आज २० औँ लोकतन्त्र दिवस मनाइँदै
सारांश
- जनआन्दोलन २०६२/६३ को सफलता स्वरूप प्राप्त लोकतन्त्रको सम्झनामा आज देशभर २० औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
- विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले विघटित संसद् पुनर्स्थापना गरेको ऐतिहासिक दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ।
काठमाडौँ । जनआन्दोलन २०६२/६३ को सफलता स्वरूप प्राप्त लोकतन्त्रको सम्झनामा आज देशभर २० औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलहरूको मार्गचित्रबमोजिम विघटित संसद् पुनर्स्थापना गरेको ऐतिहासिक दिनको स्मरणमा विसं २०६४ देखि यो दिवस मनाउन थालिएको हो ।
नेपालको राजनीतिक इतिहासमा विसं २०५९ जेठ ८ गते संसद् विघटन भएपछि सुरु भएको अस्थिरता र राजाको प्रत्यक्ष शासनको शृङ्खला वैशाख ११ को घोषणासँगै अन्त्य भएको थियो । राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्दै हटाउँदै गरेपछि २०६१ माघ १९ गते शासन सत्ता पूर्णतः आफ्नै हातमा लिएका थिए । राजाको उक्त कदमपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी) बिच २०६२ मङ्सिरमा भएको १२ बुँदे समझदारीले आन्दोलनलाई निर्णायक मोड दिएको थियो ।
तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलन चैतमा पुग्दा देशव्यापी बन्यो । नयाँ वर्ष २०६३ को सुरुवातसँगै लाखौँ जनता सडकमा उत्रिएर चक्रपथ मानव सागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको माग सम्बोधन गर्न बाध्य भएका थिए । वैशाख ११ गते राति राजाले संसद् पुनर्स्थापनाको घोषणा गर्दै बैठक आह्वान गरेसँगै जनताको जित भएको थियो । यही दिनलाई नै नेपालमा गणतन्त्रको बलियो जगका रूपमा लिइन्छ ।
संसद् पुनर्स्थापनापछि २०६३ जेठ ४ गते बसेको बैठकले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गरेको थियो । उक्त ऐतिहासिक घोषणालाई नेपाली म्याग्नाकार्टा समेत भनिन्छ । सोही जगमा विसं २०६४ मा पहिलो संविधानसभा निर्वाचन भयो भने २०६५ जेठ १५ गतेको पहिलो बैठकले २४० वर्ष लामो राजसंस्थाको विधिवत् अन्त्य गरी नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।
दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते नयाँ संविधान जारी भएपछि नेपालमा सङ्घीयता कार्यान्वयनमा आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बर्ड फ्लु’ सङ्क्रमण फैलिएको समयमा कुखुराको मासु र अण्डा खान हुन्छ ?
-
झापामा चट्याङ लागेर एक जनाको मृत्यु
-
मालवाहक ट्रकबाट १ लाख २० हजार प्रतिबन्धित औषधि ट्रामाडोल बरामद
-
सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन
-
समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्दै बागमती प्रदेश सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण