सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राप्रपामा एकपछि अर्को पार्टी परित्यागको घोषणा

शुक्रबार, ११ वैशाख २०८३, १९ : १५
शुक्रबार, ११ वैशाख २०८३

सारांश

  • राप्रपाका केन्द्रीय सदस्य रवि किरण हमालले शुक्रबार पार्टी परित्यागको घोषणा गरेका छन्।
  • पछिल्लो समय राप्रपाभित्र दुई लाइन संघर्ष र आन्तरिक विवादका कारण पार्टी छाड्ने नेताहरूको संख्या बढेको छ।
  • निर्वाचनको परिणाम र पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै धेरै नेताहरूले पदबाट राजीनामा दिएका छन्।

काठमाडौँ । जेनजी अभियन्ताको रूपमा समेत छवि बनाएका राप्रपाका केन्द्रीय सदस्य रवि किरण हमालले शुक्रबार पार्टी परित्यागको घोषणा गरे ।

 ‘आज लोकतन्त्र दिवसको पावन एवम् ऐतिहासिक अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य पदबाट औपचारिक रूपमा राजीनामा दिँदै पार्टीबाट सम्पूर्ण रूपमा अलग्गिएको घोषणा गर्दछु’, उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

उनले पार्टी छाड्दै गर्दा नेतृत्वप्रति कुनै आरोप त लगाएका छैनन् तर गत निर्वाचनमा राप्रपाबाटै उम्मेदवार रहेका उनले पार्टीभित्र पछिल्लो समय उत्पन्न विवाद र पार्टी निर्माणका लागि पहल नभएकाले राजीनामा दिएको निकटस्थले बताएका छन् । 

राप्रपाभित्र दुई लाइन संघर्ष तीव्र बनिरहेका बेला पार्टी परित्याग गर्नेहरु बढिरहेको देखिएको छ । निर्वाचन अघि नै राप्रपाका नेता हिक्मत कार्कीले पार्टी परित्याग गरेका थिए । उनले राप्रपाका अध्यक्षको कार्यशैलीमाथि प्रश्न उठाउँदै परिवर्तनको मागअनुसार पार्टी परित्यागको घोषणा गरेका थिए । 

यस्तै चुनावअघि नै राप्रपाका राप्रपाका सहायक महामन्त्री सौरेन्द्र बहादुर शाहले पनि पदत्यागको घोषणा गरेका थिए । पार्टी सञ्चालनको विधि र प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उनले पदबाट राजीनामा दिएका थिए भने उनी रास्वपा प्रवेश गरिसकेका छन् ।

यस्तै चुनावपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले समेत राप्रपा परित्याग गरे । उनी निर्वाचनमा काठमाडौँ–१ बाट उम्मेदवार भएपनि पराजित भएका थिए । मिश्रले अब गैरदलीय (स्वतन्त्र) राजनीति तथा राजसंस्था पुनर्स्थापना तथा सुशासनलगायतका मुद्दाहरूमा सक्रिय हुने बताएका छन् । 

यस्तै  चैत दोस्रो साता नेता ऋषिबाबु परियारले पनि पार्टीको साधारण सदस्य समेत नरहने गरी सबै पदबाट राजीनामा दिएका थिए ।  पार्टीभित्र पछिल्लो समय देखिएको राजनीतिक र वैचारिक विचलन तथा दलित समुदायप्रति पार्टीले अपनाएको नीतिको आलोचना गर्दै उनले पार्टी परित्यागको घोषणा गरेका थिए । 

यस्तै नेताहरू युवराज घिमिरे, प्रकाश रजौरिया, मोहन दाहाललगायतले पनि पार्टी परित्याग गरेका छन् । यस्तै राप्रपाका केन्द्रीय सदस्य दिपक प्रसाद उप्रेतीले पनि पार्टीको केन्द्रीय सदस्य पद लगायत सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिए । 

 नेता सगुन सुन्दर लावतीले पार्टीमा उम्मेदवार बनिसकेका व्यक्तिहरू, केन्द्रीय सदस्यहरू, जेन्जी पुस्ताका युवाहरूदेखि संस्थापक र नयाँ आएकाहरूले समेत जिम्मेवारी छोडिरहेको स्वीकार गरे।  यो विषयलाई पार्टीले गम्भीर रूपमा लिनुपर्ने बताउँदै उनले यो परिस्थितिलाई निर्वाचनको परिणामसँग जोडे । 

उनले भने, ‘पार्टी छोड्ने यो क्रम मुख्यतः चुनावको नतिजापछि नै बढी देखिएको छ। कतिपयले चुनावको अगाडि त कतिपयले चुनावको लगत्तै पार्टी छाडेका छन्। यसको अर्थ यो पलायन निर्वाचनको नतिजा र त्यससँग जोडिएका विभिन्न पक्षहरूसँग निकै नजिक छ।’

उसो त राप्रपाभित्र विवाद बढ्दै जाँदा केही नेतालाई कारबाही समेत गरेको छ । सोहीअनुसार शुक्रबार राप्रपाले केन्द्रीय सदस्य रञ्जन कार्कीलाई पदमुक्त गरेको छ भने केहीलाई स्पष्टीकरण सोधेर कारबाहीको डण्डा समेत चलाएको छ । 

राप्रपाभित्र हाल राजेन्द्र लिङ्देनको गतिविधिमाथि प्रश्न उठाउँदै धवलशमशेर राणा समूहले चुनौती दिँदै आएको छ । राणाले जेठमा महाधिवेशन नभए राप्रपा नै समाप्त हुने चेतावनी दिएपछि पार्टीभित्र विवाद थप उग्र समेत बनेको सोही पार्टीका नेताहरु बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप