२०८२ मा २०४ फिल्म सेन्सर : ३४ वटा फिल्मलाई ‘ए’ सर्टिफिकेट
सारांश
- वर्ष २०८२ मा नेपालमा प्रदर्शनका लागि कुल २०४ वटा स्वदेशी र विदेशी फिल्मले सेन्सर अनुमति प्राप्त गरेका छन्।
- सेन्सर भएका फिल्ममध्ये ८९ वटाले 'यू', ८१ वटाले 'पिजी' र ३४ वटाले 'ए' सर्टिफिकेट पाएका छन्।
- तथ्याङ्कअनुसार अधिकांश फिल्म पारिवारिक तथा सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने प्रकारका छन्।
काठमाडौँ । नेपालमा प्रदर्शन हुने धेरै फिल्म सामाजिक र पारिवारिक रहेको पाइएको छ । विगत एक वर्षको अवधिमा नेपालमा प्रदर्शनका लागि सेन्सर भएका फिल्मको तथ्याङ्कले पनि सो देखाउँछ ।
नेपालमा फिल्म सार्वजनिक प्रदर्शनअघि केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा अनिवार्य सेन्सर पास गर्नुपर्ने नियम छ । बोर्डको तथ्याङ्कअनुसार वर्ष २०८२ वैशाखदेखि चैतसम्म स्वदेशी र विदेशी गरेर कुल २०४ वटा फिल्मले सेन्सरबाट प्रदर्शन अनुमति प्राप्त गरेका छन् । ती सबै फिल्ममा नेपाली ९०, हिन्दी ६०, अङ्ग्रेजी ३६, अन्य भाषाभाषी (गुरुङ, सैबु, लिम्बू, नेपाल भाषा, जापानी, मैथिली, भोजपुरी, तामाङ, कोरियन र बङ्गाली) १८ वटा रहेका छन् ।
जसमा सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने अर्थात् ‘यू’ (युनिभर्सल) सर्टिफिकेट पाउने फिल्मको सङ्ख्या सबैभन्दा बढी देखिएको छ । यस वर्ष कुल ८९ वटा फिल्मले ‘यू’ सर्टिफिकेट प्राप्त गरेका छन् । त्यसैगरी ‘पिजी’ (प्यारेन्टल गाइडेन्स) अर्थात् अभिभावकसँग वा अभिभावकको निगरानीमा मात्र हेर्न मिल्ने सर्टिफिकेट पाउने फिल्मको सङ्ख्या ८१ रहेको छ ।
नेपालमा रिलिज हुने फिल्ममा ‘यू’ र ‘पिजी’ को तुलनात्मक रूपमा वयस्कहरूका लागि मात्र लक्षित ‘ए’ (एडल्ट) सर्टिफिकेट पाउने फिल्मको सङ्ख्या भने न्यून देखिएको छ । यस वर्ष ३४ वटा फिल्मले ‘ए’ सर्टिफिकेट प्राप्त गरेका छन् । यो सर्टिफिकेट पाएका फिल्म १८ वर्षभन्दा माथिका दर्शकले मात्र हेर्न पाउनेछन् ।
- नेपाली फिल्म नै धेरै युनिभर्सल ‘यू’
‘नेपालमा सपरिवार बसेर हेर्न मिल्ने फिल्म नै धेरै चल्दैनन्’, नेपाली दर्शकबाट लामो समयदेखि सुनिँदै आएको गुनासो हो यो । तर, नेपाली दर्शकको यो गुनासो भने तथ्याङ्कसँग मेल खाँदैन । तथ्याङ्कले नेपालमा प्रदर्शनमा आउने फिल्ममध्ये धेरै पारिवारिक र सबैले हेर्न मिल्ने भएको देखाएको छ ।
तथ्याङ्कअनुसार २०८२ मा सेन्सर गरिएका २०४ फिल्ममध्ये ८९ ले ‘यू’ सर्टिफिकेट प्राप्त गरेका छन् । जसमा नेपाली भाषाका पहाड, हामी तीन भाइ, कोसेढुङ्गा, मायाको गाउँ, आ बाट आमा, भाइरल गोर्खे, मिर्मिरे, गोबर गणेश, चमेलीको पोइ, झरीपछिको इन्द्रेणीलगायत ७३ वटा रहेका छन् ।
त्यस्तै, हिन्दी भाषाका शोले द फाइनल कट, प्यार के लिए, तन्भी: द ग्रेट, अन्दाज अपना अपना गरेर ४ वटा र अन्य भाषाहरूका ङोल्स्यो रानी, मिम्लेन फुङ, इन्द्रा धिमे मैचा, नो डोरै, याङ तामाङ, कलकतिया वालीलगायत १२ वटा फिल्म रहेका छन् ।
- ‘पिजी’ कति ?
नेपालमा प्रदर्शन हुने फिल्महरूमा १६ वर्षमुनिका दर्शकले अभिभावकसँग वा अभिभावकको निगरानीमा मात्र हेर्न मिल्ने ‘पिजी’ सर्टिफिकेट फिल्म सबैभन्दा धेरै हिन्दी र सबैभन्दा थोरै नेपाली हुने गरेका छन् । केन्द्रीय चलचित्र सेन्सर बोर्डले वर्ष २०८२ मा सेन्सर गरेका २०४ फिल्ममध्ये ८१ फिल्म ‘पिजी’ छन् । जसमा डकैत: एक प्रेम कहानी, तु या मै, बोर्डर २, द राजासाब, अखण्ड २ ताण्डवम्, तेरे इश्क मे, थम्मा, कान्तारा: अ लिजेन्ड च्याप्टर १, परम सुन्दरी, सितारे जमिन परलगायत ४० वटा हिन्दी फिल्म रहेका छन् ।
त्यस्तै अङ्ग्रेजी भाषामा द सुपर मारियो, प्रोजेक्ट हेल मेरी, एनाकोन्डा, द स्पन्ज बब मुभी, अवतार: फायर एन्ड एस, विकेड फर गुड, सुपरम्यानलगायत २० वटा रहेका छन् । नेपाली भाषाका १९ वटामा राम नाम सत्य, रमिताको पिरती, कुमारी, द ब्लु लाइट, अभिमन्यु च्याप्टर १, प्रवासी जीवन, बलिदान, गुन्युचोलो, लालिमा, नरसिंहा अवतार, जारलगायत रहेका छन् । अन्य भाषाहरूमा मैथिली फिल्म ‘त्रास एक खौफ’ र जापानी फिल्म ‘नारुतो द मुभी’ रहेका छन् ।
- अङ्ग्रेजीमा भित्रिन्छन् धेरै एडल्ट फिल्म
नेपालमा प्रदर्शन हुने फिल्महरूमा वयस्कहरूका लागि मात्र लक्षित ‘ए’ (एडल्ट) फिल्म सबैभन्दा बढी अङ्ग्रेजी हुने गरेको पाइएको छ । वर्ष २०८२ को सेन्सर बोर्डको तथ्याङ्कले नेपालमा ३४ एडल्ट फिल्म सेन्सर भएको देखाएको छ । जसमा अङ्ग्रेजी भाषाका ली क्रोनिन: द ममी, दे विल किल यु, स्क्रिम, क्राइम, द स्ट्रेन्जर्स: च्याप्टर ३, द हाउसमेड, बलेरिनालगायत गरेर १७ वटा रहेका छन् ।
त्यस्तै हिन्दीमा धुरन्धर २, ओ रोमियो, मिलियन भ्युज, बाघी ४, मालिक, केसर च्याप्टर २ लगायत १३ वटा छन् । नेपालीमा भने एकमात्र फिल्म ‘अघोर बाबा’ रहेको तथ्याङ्कले देखाउँछ । अन्य भाषाहरूमा जापानी ‘चेनस म्यान’ र ‘डेमन स्लेयर’ गरेर २ वटा र कोरियन एकमात्र ‘नोइज’ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
-
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन: यस्तो छ आज बन्द सत्रको कार्यतालिका
-
नागढुंगा–मुग्लिन सडक विस्तार : दोस्रो म्याद सकिनै लाग्यो, सकिएन काम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण