शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
राजनीति

सरकार दुई–तिहाइको भ्रममा छ, विधिको शासन मिच्न पाइँदैन : गगन थापा

बुधबार, २३ वैशाख २०८३, १५ : १८
बुधबार, २३ वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकार 'दुई–तिहाइको दम्भ र भ्रम' मा रहेको आरोप लगाएका छन् ।
  • थापाले सरकारले संविधानको परिधि नाघ्न खोजेको र बहुमतको आडमा कानुनको दुरुपयोग गर्न नदिइने बताए ।
  • उनले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र नदी किनारका सुकुमबासी बस्तीमा चलाइएको डोजरलाई राज्यको बर्बरता भन्दै आपत्ति जनाए ।

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकार ‘दुई–तिहाइको दम्भ र भ्रम’ मा रहेको आरोप लगाएका छन् । 

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पार्टीका सांसदहरूलाई प्रशिक्षण दिएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग सभापति थापाले सरकारले संविधानको परिधि नाघ्न खोजेको र त्यो हुन नदिइने बताए । 

थापाले विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले जस्तै वर्तमान सरकारले पनि ‘जे गरे पनि हुन्छ’ भन्ने ठुलो भ्रम पालेको बताए ।

‘बहुमत हुँदैमा जस्तो पनि कानुन बनाउने र त्यसको दुरुपयोग गर्ने छुट सरकारलाई छैन,’ सभापति थापाले भने, ‘विगतमा ओलीजीलाई पनि यो भ्रमले डुबाउँछ भनेर मैले सम्झाएको थिएँ, अहिलेको सरकारलाई पनि त्यही भन्न चाहन्छु विधिको शासनभन्दा माथि कोही छैन ।’

थापाले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर प्रधानन्यायाधीश नियुक्तिमा सरकारले जालझेल गर्न खोजेको दाबी गरे । 

थापाले भने, ‘संवैधानिक निकायमा सरकारको नियन्त्रण र प्रधानमन्त्रीको दादागिरी नचलोस् भनेर संवैधानिक परिषद्को व्यवस्था गरिएको हो । तर अहिले आफ्ना मान्छे भर्ती गर्न अध्यादेशमार्फत कानुनसँग छेडखानी गरिँदै छ । खल्तीबाट झिकेको नामलाई प्रधानन्यायाधीश बनाउने प्रपञ्च हामीलाई स्वीकार्य छैन ।’

थापाले काठमाडौँका नदी किनारका सुकुमबासी बस्तीमा चलाइएको डोजरलाई ‘राज्यको बर्बरता’ भन्दै आपत्ति जनाए ।

कांग्रेसले नक्कली सुकुमबासीको बचाउ नगर्ने बताउँदै थापाले राज्य क्रूर र कठोर हुन नहुने बताए । ‘बुद्ध पूर्णिमाको दिन गुम्बा भत्काउने, विद्यालय भत्काउने र नागरिकलाई नाङ्गै सडकमा दौडाउने काम डेमोक्रेसी (लोकतन्त्र) मा कल्पना पनि गर्न सकिँदैन,’ ,थापाले भने, ‘ यो डोजर आतङ्क स्वीकार्य छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप