बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

राष्ट्रिय जनमोर्चाले चैतमा राष्ट्रिय सम्मेलन गर्ने

शनिबार, १२ वैशाख २०८३, २१ : ५७
शनिबार, १२ वैशाख २०८३

सारांश

  • राष्ट्रिय जनमोर्चाले आगामी चैत २४ देखि २६ गतेसम्म पाँचौँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ।
  • पार्टीको केन्द्रीय समिति बैठकले मिश्रित निर्वाचन प्रणाली नै उपयुक्त भएको निष्कर्ष निकाल्दै सरकारको अधिनायकवादी चरित्रको विरोध गरेको छ।
  • बैठकले रिक्त पदमा नयाँ मनोनयन गर्दै आगामी वैशाख र जेठ महिनाका लागि विभिन्न सांगठनिक कार्यक्रमहरू सार्वजनिक गरेको छ।

बुटवल । राष्ट्रिय जनमोर्चाले आगामी चैत २४, २५ र २६ गते पाँचौँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ।

शनिबार रुपन्देहीको बुटवलमा अध्यक्ष केसीको अध्यक्षतामा सम्पन्न दुई दिने केन्द्रीय समितिको बैठकले यसअघि मंसिरका लागि तय गरिएको सम्मेलनलाई केही समय सारेर नयाँ मिति तय गरेको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए । 

यसैगरी बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनमा गत फागुन २१ गतेको निर्वाचनको समीक्षा गर्दै पार्टीले अपेक्षित परिणाम प्राप्त गर्न नसके पनि राष्ट्रघात र वैदेशिक हस्तक्षेपविरुद्ध जनतालाई सचेत पार्न सफल भएको उल्लेख गरिएको केसीले बताए । 

संविधान संशोधनको विषयमा धारणा सार्वजनिक गर्दै जनमोर्चाले मुलुकलाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको प्रणालीमा लैजानु अधिनायकवादतर्फको यात्रा हुने चेतावनी दिएको छ। संसदीय प्रणालीलाई कमजोर पारेर साम्राज्यवादी शक्तिले आफ्नो स्वार्थ पूरा गर्न खोजेको भन्दै पार्टीले हालको मिश्रित निर्वाचन प्रणाली नै उपयुक्त भएको ठहर गरेको छ ।

साथै, सरकारले नेपाललाई ‘बफर स्टेट’ का रूपमा प्रस्तुत गर्नु गलत भएको र विद्यार्थी संगठनमाथिको नियन्त्रण, ट्रेड युनियनको अधिकार कटौती तथा सुकुमबासी बस्तीमा डोजर चलाउने कार्यले सरकारको अधिनायकवादी चरित्र पुष्टि गरेको बैठकको निष्कर्ष छ।

 बैठकले रिक्त केन्द्रीय सदस्य पदमा मकवानपुरका सानोभाई कार्की र सल्लाहकारमा सिन्धुपाल्चोककी गंगा पौडेल तथा पुरुषोत्तम कँडेललाई मनोनयन गरेको छ। 

आगामी कार्यक्रमअन्तर्गत जनमोर्चाले वैशाख २६ गते काठमाडौँमा संविधान संशोधनका विषयमा बृहत् अन्तरक्रिया गर्ने भएको छ भने वैशाख २९ देखि जेठ १७ गतेसम्म देशका विभिन्न मुख्य सहरहरूमा शीर्ष नेताहरूको उपस्थितिमा जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। वैशाख १५ देखि जेठ मसान्तसम्म सबै तहका समितिहरूको बैठक बस्ने र सदस्यता वितरणलाई तीव्रता दिने सांगठनिक योजना समेत पार्टीले अघि सारेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप