ममताको चौथो इनिङ्स कि भाजपाको पहिलो सरकार ?
सारांश
- पश्चिम बंगालमा १५ वर्षदेखि सत्तामा रहेको तृणमूल कांग्रेस (टीएमसी) र भारतीय जनता पार्टी (भाजपा) बीचको प्रतिस्पर्धाको नतिजा आज आउँदैछ।
- बंगालका २९३ सिटमा भएको मतदानको गणना बिहान ८ बजेदेखि सुरु भएको छ र दिउँसो १ बजेसम्ममा नयाँ राजनीतिक तस्बिर स्पष्ट हुने अनुमान छ।
- यसपटकको चुनावमा उच्च मतदान प्रतिशत, मतदाता नामावलीबाट नाम काटिनु, महिला मतदाताको अधिक सहभागिता र हिंसाका घटनामा कमी जस्ता विषयले चर्चा पाएका छन्।
कोलकाता । १५ वर्षदेखि पश्चिम बंगालको सत्तामा एकछत्र राज गरिरहेकी ममता बनर्जीले चौथो पटक पुनरागमन गर्नेछिन् या भाजपाले पहिलो पटक इतिहास रच्नेछ भन्ने कौतूहलको अन्त्य आज हुँदैछ।
बंगालका २९३ सिटमा भएको मतदानको गणना बिहान ८ बजेदेखि सुरु हुने भएको हो। निर्वाचन आयोगका अनुसार सुरुमा हुलाक मतपत्र गणना गरिनेछ र त्यसपछि ईभीएम मेसिन खोलिनेछ। दिउँसो १ बजेसम्ममा बंगालको नयाँ राजनीतिक तस्बिर स्पष्ट भइसक्ने अनुमान गरिएको छ।
यसपटकको चुनावमा तृणमूल कांग्रेस (टीएमसी) र भारतीय जनता पार्टी (भाजपा) दुवैले २०० सिट कटाउने दाबी गरेका छन्। यद्यपि, मतदानपछिका विभिन्न एक्जिट पोलहरूमध्ये ८ मध्ये ६ वटाले ममता सरकारको बहिर्गमन हुने र भाजपाले अग्रता लिने प्रक्षेपण गरेका छन्।
यस वर्ष बंगालको चुनावी इतिहासमै सबैभन्दा बढी ९२.४७ प्रतिशत मतदान भएको छ, जसले सत्ताविरोधी लहर वा मतदाताको ठुलो उत्साहमध्ये कुन संकेत गर्छ भन्ने विषयले राजनीतिक वृत्त तातेको छ। विशेष गरी मतदाता नामावलीबाट करिब ९१ लाख नाम काटिएका कारण यसपटकको चुनाव थप चर्चामा रह्यो। मतदाताको संख्या घटेका कारण प्रतिशत बढेको मानिए पनि कतिपयले भने नागरिकताको डरका कारण मानिसहरू मतदान गर्न बढी सचेत भएको विश्लेषण गरेका छन्।
यस्तै, यसपटक पुरुषको तुलनामा महिला मतदाताको सहभागिता १.५ प्रतिशतले बढी छ, जसलाई ममता सरकारको लक्ष्मीर भण्डार र कन्याश्री जस्ता महिला केन्द्रित योजनाहरूको प्रभाव मानिएको छ। अर्कोतर्फ, भाजपाले महिला सुरक्षा र रासन तथा शिक्षक भर्ती घोटाला जस्ता भ्रष्टाचारका मुद्दालाई मुख्य हतियार बनाएको छ।
हिंसाको इतिहास बोकेको बंगाल चुनावमा यसपटक एउटा सकारात्मक पक्ष भने देखिएको छ। सन् २०२१ को चुनावमा ५८ जनाको ज्यान गएकोमा यसपटक हिंसा र झडपका घटना भए पनि कसैको मृत्यु भएको छैन। सन् २०१६ मा मात्र ३ सिटबाट खाता खोलेको भाजपाले २०२१ मा ७७ सिट जितेर मुख्य विपक्षी दल बनेको थियो।
यसपटक भाजपाले आफ्नो मत प्रतिशत बढाउँदै सत्ता कब्जा गर्ने रणनीति बुनेको छ भने ममताले आफ्नो साख जोगाउनुलाई मुख्य चुनौतीको रूपमा लिएकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण