सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
सडक सुरक्षा

थापाथली र बानेश्वर चोकमा ट्राफिकको भौतिक उपस्थिति हटाउने तयारी

कसरी गरिन्छ व्यवस्थापन ?
बुधबार, २३ वैशाख २०८३, १८ : ००
बुधबार, २३ वैशाख २०८३

सारांश

  • काठमाडौँको थापाथली र नयाँ बानेश्वर क्षेत्रमा ट्राफिक प्रहरीको भौतिक उपस्थिति हटाएर प्रविधिको माध्यमबाट ट्राफिक व्यवस्थापन गर्ने तयारी सुरु गरिएको छ ।
  • थापाथली चोकमा सेन्सर सहितको स्वचालित ट्राफिक बत्ती र एएनपीआर क्यामेरा जडान गरिनेछ जसले नियम उल्लङ्घन गर्ने सवारी साधनको नम्बर प्लेट पहिचान गरी कारबाही गर्नेछ ।
  • सडक विभागसँगको समन्वयमा फेसलेस ट्राफिक म्यानेजमेन्ट सिस्टम लागू गर्न अध्ययन प्रतिवेदन तयार भइरहेको छ ।

काठमाडौँ । काठमाडौँको थापाथली चोक र नयाँ बानेश्वर हुँदै माइतीघर मण्डलासम्मको क्षेत्रमा ट्राफिक प्रहरीको भौतिक उपस्थिति हटाउन तयारी सुरु गरिएको छ । थापाथलीमा ट्राफिक प्रहरीले लेन क्रस गरेको कसुरमा चिट काट्न ‘एम्बुसिङ’ नै गर्ने गरेको आरोप लाग्ने गरेको छ ।

थापाथली चोकमा वैशाख २ मा सभामुख डीपी अर्याल सवार गाडीलाई प्रहरीले चिट काटेको थियो । सो घटनापछि कुपण्डोलबाट माइतीघरतर्फ जाने सडकमा लेन छुट्याउने गरी ट्राफिक कोन राखिएको छ ।  अब, थापाथली र बानेश्वर हुँदै माइतीघर सम्मको सडकमा ट्राफिकको उपस्थिति हटाएर प्रविधिको माध्यमबाट ट्राफिक व्यवस्थापन गर्ने गरी काम थालिएको हो ।

cone

फेसलेस ट्राफिक म्यानेजमेन्ट गर्ने गरी अध्ययन प्रतिवेदन तयार गर्ने काम भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । उनले भने, ‘सड्क विभागसँगको समन्वयमा फेसलेस ट्राफिक म्यानेजमेन्ट गर्ने गरी काम थालेका छौँ ।’

686511960_949987280981779_3345160123120016044_n

भौतिक उपस्थिति घटाएर ट्राफिक व्यवस्थापन गर्न थापाथली चोकको चारैतर्फ सेन्सर सहितको स्वचालित ट्राफिक बत्ती र एएनपीआर क्यामेरा जडान गर्नुपर्ने ट्राफिक प्रहरीको अध्ययन निष्कर्ष छ । नम्बर प्लेट र लेन अनुशासन उल्लङ्घन गरेको डिटेक्ट गर्नसक्ने एएनपीआर क्यामरा दुवै चोकमा राख्नुपर्ने एसपी सुवेदीले बताए । अहिले भइरहेको सिसिटिभी क्यामेरा पनि थप गर्नुपर्ने ट्राफिकको स्थलगत अध्ययन निष्कर्ष छ । प्राविधिक सामग्रीको जडानमा सड्क विभागले लगानी गर्ने गरी फेसलेस ट्राफिक म्यानेजमेन्ट सिस्टम लागु गर्न खोजिएको छ ।

686502475_2107336896775868_5215146842987538562_n

एएनपीआर क्यामेराले नियम उल्लङ्घन गर्ने सवारी साधनको अटोमेटिक रूपमा नम्बर प्लेट पहिचान गरेर त्यसको रेकर्ड कन्ट्रोल रुममा पठाउँछ । क्यामेराले सङ्केत पठाएपछि दुवै चोकबाट फुत्किएका सवारीलाई अन्यत्र रोकेर कारबाही गरिने एसपी सुवेदीले बताए । सो क्यामराले तीव्र गति र लेन अनुशासन उल्लङ्घन गर्ने सवारी साधनको नम्बर डिटेक्ट गरेर त्यसबारे कन्ट्रोल रूपमा सङ्केत पठाउँछ ।

सो सङ्केतको आधारमा विद्युतीय रूपमै पनि कारबाही गर्न सकिने ट्राफिक प्रहरीका अधिकृतहरू बताउँछन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका एकजना अधिकृतले भने, ‘नियम उल्लङ्घन गर्ने सवारी साधनको नम्बर क्यामेराले पठाएको आधारमा यातायात व्यवस्था विभाग सँगको समन्वयमा कारबाही गरेर विद्युतीय रूपमै रेकर्ड राख्न सकिन्छ ।’

सडकमा ट्राफिक प्रहरी घटाउँदै लैजाने नीति अनुसार थापाथलीमा अहिले न्यून सङ्ख्यामा ट्राफिक परिचालन गर्न थालिएको छ । ट्राफिक प्रहरी प्रभाग थापाथलीमा कार्यरत ५५ जना ट्राफिकले त्रिपुरेश्वर हुँदै थापाथली र थापाथली इन्जिनियरिङ क्याम्पस सम्म सवारी व्यवस्थापन गर्दै आएका छन् । तर, केही दिन यता थापाथली चोकमा ट्राफिक प्रहरीको भौतिक उपस्थिति घटाइएको एसपी सुवेदीले बताए ।

काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले हाल २ सय ९३ वटा क्यामराबाट ट्राफिक नियम उल्लङ्घनबारे मनिटर गर्दै आएको छ । क्यामराबाट हेरेर उपत्यका ट्राफिक प्रहरी कार्यालयले दैनिक १५० वटा सवारी साधनलाई अनुशासनको कारबाही गर्दै आएको छ ।

एएनपीआर क्यामरा हाल कोटेश्वर, धोबीघाट र ललितपुरको महालक्ष्मी स्थानमा जडान गरिएको छ । त्यहाँ राखिएका ६ वटा एएनपीआरले तीव्र गति मापन गर्छन् । फेसलेस ट्राफिक म्यानेजमेन्ट सिस्टम लागु गर्न थापाथली र बानेश्वरमा चाहिँ लेन डिटेक्ट गर्ने क्यामरा राख्नुपर्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयको निष्कर्ष छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप