‘गोरखामा १८ प्रतिशत आमाले पूर्ण रूपमा स्तनपान गराउँदैनन्’
गोरखा । ८२ प्रतिशत आमाले मात्र पूर्ण स्तनपान (जन्मेको छ महिनासम्म आमाको दूध मात्र खुवाउने) गराउने गरेको विवरण सार्वजनिक गरिएको छ । यस्तै प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार जिल्लाका १८ प्रतिशत आमाहरूले शिशुलाई पूर्ण स्तनपान नगराएको पाइएको हो।
शिक्षित र आर्थिक रूपमा सबल मानिएका परिवारका आमाले नै पूर्ण स्तनपान नगराएको पाइएको कार्यालयका जनस्वास्थ्य अधिकृत नवराज खड्काले बताए। “शिक्षित र जागिरे आमाहरूले नै पूर्ण स्तनपान नगराएको देखिन्छ”, उनले भने, “व्यस्तताका कारण बच्चालाई बजारमा पाइने ल्याक्टोजेन दूध खुवाउन बाध्य भएको देखिन्छ।”
सरकारले महिलालाई तीन महिना सुत्केरी बिदा दिने गरेको छ, जसका कारण जागिरे महिलाहरूले आफ्नो बच्चालाई पूर्ण स्तनपान गराउन नसकेको बताउने गरेका छन् । खड्काले भने, “आर्थिक अवस्था कमजोर भएका परिवारका महिलामा धेरै समस्या छैन । आर्थिक रूपमा सबल परिवारले बजारमा पाइने बट्टाको दूधमा जोड दिन्छन् । यो जागिरलगायत कारणले पनि हुनसक्छ।”
प्रदेश अस्पताल गोरखाका बाल रोग विशेषज्ञ डा. प्रकाश शर्माले बजारमा पाइने बट्टाको दूध बालबालिकाको शारीरिक र मानसिक विकासका लागि हानिकारक रहेको बताए। पूर्ण स्तनपान गराउनाले बच्चासँगै आमाको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ।
“पूर्ण स्तनपान गराएमा सुत्केरी आमाको शरीर पुनः स्वस्थ हुँदै जान्छ । पूर्ण स्तनपान गराउँदा बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै एन्डिबडीको पनि विकास हुन्छ”, डा. शर्माले भने,“पूर्ण स्तनपानले स्तन क्यान्सर जस्तो घातक रोग रोकथाम गर्न सकिन्छ । बालबालिकामा कम तौलको समस्या पनि रोकथाम हुन्छ।”
प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाको तथ्याङ्कअनुसार यहाँ नौ प्रतिशत बालबालिकाहरू कम तौलका छन्।
नेपालमा एक घण्टाभित्र स्तनपान गराउनेको सङ्ख्या ५५ प्रतिशत, छ महिनासम्म पूर्ण स्तनपान गराउनेको सङ्ख्या ५६ प्रतिशत र दुई वर्षसम्म स्तनपान गराउनको सङ्ख्या ९४ प्रतिशत रहेको जनस्वास्थ्य अधिकृत खड्काले बताए।
जन्मेको एक घण्टाभित्र स्तनपान निकै लाभदायी मानिन्छ । यस्तै, ६ महिनासम्म पूर्ण र ६ महिनापछि पूरक आहारसहित दुई वर्षसम्म नियमित स्तनपान गराउनुपर्ने हुन्छ । यी तीन व्यवहार अपनाइँदा नवजात शिशु मृत्युदरमा २० प्रतिशत कमी आउने जानकारहरूले बताउने गरेका छन्।
प्रदेश जनस्वास्थ्य कार्यालयले बट्टाको दूधको प्रयोग निरुत्साहित गर्न आमाको दूधसम्बन्धी महत्त्व बुझाउन अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ। अब स्तनपान परामर्शदाता तालिम दिने तयारी भइरहेको कार्यालय प्रमुख सिम्रन काफ्लेले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोहोरी साँझ नजिकै भएको कुटपिटबाट युवकको मृत्यु, चार जना पक्राउ
-
दीपक भट्ट र सुलभ अग्रवालको आज विशेष अदालतमा थुनछेक बहस
-
सम्झौताको अस्पष्टताले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि उकालो, बजारमा अझै संशय
-
सुधार नगरे काठमाडौँको सडक ठप्प हुने ट्राफिक प्रहरीको चेतावनी, नियम मिच्नेलाई ५० हजारसम्म जरिवाना प्रस्ताव
-
अमेरिकामा वायुसेनाको बी-५२ बमवर्षक विमान दुर्घटना, दुई बोइङ कर्मचारीसहित आठ जनाको मृत्यु
-
खडेरी लक्षित उत्तर कोरियाको सुक्खा धान अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण