गोकुलगंगा गाउँपालिकाले गर्यो आइतबार कार्यालय र विद्यालय खुलाउने निर्णय
काठमाडौँ । सरकारले शनिबार र आइतबार दुवै दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तर पछिल्लो समय केन्द्र सरकारको निर्णयलाई स्थानीय तहले कार्यान्वयन गर्न मानेका छैनन् ।
स्थानीय तहहरूले आइतबार पनि सरकारी कार्यालय र विद्यालय खोल्ने धमाधम निर्णय गरिरहेका छन् । यही क्रममा रामेछापको गोकुलगंगा गाउँपालिकाले पनि आफ्नो मातहतका सम्पूर्ण सरकारी कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्थाहरूमा आइतबार सार्वजनिक बिदा नदिने निर्णय गरेको छ।
गाउँपालिकाले एक सूचना जारी गर्दै आइतबारसमेत कार्यालय तथा विद्यालयहरू यथावत् रूपमा सञ्चालन हुने जानकारी गराएको छ ।
गाउँपालिकाले आइतबार बिदा नदिनुका पछाडि मुख्य चार वटा कारणहरू अघि सारेको छ । जसमा पहिलो कारण शैक्षिक क्षति न्यूनीकरण रहेको छ ।
हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीहरूको तोकिएको वार्षिक पाठ्य घण्टा पूरा नहुने र शैक्षिक गुणस्तरमा प्रत्यक्ष असर पर्ने गाउँपालिकाले निष्कर्ष निकालेको छ ।
त्यसैगरी भौगोलिक अवस्था र इन्धन खपतलाई अर्को कारण मानिएको छ । सहरी क्षेत्रको तुलनामा यस गाउँपालिकामा सवारी साधनको प्रयोग अत्यन्त न्यून हुने भएकाले इन्धन बचत गर्ने उद्देश्य यहाँ सान्दर्भिक नदेखिएको सूचनामा स्पष्ट पारेको छ ।
दुर्गम क्षेत्रका बिरामीहरू उपचारबाट वञ्चित नहुन् र आकस्मिक सेवा प्रवाहमा कठिनाइ उत्पन्न नहोस् भन्नका लागि स्वास्थ्य सेवाको संवेदनशीलतालाई ध्यानमा राख्दै आइतबार पनि स्वास्थ्य संस्था खोल्ने निर्णय गरिएको बताएको छ । नागरिकलाई दिइने प्रशासनिक तथा सार्वजनिक सेवालाई छिटो–छरितो र प्रभावकारी बनाउन पनि आइतबार बिदा नदिने निर्णयमा पुगिएको गाउँपालिकाले जनाएको छ।
नयाँ व्यवस्था अनुसार अब गाउँपालिकाका कार्यालय, वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थाहरू आइतबारका दिन पनि अन्य कार्य दिन सरह नै सञ्चालन हुनेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र बोर्डमा पदाधिकारीका लागि आवेदन
-
बेइजिङमा परराष्ट्रमन्त्री खनाल र चिनियाँ नेता वाङ बिच भेटवार्ता
-
रास्वपाले ६०९ पालिका र ६४ जिल्लामा सक्यो अधिवेशन
-
पूर्वाधार विकास समितिमा मन्त्री गएनन्, बैठक निष्कर्षविहीन
-
सर्लाहीको कबिलासीमा विकास योजनामाथि प्रश्न : स्टिमेट एकातिर, कार्यान्वयन अर्कैतिर
-
होल्डिङ सेन्टरका सुकुमबासी भोकभोकै, कैदीजस्तै थुनिएको गुनासो (भिडियोसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण