सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

कर्णालीको सामाजिक विकास मन्त्रालयलाई ६ अर्ब १० करोड बजेट

सोमबार, ०१ असार २०८३, १८ : ३८
सोमबार, ०१ असार २०८३

सुर्खेत। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको बजेट बढेको छ। आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि यो मन्त्रालयले ६ अर्ब १० करोडभन्दा बढीको बजेट पाएको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले साेमबार बजेट भाषण प्रस्तुत गर्दै सुर्खेतस्थित प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्न र अस्पतालको ओपीडी ब्लक लगायतका पूर्वाधार निर्माणका लागि २३ करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको बताए ।

त्यस्तै, क्यान्सर, मुटु, मृगौला र अल्जाइमर जस्ता जटिल रोगका बिरामीको उपचार सहायताका लागि २ करोड ५० लाख रुपैयाँ छुट्ट्याइएको छ ।

बजेटमा ग्रामीण महिला स्वास्थ्य स्वयंसेविकाहरूको प्रोत्साहन भत्तामा शतप्रतिशत वृद्धि गरी वार्षिक २४ हजार रुपैयाँ पुर्‍याइएको छ । 

साथै, विपन्न नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने र दैलेखमा मृगौला डायलासिस सेवा विस्तार गर्ने घोषणा गरिएको छ। ‘कर्णाली समग्र आरोग्य अभियान मार्फत आयुर्वेद र वैकल्पिक चिकित्सालाई पनि जोड दिइएको छ ।

शिक्षा क्षेत्रमा ‘हप्ताको एक दिन किताबरहित शुक्रबार’ जस्ता सिर्जनशील कार्यक्रमलाई निरन्तरता दिइएको छ । शिक्षक अभाव भएका सामुदायिक विद्यालयहरूमा डिजिटल प्रविधिमार्फत शिक्षण गर्न ७ करोड र गणित, विज्ञान तथा अंग्रेजी शिक्षक व्यवस्थापनका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । गरिब, जेहेन्दार, दलित र लोपोन्मुख समुदायका विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ ।

१०औँ राष्ट्रिय खेलकुदको तयारीका लागि ९ करोड रुपैयाँ विनियोजन गरिएको छ भने वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश रङ्गशाला सम्पन्न गर्न थप ९ करोड तथा अन्य जिल्लाका खेल मैदान र कभर्ड हलका लागि १० करोड रुपैयाँ छुट्ट्याइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप