपालको मौलिक पहिचानसँग जोडिएको योग, ध्यान, र मानसिक स्वास्थ्यलाई प्रविधिसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा यो कार्यक्रम केन्द्रित थियो। विश्वभर वेलनेस इकोनोमी बढिरहेको सन्दर्भमा यो ह्याकाथन निकै सान्दर्भिक देखिएको आयोजकको भनाइ छ ।
सहभागीहरूलाई प्रोत्साहित गर्न कर्सरले कार्यक्रममा सहभागी सबैलाई ५० डलर बराबरको कर्सर क्रेडिट प्रदान गरेको थियो। त्यस्तै, उत्कृष्ट उत्पादन निर्माण गर्ने विजेताहरूलाई १ हजार डलर बराबरको कर्सर क्रेडिट र नगद १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो।
स्वस्थ र सुखी जीवनको थिममा आधारित यस ह्याकाथनमा निर्माण गरिएको 'रियल-टाइम वास्तु रिपोर्टिङ एप'ले विशेष ध्यान तानेको थियो। क्याड जस्ता जटिल सफ्टवेयरको ज्ञान नभएका सामान्य मानिसले पनि यसको प्रयोग गर्न सक्छन्।
यस सफ्टवेयरमा 'ड्र्याग एन्ड ड्रप' गरेर सजिलै घरको नक्सा र फर्निचर लेआउट डिजाइन गर्न सकिन्छ। डिजाइन गर्दागर्दै यसमा रहेको एआईले रियल-टाइममा 'वास्तु स्कोर' प्रदान गर्दछ, जसले गर्दा प्रयोगकर्ताले आफ्नो बस्ने ठाउँलाई वास्तु शास्त्रअनुसार सकारात्मक र स्वस्थ बनाउन सक्छन्।

यस एपलाई एक अनुभवी फुल-स्ट्याक प्रोडक्ट इन्जिनियर तथा 'एस्ट्रो-फ्युजन' मार्फत एआईमा आधारित ज्योतिषीय सफ्टवेयर निर्माण गरिरहेका एक व्यावसायिक ज्योतिषीले विकास गरेका हुन्। एकै दिनमा आधुनिक आर्टिफिसियल इन्टेलिजेन्स र प्राचीन वास्तु शास्त्रलाई जोडेर यस्तो प्रयोगमैत्री उत्पादन तयार पार्नु यस ह्याकाथनको एक उल्लेखनीय उपलब्धि थियो।
आयोजकका अनुसार कार्यक्रममा सिधै कोडिङ सुरु गर्नुअघि समस्याको गहिरो पहिचान र समाधानको प्रमाणीकरणमा जोड दिइएको थियो। आइडिएसन सेसनको नेतृत्व प्रशान्त घिमिरेले गरेका थिए भने जुरी प्यानलमा विभूषण विष्ट, प्रना बज्राचार्य र प्रशिश राजभण्डारी रहेका थिए। कार्यक्रम iBriz.ai ले होस्ट गरेको थियो।
यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विशाल घिमिरे (टिम कस्मिक कोडर्स), सन्तोष यादव (टिम योगी) र टिम सोमा विजेता बनेका छन्। आयोजकले आगामी दिनमा पनि यस्ता थप कार्यक्रमहरू आयोजना गरिने जानकारी दिँदै प्रविधिप्रेमीहरूलाई डिस्कर्ड मार्फत जोडिन आह्वान गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण