ठुला नगरले सुरु गरे रात्रिकालीन सार्वजनिक यातायात, टिकाउन चुनौती
काठमाडौँ । यो हप्ता देशका ठुला सहरहरूले सार्वजनिक यातायातको क्षेत्रमा केही सकारात्मक प्रयास गरेका छन् । महानगर र नगरहरूले सार्वजनिक विद्युतीय सवारी साधन (ईभी) सञ्चालनमा ल्याएका छन् ।
काठमाडौँमा साझा यातायातले काठमाडौँ र ललितपुर महानगरपालिका, चन्द्रागिरि र बुढानीलकण्ठ नगरपालिकासँगको सहकार्यमा राति ८ देखि ११ बजेसम्म रात्रिकालीन बस सेवा सुरु गरेको छ ।
यस्तै पोखरा महानगरपालिकाले विद्युतीय बसमार्फत पोखरा विमानस्थलदेखि अमरसिंह चोकसम्म निःशुल्क सटल बस सेवा प्रदान गर्न थालेको छ । ललितपुर महानगरपालिकाले फोहोर संकलन र ढुवानीका लागि ११ वटा विद्युतीय ट्रक पनि खरिद गरेको छ ।
काठमाडौँमा नाइट ईभी
काठमाडौँमा वाइफाइ सेवा सहितका रात्रिकालीन बस सञ्चालनमा आएका छन् । वैशाख १ गतेबाट काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको भौगोलिक क्षेत्र जोड्ने यो सेवा पुल्चोकबाट सुरु गरिएको हो ।
_nucTu58MG3.jpg)
काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल, ललितपुरका प्रमुख चिरिबाबु महर्जन, चन्द्रागिरिका प्रमुख घनश्याम गिरी र बुढानीलकण्ठका प्रमुख मिठाराम अधिकारीले समन्वय र सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेर सेवा प्रारम्भ गरेका हुन् ।
सुरुवातमा ७ वटा बस सञ्चालनमा ल्याइएका छन् । सुरक्षाका लागि हरेक बसमा ४ वटा सीसीटीभी क्यामरा जडान गरिएको छ, जसको निगरानी नियन्त्रण कक्षबाट हुनेछ । यसले गर्दा सामान हराउने डर हुँदैन र गलत क्रियाकलाप वा दुव्र्यवहार गर्नेलाई तत्काल नियन्त्रणमा लिन सकिनेछ । यात्रुहरूको सुरक्षाका लागि काठमाडौँ महानगरले हरेक बसमा एक जना नगर प्रहरी खटाएको छ ।
सेवा प्रारम्भ गर्दै कार्यवाहक प्रमुख डंगोलले रात्रिकालीन सेवालाई दिगो बनाउने र बिहानी सेवा पनि सुरु गर्ने योजना रहेको बताइन् । उनले विगतको अभ्यासबाट प्राप्त पृष्ठपोषण उल्लेख गर्दै भनिन्, ‘हिजोको अभ्यास आर्थिक प्रतिफलमा केन्द्रित थियो । आज हामीले आर्थिक प्रतिफल होइन, चुस्त र गुणस्तरीय सेवालाई लक्ष्य मानेका छौँ । उपत्यकाका स्थानीय तहबिच समन्वय गरेर लागत सहभागिताको मोडल बनाउँछौँ । अब हाम्रो योजना रात्रि सेवालाई दिगो बनाएर बिहानी सेवा प्रारम्भ गर्ने हो, जसबाट विद्यार्थी, साना व्यवसायी र श्रमजीवी वर्गलाई ठुलो सहयोग पुग्नेछ ।’
_MaupYiUSWy.jpg)
ललितपुरका प्रमुख महर्जनले आर्थिक साझेदारीमा सबैको साझा मत नै सेवा दिगो हुने महत्त्वपूर्ण आधार भएको बताए । यो सेवाबाट धेरै नागरिक लाभान्वित हुने भन्दै उनले उत्साह व्यक्त गरे । चन्द्रागिरिका प्रमुख गिरीले थानकोट नाकाबाट दैनिक ५० हजार व्यक्ति आउजाउ गर्ने भएकाले यसले आर्थिक र सामाजिक क्रियाकलापमा ठुलो योगदान गर्ने धारणा राखे । बुढानीलकण्ठका प्रमुख अधिकारीले स्थानीय बासिन्दा यो सेवाबाट धेरै खुसी भएको र यसलाई विस्तार गर्दै लैजानुपर्ने बताए ।
नगरपालिकाहरूले साझा यातायातसँगको सहकार्यमा यो सेवा सुरु गरेका हुन् । आउँदो असार मसान्तसम्मको लागत साझा यातायातले बेहोर्नेछ भने त्यसपछिको खर्च पालिकाहरूले साझेदारी गर्ने प्रतिबद्धता जनाएका छन् । साझा यातायातका अध्यक्ष सुशीलराज प्याकुरेलले पालिकाहरूको यो प्रतिबद्धता महत्त्वपूर्ण रहेको बताए ।
रात्रिकालीन बस सेवाको सुरुको दिन बुढानीलकण्ठबाट ८ बजे छुटेको साझाको बस १६ मिनेटमा महाराजगञ्ज र ८ बजेर ४६ मिनेटमा लगनखेल पुगेको थियो । यस्तै थानकोटबाट ८ बजे छुटेको बस २१ मिनेटमा कलङ्की र ४५ मिनेटमा विमानस्थल पुगेको थियो ।
यो सेवाका बसहरू मुख्यतः तीन विन्दुबाट हरेक २० मिनेटको अन्तरमा छुट्नेछन् । दक्षिण रुटको बस लगनखेलबाट सुरु भई पाटन अस्पताल, थापाथली, जमल, टिचिङ अस्पताल हुँदै बुढानीलकण्ठसम्म पुग्नेछ । पूर्व–पश्चिम रुटको बस थानकोटबाट कलङ्की, कालीमाटी, सुन्धारा, बानेश्वर हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्नेछ । १६ देखि २० किलोमिटरको एकतर्फी दूरी रहेका यी रुटहरूमा यात्रुले सहजै सेवा पाउनेछन् ।
पोखराको प्रयास : निःशुल्क ईभी सटल
पोखरा महानगरपालिकाले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंह चोकसम्म दुईतर्फी निःशुल्क सटल बस सेवा सुरु गरेको छ । नगर प्रमुख धनराज आचार्यले मङ्गलबार यसको शुभारम्भ गरेका थिए । महानगर यातायात प्रालि, कृषि विकास बैंक र कामना सेवा विकास बैंकसँगको सहकार्यमा यी सुविधा सम्पन्न विद्युतीय बसहरू सञ्चालनमा ल्याइएका हुन् ।
_lbXxk3wrej.jpg)
आचार्यले हवाई यात्रुहरूलाई भरपर्दो र सरल आवागमन सुविधा दिन यो सेवा सुरु गरिएको बताए । हाललाई असार मसान्तसम्म परीक्षणका रूपमा निःशुल्क सेवा दिइने र पछि यसको प्रभावकारिता अनुसार सेवा परिष्कृत गरिने उनले जानकारी दिए ।
ललितपुरको वातावरणीय पहल
ललितपुर महानगरपालिकाले ‘फोसिल फ्युल’ मुक्त सहर बनाउने नीति अन्तर्गत ११ वटा विद्युतीय फोहोर संकलन भ्यान सञ्चालनमा ल्याएको छ । वातावरणमैत्री सहर बनाउने अभियानलाई सशक्त बनाउन नगर प्रमुख महर्जनले यी गाडीहरू वातावरण विभागलाई हस्तान्तरण गरे ।
फोटोन कम्पनीका यी गाडीहरू ललितपुरका पुराना र साँघुरा गल्लीहरूमा सहजै जान सक्ने गरी डिजाइन गरिएका छन् । प्रमुख महर्जनले अब महानगरले सकेसम्म पेट्रोल र डिजेलका गाडी नकिन्ने नीति लिएको बताए । यी गाडीहरूमा ‘इलेक्ट्रिक बुम’ र जीपीएस जडान गरिएको छन्, जसले गर्दा फोहोर विसर्जन र अनुगमन सहज हुनेछ । डिजेल गाडीको तुलनामा विद्युतीय गाडी चलाउँदा वार्षिक करिब ७० लाख रुपैयाँ बचत हुने प्राविधिक अध्ययनले देखाएको छ ।
विज्ञहरू भन्छन् – सकारात्मक पहल भयो
वातावरण क्षेत्रका अभियन्ता तथा विज्ञ भूषण तुलाधार यसलाई स्थानीय सरकारको राम्रो पहल भन्छन् । ‘यो हप्ता वातावरण क्षेत्रका लागि स्थानीय सरकारहरूले राम्रो काम गरे,’ उनले भने । तुलाधारले वातावरणमैत्री यातायात प्रणालीको विकास हुनु प्रशंसनीय भएको बताए ।
पूर्वाधारविज्ञ एवं सांसद आशिष गजुरेलले पनि यसमा सकारात्मक धारणा राखेका छन् । उनका अनुसार नेपालले पेट्रोलियम पदार्थ आयातमा गर्ने ठुलो खर्च कटौती गर्न र आफ्नै देशमा उत्पादित बिजुली खपत गर्न विद्युतीय सवारीको विकल्प छैन । गजुरेल भन्छन्, ‘सार्वजनिक यातायात व्यवस्थापन गर्ने मुख्य दायित्व स्थानीय सरकारकै हो र उनीहरूले यो जिम्मेवारी बोध गर्नु खुसीको कुरा हो ।’
यद्यपि उनी केही चुनौती पनि रहेको बताउँछन् । नेपालका सडकको अवस्था र चार्जिङ स्टेसनको अभावले गर्दा ईभी सञ्चालनमा केही प्राविधिक कठिनाइ आउन सक्ने उनको तर्क छ । ‘ईभीका लागि राम्रो सडक र पर्याप्त चार्जिङ पूर्वाधार चाहिन्छ, जसमा अझै धेरै काम गर्न बाँकी छ,’ उनी बताउँछन् ।
_178D2Z6kh7.jpg)
अर्का सार्वजनिक यातायातविज्ञ सागर वन्त भने यसको आर्थिक र नीतिगत पाटोमा सोच्नुपर्ने बताउँछन् । उनका अनुसार विद्युतीय बसको सुरुवाती खरिद मूल्य निकै महँगो भए पनि यसको सञ्चालन र मर्मत खर्च डिजेल गाडीको तुलनामा धेरै कम हुन्छ ।
‘डिजेल गाडीमा हुने इन्धनको खर्च बचत हुनु नै यसको सबैभन्दा ठुलो सबल पक्ष हो,’ वन्त भन्छन् । तर उनले सञ्चालनको दिगोपनाका विषयमा प्रश्न पनि उठाएका छन् । विशेष गरी पोखराको निःशुल्क सेवाले निजी क्षेत्रका ट्याक्सी व्यवसायीहरूसँग द्वन्द्व निम्त्याउन सक्ने र सिन्डिकेटको समस्याले सेवा प्रभावित हुन सक्ने उनको चिन्ता छ ।
उनी थप्छन्, ‘राज्यले निःशुल्क सेवा दिँदा त्यसको लागत कसरी व्यवस्थापन गर्ने र दीर्घकालीन रूपमा कसरी टिकाउने भन्ने स्पष्ट योजना हुनुपर्छ ।’ विज्ञहरूले संघीय सरकारको भूमिकाप्रति पनि केही असन्तुष्टि व्यक्त गरेका छन् । सार्वजनिक यातायातमा संघीय सरकारले उचित लगानी र नीतिगत सहयोग नगरेको अवस्थामा स्थानीय तहले आफ्नै स्रोतबाट यस्ता कामहरू सुरु गर्नु प्रशंसनीय रहेको उनीहरूको निष्कर्ष छ । वन्त भन्छन्, ‘संघीय सरकारले सार्वजनिक यातायातमा लगानी नगर्ने नीति लिनु दुखद छ, यस्तोमा स्थानीय सरकारले समन्वय गरेर अघि बढ्नु एउटा राम्रो उदाहरण हो ।’
_TCZe2FcYhI.jpg)
सार्वजनिक यातायात क्षेत्रका विज्ञहरूले यस्ता विद्युतीय सेवाहरूलाई सफल बनाउन प्राविधिक जनशक्ति तयार गर्ने, चार्जिङ स्टेसनको सञ्जाल विस्तार गर्ने र निजी क्षेत्रलाई पनि यस क्षेत्रमा आकर्षित गर्ने नीति बनाउन स्थानीय सरकारलाई सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण