शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

भारतीय फिल्म ‘धुरन्धर’ लाई टक्कर दिन पाकिस्तानी राजनीतिज्ञले ‘धुरन्धर ३’ बनाउने

शनिबार, १९ वैशाख २०८३, १६ : ५६
शनिबार, १९ वैशाख २०८३

सारांश

  • पाकिस्तानी राजनीतिज्ञ नबिल गबोलले भारतीय फिल्म 'धुरन्धर' को जवाफमा 'ल्यारी का गब्बर' नामक फिल्म निर्माण गर्ने घोषणा गरेका छन्।
  • गबोलले भारतले 'धुरन्धर १' र 'धुरन्धर २' बनाएर ल्यारीको नकारात्मक छवि प्रस्तुत गरेको आरोप लगाउँदै 'धुरन्धर ३' को रूपमा 'ल्यारी का गब्बर' ल्याउने चुनौती दिएका छन्।
  • भारतीय फिल्म 'धुरन्धर' को पहिलो भागले १,३०७ करोड भारु र दोस्रो भागले हालसम्म १,७८०.७६ करोड भारु कमाएको छ।

कराँची । पाकिस्तानी राजनीतिज्ञ नबिल गबोलले कराँचीको ल्यारी क्षेत्रमा आधारित भएर ‘ल्यारी का गब्बर’ नामक फिल्म निर्माण गर्ने घोषणा गरेका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा उनले भारतीय फिल्म ‘धुरन्धर’ को जवाफ दिन आफूले यो फिल्म बनाउन लागेको बताएका हुन्। 

उनले भारतले ल्यारीको विरुद्धमा 'धुरन्धर १' र 'धुरन्धर २' बनाएको आरोप लगाउँदै आफूले 'धुरन्धर ३' को नाममा 'ल्यारी का गब्बर' ल्याउने चुनौती दिएका छन्।

भिडियोमा गबोलले फिल्म निर्देशक आदित्य धर र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत निशाना बनाएका छन्। 

उनले आफू कोही साधारण कलाकार नभई नबिल गबोल भएको र यो फिल्ममार्फत भारतलाई कडा जवाफ दिने दाबी गरे। भारतले बनाएको धुरन्धर शृङ्खलाले ल्यारीको नकारात्मक छवि प्रस्तुत गरेको भन्दै उनले अब आफ्नो फिल्ममार्फत त्यसको जवाफ दिने बताएका हुन्।

यता, भारतीय फिल्म धुरन्धरले बक्स अफिसमा ऐतिहासिक सफलता हासिल गरेको छ। डिसेम्बर ५, २०२५ मा रिलिज भएको यसको पहिलो भागले विश्वभर करिब १,३०७ करोड भारु कमाएको थियो। आदित्य धरद्वारा निर्देशित यस फिल्ममा रणवीर सिंह, सञ्जय दत्त, अक्षय खन्ना, आर माधवन र अर्जुन रामपाल जस्ता कलाकारहरूको मुख्य भूमिका थियो। फिल्मले अमेरिका र क्यानडामा मात्रै १९३ करोडभन्दा बढी कमाउँदै ‘बाहुबली २’ को रेकर्ड समेत तोडेको थियो।

धुरन्धरको दोस्रो भाग मार्च १९, २०२६ मा प्रदर्शनमा आएको थियो, जसले कमाइको मामिलामा अघिल्लो भागलाई पनि उछिनेको छ। हालसम्म यो फिल्मले विश्वभर १,७८०.७६ करोड भारु सङ्कलन गरिसकेको छ। भारतमा मात्रै यसले १,१३२.९४ करोड भारुको नेट कलेक्सन गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप