शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

राप्रपाभित्र आन्तरिक कलह : महामन्त्री राणासहितको असन्तुष्ट टोली पुग्यो विजयवास

सोमबार, ०७ वैशाख २०८३, ०७ : ३१
सोमबार, ०७ वैशाख २०८३

सारांश

  • राप्रपाभित्र चर्किएको आन्तरिक कलहका कारण महामन्त्री डा. धवलशम्सेर राणासहितको असन्तुष्ट पक्षले पूर्वअध्यक्षहरूको निवास विजयवास पुगेर भेटवार्ता गरेको छ।
  • असन्तुष्ट पक्षले पार्टीको वर्तमान गतिरोध अन्त्य गर्न जेठभित्रै महाधिवेशन सम्पन्न गर्नुपर्ने र त्यसका लागि निष्पक्ष आयोजक समिति गठन गर्नुपर्ने माग राखेको छ।
  • पूर्वअध्यक्षहरूले उक्त मागलाई गम्भीरतापूर्वक लिँदै पार्टीको समस्या समाधानका लागि आन्तरिक छलफल सुरु गरेका छन्।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक कलह चर्किएसँगै पार्टीको इतर पक्षले आगामी जेठभित्रै महाधिवेशन सम्पन्न गर्ने वातावरण मिलाउन पार्टीका अभिभावक नेताहरूसँग गुहार मागेको छ। आइतबार महामन्त्री डा. धवलशम्सेर राणाको नेतृत्वमा गएको एउटा टोलीले पूर्वअध्यक्ष पशुपतिशम्सेर राणाको निवास विजयवास पुगेर वरिष्ठ नेताहरूलाई सामूहिक भेट गरेको हो।

भेटमा पूर्वअध्यक्षहरू पशुपतिशम्सेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापासँगै वरिष्ठ नेताहरू नवराज सुवेदी र हरिबहादुर बस्नेतको उपस्थिति थियो। असन्तुष्ट पक्षले केन्द्रीय कार्यसमितिको निर्णयअनुसार जेठभित्रै महाधिवेशन सुनिश्चित गर्न र यसका लागि कुनै निष्पक्ष व्यक्तिको संयोजकत्वमा आयोजक समिति गठन गर्न माग गरेको छ।

महामन्त्री डा. राणाले पार्टीभित्रको अन्योल चिर्न तत्काल महाधिवेशनको मिति घोषणा गर्नुपर्नेमा जोड दिएका छन्। हालसम्म २७ जिल्लाको अधिवेशन सम्पन्न भइसकेकाले जेठमा केन्द्रको महाधिवेशन गर्न प्राविधिक रूपमा कुनै बाधा नभएको सो पक्षको दाबी छ। चुनावी असफलतापछि निराश भएका कार्यकर्तामा उत्साह भर्न र पार्टीलाई नयाँ ऊर्जा दिन नेतृत्व परिवर्तनको विकल्प नभएको उनीहरूको भनाइ छ।

नेता सगुन सुन्दर लावतीका अनुसार पार्टीको वर्तमान गतिरोध अन्त्य गर्न अभिभावक नेताहरूले ठोस पहल गर्नुपर्ने माग राखिएको छ। इतर पक्षको कुरा सुनेपछि पूर्वअध्यक्षहरूले यस विषयलाई गम्भीरतापूर्वक लिँदै निकास खोज्न आन्तरिक छलफल सुरु गरेका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप