मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जेनजी रेड फोर्सको प्रश्न : डोजर रोक्न आफ्नै छाती थाप्ने रविको बाचा कहाँ हरायो ?

बिहीबार, १० वैशाख २०८३, ०९ : ४०
बिहीबार, १० वैशाख २०८३

सारांश

  • जेनजी रेड फोर्स नेपालले सुकुम्बासी बस्ती खाली गराउने सरकारी निर्णयको कडा आलोचना गरेको छ।
  • निर्वाचनका बेला डोजर रोक्न छाती थाप्ने बाचा गरेका नेताहरू अहिले सत्तामा पुगेपछि क्रूर बनेको आरोप लगाइएको छ।
  • सरकारले उचित विकल्प बिना गरिबको झुपडी भत्काउन खोजे कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ।

काठमाडौँ । निर्वाचनका बेला सुकुम्बासी बस्तीमा पुगेर डोजर रोक्न आफ्नै छाती थाप्ने कसम खाएका नेताहरू सत्तामा पुगेपछि क्रूर बनेको भन्दै जेनजी रेड फोर्स नेपालले सरकारको आलोचना गरेको छ। प्रधानमन्त्री बालेन शाहले शनिबार र आइतबारभित्र अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्न दिएको पछिल्लो आदेशप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै रेड फोर्सले यसलाई अमानवीय र आत्मघाती कदमको संज्ञा दिएको हो। 

केन्द्रीय संयोजक स्मृति तिमल्सिनाद्वारा जारी विज्ञप्तिमा बिना कुनै विकल्प, बिना क्षतिपूर्ति र ठोस व्यवस्थापन नै नगरी वर्षातको मुखमा गरिब सर्वहारा वर्गमाथि डोजर चलाउनु अन्यायपूर्ण भएको उल्लेख छ। विगतको चुनाव सम्झिँदै रेड फोर्सले वर्तमान प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतका सत्तासीन नेताहरूले दिएका अभिव्यक्तिहरूको स्मरण गराएको छ।

निर्वाचनका बेला भोटका लागि ‘हामी सुकुम्बासी हटाउँदैनौँ, बरु डोजर चले आफैँ छाती थाप्न आउँछौँ’ भन्ने नेताहरूले अहिले सत्तामा पुगेपछि तिनै जनतालाई सडकमा पुर्‍याउन लागेको भन्दै विज्ञप्तिमा आक्रोश पोखिएको छ। सुकुम्बासी बस्तीलाई केवल भोट बैंकको रूपमा प्रयोग गर्ने र सत्ता प्राप्तिपछि गरिब लखेट्ने दोहोरो चरित्र तत्काल बन्द गर्न रेड फोर्सले चेतावनी दिएको छ।

सरकारको असफलताको फेहरिस्त प्रस्तुत गर्दै विज्ञप्तिमा देशमै उत्पादन हुने केरा जस्ता खाद्यान्नको मूल्य छोइनसक्नु भएको र पेट्रोलियम पदार्थको मूल्यले आकाश छोएको उल्लेख छ। सीमा क्षेत्रका सर्वसाधारणले आफ्नो दैनिक गर्जो टार्न ल्याउने ससाना सामग्रीमा समेत कर लादेर सरकारले जनताको ढाड सेक्ने काम गरेको आरोप लगाइएको छ। 

खेतीपाती र वर्षाको सिजन सुरु हुन लाग्दा उचित छानबिन र सम्मानजनक विकल्प बिना गरिबका झुपडी भत्काउन खोज्नुले यो सरकार पूर्णतः असफल भएको पुष्टि गर्ने जिकिर रेड फोर्सको छ।

जेनजी रेड फोर्सले सम्पूर्ण सुकुम्बासी बस्तीका बासिन्दा र पीडित जनतालाई एकजुट हुन आह्वान गर्दै निर्वाचनका बेला आश्वासन दिने नेताहरूलाई खोजेर उनीहरूले नै गरेको ‘छाती थाप्ने’ बाचा पुरा गर्न लगाउनुपर्ने बेला आएको बताएको छ। 

सरकारले आफ्नो हठ त्यागेर अविलम्ब यो आदेश फिर्ता नलिए र उचित व्यवस्थापनको मार्ग प्रशस्त नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिइएको छ। त्यसबाट उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवार स्वयं सरकार नै हुनुपर्ने भन्दै रेड फोर्सले बताएको छ।

672159487_1668519644280610_640521620789647460_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप