अध्यक्ष दाहालसँग जापानी संसदीय टोलीको भेटवार्ता
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेको जापानी संसदीय प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । नेपाल भ्रमणमा रहेको हाउस अफ काउन्सिलर जापानका सदस्य तथा जापान–नेपाल संसदीयमैत्री लिगका अध्यक्ष योसुके ट्सुरुहो नेतृत्वको टोलीले आज सिंहदरबारमा राष्ट्रियसभा अध्यक्ष दाहालसँग भेटवार्ता गरेको हो ।
भेटमा दुई देशबिचको सम्बन्ध, आपसी हित, संसदीय सहकार्य र सहयोगका विषयमा कुराकानी भएको अध्यक्ष दाहालका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिए । सो अवसरमा राष्ट्रियसभा अध्यक्ष दाहालले जापान नेपालको महत्त्वपूर्ण विकास साझेदार रहेको चर्चा गर्दै नेपाललाई विभिन्न क्षेत्रमा जापानले सहयोग गर्दै आएको बताए ।
नेपाल–जापान कूटनीतिक सम्बन्धका ७० वर्ष भइसकेको उल्लेख गर्दै अध्यक्ष दाहालले विभिन्न कूटनीतिक तथा संसदीय भ्रमणहरूले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन भूमिका खेल्ने बताए ।
नेपालको सङ्घीय संसद्ले छिट्टै नेपाल–जापान संसदीयमैत्री समूह गठन गर्ने जानकारी गराउँदै अध्यक्ष दाहालले संसदीय अभ्यास र अनुभव आदान प्रदानका लागि मैत्री समूहले काम गर्ने बताए ।
गौतम बुद्ध र लुम्बिनीले दुई देशबिचको सामाजिक सांस्कृतिक सम्बन्ध विस्तारमा विशिष्ट भूमिका खेलेको चर्चा गर्दै अध्यक्ष दाहालले लुम्बिनी–जापान सिधा हवाई सेवा सुरु गर्नका लागि जापान सरकारले पहल गर्ने विश्वास व्यक्त गरे ।
नेपाली विद्यार्थी र कामदारहरूका लागि जापान आकर्षक गन्तव्य रहेको उल्लेख गर्दै दाहालले यसले दुई देशबीच जनस्तरको सम्बन्ध सुदृढ बनाउन योगदान दिएको बताए ।
सो अवसरमा जापान–नेपाल संसदीयमैत्री लिगका अध्यक्ष योसुकेले नेपाल भ्रमणमा आउन पाउँदा निकै खुसी लागेको बताउँदै संसदीय सहकार्यले दुई देशबीचको सम्बन्ध थप बलियो हुने बताए ।
नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको हालै जापानमा भएको भ्रमणको चर्चा गर्दै उनले उक्त भ्रमणले जापान–नेपाल सम्बन्ध थप मजबुत बनाउन विशेष भूमिका खेलेको बताए ।
अहिले जापान–काठमाडौँ नियमित हवाई उडान भइरहेको उल्लेख गर्दै उनले लुम्बिनी–जापान हवाई उडानबारे नेपालस्थित जापानी दूतावासमार्फत छलफल गर्ने बताए । भेटमा नेपालस्थित जापानी राजदूत मयडा तोरुको पनि सहभागिता रहेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण