मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

अमेरिकामा वायुसेनाको बी-५२ बमवर्षक विमान दुर्घटना, दुई बोइङ कर्मचारीसहित आठ जनाको मृत्यु

मङ्गलबार, ०२ असार २०८३, १० : ००
मङ्गलबार, ०२ असार २०८३

क्यालिफोर्निया । अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एड्वर्ड्स एअर फोर्स बेसबाट उडान भर्ने बित्तिकै अमेरिकी वायुसेनाको एक बी-५२ बमवर्षक विमान दुर्घटनाग्रस्त हुँदा दुई बोइङ कर्मचारीसहित आठ जनाको मृत्यु भएको छ। 

सोमबार स्थानीय समय अनुसार बिहान ११:२० बजे विमान नियमित परीक्षण उडानमा रहेका बेला उक्त दुर्घटना भएको हो। दुर्घटना यति भयानक थियो कि त्यसपछि आकाशमा निकै माथिसम्म कालो धुवाँको मुस्लो देखिएको थियो, जुन माइलौँ टाढाबाट समेत स्पष्ट रूपमा देखिन्थ्यो।

एअर फोर्स बेसका कर्नल जेम्स हेसले दिउँसो आयोजित पत्रकार सम्मेलनमा दुर्घटनालाई ठुलो त्रासदीको रूपमा वर्णन गर्दै आठ जना महान् अमेरिकीहरूलाई गुमाउनुपरेको बताएका छन्। उनले मृतकहरूमा सैन्य अधिकारी, सरकारी नागरिक कर्मचारी र सरकारी ठेकेदारहरू सम्मिलित मिश्रित टोली रहेको जानकारी दिए। प्रारम्भिक अध्ययन अनुसार दुर्घटनापछि कोही पनि जीवित बच्न सक्ने स्थिति नरहेको आधारहरू देखिएका छन्। मृतकका परिवारलाई घटनाबारे जानकारी गराइँदै गरेको र त्यसको २४ घण्टापछि मात्र उनीहरूको नाम सार्वजनिक गरिने कर्नल हेसले बताए।

दुर्घटना पूर्ण रूपमा एड्वर्ड्स एअर फोर्स बेसको धावनमार्ग भित्रै सीमित रहेको र बेसले आफ्ना उडान अपरेसनहरू तत्कालका लागि स्थगित गरेको छ। उक्त विमान बेसको राडार आधुनिकीकरण कार्यक्रमलाई सहयोग पुर्‍याउने कार्यमा संलग्न रहेको र उडान भर्ने बित्तिकै खसेर आगोको डल्लोमा परिणत भएको थियो। 

दुर्घटनाको प्रारम्भिक भिडियो फुटेजहरूको अध्ययनपछि यसलाई नियन्त्रण बाहिरको र कोही पनि जीवित रहन नसक्ने दुर्घटनाको रूपमा वर्गीकरण गरिएको छ। दुर्घटनाको वास्तविक कारण अहिलेसम्म खुल्न सकेको छैन र यसका लागि विभिन्न चरणमा अनुसन्धान गरिनेछ। प्रारम्भिक अनुसन्धानका लागि ३० दिन लाग्न सक्ने र दुर्घटनाको गहिरो विश्लेषणसहितको पूर्ण अनुसन्धान सम्पन्न हुन ६ महिनाभन्दा बढी समय लाग्न सक्ने बताइएको छ।

यसैबिच, विमान निर्माता कम्पनी बोइङले एक छुट्टै विज्ञप्ति जारी गर्दै दुर्घटनामा आफ्ना दुई जना कर्मचारीको पनि मृत्यु भएको पुष्टि गरेको छ। कम्पनीले पीडित परिवारहरूसँग सम्पर्क गरिरहेको बताए पनि थप विवरण दिन अस्वीकार गरेको छ। क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युजमले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै यस दुर्घटनालाई गम्भीर र दुःखद घटना भनेका छन्। उनले पीडित परिवार र एड्वर्ड्स एअर फोर्स बेस समुदायप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

दुर्घटनापछि सार्वजनिक भएका हवाई फुटेजहरूमा विमान खसेको क्षेत्र पूर्ण रूपमा जलेको र धुवाँ आउलाउ गरिरहेको देखिएको छ। एअरकास्ट बेसले विमानस्थल बन्द गरिएको र आउने सबै विमानहरूलाई अन्यत्र डाइभर्ट गरिएको जनाएको छ। साथै, आपत्कालीन उद्धार कार्यमा पूर्ण रूपमा केन्द्रित हुनका लागि गैर-व्यावसायिक आगन्तुक पासहरू पनि अर्को सूचना नभएसम्मका लागि निलम्बन गरिएको छ।

बोइङ बी-५२ स्ट्रेटोफोर्ट्रेस विमानलाई अमेरिकी सेनाले सन् १९५० को दशकदेखि प्रयोग गर्दै आएको छ। यसको विशाल आकार र बनावटका कारण यसलाई द बफ अर्थात् बिग अग्ली फ्याट उपनामले पनि चिनिन्छ। यो एक लामो दूरीको रणनीतिक बमवर्षक विमान हो, जसले हालै अमेरिका र इजरायलको इरानसँगको युद्धका क्रममा बमबारी अभियानहरूमा समेत भाग लिइरहेको थियो। 

व्यावसायिक यात्री विमानहरू करिब ३५,००० फिटको उचाइमा उड्ने गर्छन् भने यो विशाल बमवर्षक विमान ५०,००० फिटको उचाइसम्म उड्ने क्षमता राख्दछ। यसले ३२,००० किलोग्राम सम्मको वजन बोक्न सक्छ, जसमा सयौँ परम्परागत बम र ३२ वटा आणविक क्रुज मिसाइलहरू समावेश हुन सक्छन्। उडानकै क्रममा हावामै इन्धन भर्न सक्ने भएकाले यसको मारक क्षमताको दायरा असीमित मानिन्छ। 

यसै विमानले २० औँ शताब्दीको मध्यतिरको शीतयुद्धका बेला अमेरिकाका लागि एक बलियो ‘आणविक छाता’ को काम गरेको थियो। सामान्यतया यस्ता विमानहरूमा कमान्डर, पाइलट, राडार नेभिगेटर, नेभिगेटर र इलेक्ट्रोनिक वारफेयर अफिसर गरी पाँच जनाको टोली रहने गर्दछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप